बाढीपछिको पुनर्लाभका लागि अमेरिकाले थप तीन करोड १० लाख डलर दिने

हिमाल प्रेस ७ असोज २०८३ १९:०५ | Wednesday, September 23, 2026
8
SHARES
बाढीपछिको पुनर्लाभका लागि अमेरिकाले थप तीन करोड १० लाख डलर दिने

काठमाडौँ- अमेरिकाले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्लाभ तथा पुनर्निर्माणका लागि थप तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। यससँगै बाढीसम्बन्धी प्रतिकार्य र पुनर्लाभमा अमेरिकाको कुल सहयोग तीन करोड ६० लाख डलरभन्दा बढी पुगेको छ।

न्युयोर्कमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले थप सहयोगको घोषणा गरेकी हुन्। भेटका क्रममा उनले बाढीमा प्रभावित सबैप्रति तथा हाल बेपत्ता रहेका करिब ७० अमेरिकी नागरिकका परिवारप्रति अमेरिकाको सहानुभूति व्यक्त गरेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ।

अमेरिकी परराष्ट्र मन्त्रालयका अनुसार थप सहयोगमध्ये एक करोड डलर आवश्यकताअनुसार निर्माण गरिने स्थायी पुलका लागि उपलब्ध गराइनेछ। उक्त रकमबाट अमेरिकी कम्पनीबाट पुल खरिद गरिने र बाढी प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्स्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, बाढी प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ, आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोयामका आवश्यकतामा खर्च गर्ने गरी ८० लाख डलर थप सहायता उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ।

भविष्यमा विपद् पुनर्लाभ तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन अमेरिकामै निर्मित ड्रोन उपलब्ध गराउन एक करोड ३० लाख डलर छुट्याउने योजना पनि अमेरिकी परराष्ट्र मन्त्रालयले बनाएको छ।

अमेरिकाले बाढीबाट सर्वाधिक प्रभावित र सहयोगको आवश्यकता भएका क्षेत्र पहिचान गरी त्यहाँ सहायता पुर्‍याउन नेपालसँग निरन्तर सहकार्य गर्ने जनाएको छ।

प्रकाशित: ७ असोज २०८३ १९:०५ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast