कांग्रेसमा गुट फेरेका अधिकांश नेता पराजित

किरण पौडेल २६ असोज २०८३ २१:०२ | Monday, October 12, 2026
62
SHARES
कांग्रेसमा गुट फेरेका अधिकांश नेता पराजित

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मतपरिणामले विशेष महाधिवेशनपछि गगन थापा समूहमा खुलेका नेताहरूलाई अनुमोदन गरेको छ भने देउवा-शेखर कोइराला समूहबाट संस्थापनतिर फर्किएका अधिकांश नेताले पराजय बेहोरेका छन्।

सभापतिमा गगन थापाको भारी मतसहितको जितदेखि उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न पदको परिणामले यही प्रवृत्ति देखाएको छ। विशेष महाधिवेशनमा गगनलाई साथ दिएका नेताहरूले महत्त्वपूर्ण पदमा जित हासिल गर्दा महाधिवेशनको संघारमा संस्थापनतिर खुलेका कतिपय प्रभावशाली नेता पराजित भएका छन्।

गत वर्षको जेनजी आन्दोलनपछि गगन–विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन गरेको थियो। त्यसबाट गगन सभापति बनेपछि देउवा–शेखर समूहले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि अघि बढाएको छ। शशांक कोइरालालाई सभापति बनाएर इतरपक्षले मंसिर २१ देखि अर्को महाधिवेशन गर्ने तयारी गरेको छ। यसबीच देउवा समूहमा रहेका केही नेता गगन समूहमा खुलेर १५ औँ महाधिवेशनमा सहभागी भएका थिए।

सभापतिमा गगन थापाले सात हजार १३ मतमध्ये ६ हजार पाँच सय ८४ मत पाए। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए। गगनले ९४.६ प्रतिशत मत प्राप्त गर्दा खड्गीले ५.४ प्रतिशत मत पाए।

गगनका सहयात्री विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध भए। विशेष महाधिवेशनबाट उपसभापति बनेका शर्मा गगनलाई सभापति बनाउन सक्रिय नेतामध्ये एक थिए। महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध चुनिइन्। लामो समय देउवा खेमामा रहेकी भुसाल विशेष महाधिवेशनमा गगन पक्षमा खुलेकी थिइन्।

उपसभापतिमा विशेष महाधिवेशन पक्षधरको वर्चस्व

खुला दुई उपसभापति पदमा डा. चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित भए। भण्डारीले तीन हजार सात सय ३५ र आचार्यले दुई हजार तीन सय ४२ मत पाए। गगनलाई सहयोग गर्ने भन्दै डा. मीनेन्द्र रिजाल र देवराज चालिसेले उम्मेदवारी फिर्ता लिएपछि सात जनाबीच प्रतिस्पर्धा भएको थियो।

दुवै विजेता विशेष महाधिवेशनमा खुलेका नेता हुन्। कांग्रेस नेता माधव चम्लागाईंका अनुसार भण्डारी विशेष महाधिवेशनको दिन भृकुटीमण्डप पुगेपछि शेखर समूहसमेत विशेष महाधिवेशनमा सहभागी हुने सन्देश गएको थियो। आचार्यले पनि विशेष महाधिवेशनका पक्षमा सक्रिय वकालत गरेका थिए।

‘गगन समूहमा पुराना नेता छैनन् भनेर आरोप लाग्दा मधु दाइले समन्वय गर्दै हामी पनि छौँ भन्ने सन्देश दिनुभएको थियो,’ चम्लागाईं भन्छन्।

यसविपरीत महाधिवेशनको संघारमा देउवा खेमाबाट संस्थापनतिर खुलेका गोविन्द भट्टराई, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरुङ र सुरेन्द्रराज पाण्डे उपसभापतिमा पराजित भए।

तनहुँका भट्टराई र दाङका गिरी देउवानिकट नेता हुन्। चन्द्रमोहन यादव पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन्। धनराज गुरुङ १४ औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट उपसभापति बनेका थिए। विशेष महाधिवेशनसम्म पनि शेखर पक्षमै रहेका उनी १५ औँ महाधिवेशनको संघारमा संस्थापनतिर खुलेर उपसभापतिमा उम्मेदवार बनेका थिए। तर पुनः निर्वाचित हुन सकेनन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि उपसभापति बन्न असफल भए।

विनोद चौधरीदेखि प्रदीप पौडेलसम्मको जित

समावेशी उपसभापतिमा उद्योगपति विनोद चौधरी निर्वाचित भए। विशेष महाधिवेशनपछि गगन पक्षमा खुलेका चौधरीले सर्वाधिक मतसहित जित हासिल गर्दा लामो समयदेखि कांग्रेसमा रहेका केही पुराना नेता पराजित भए।

चौधरी २०६४ मा एमालेबाट समानुपातिक सभासद् बनेका थिए। २०७४ मा कांग्रेस प्रवेश गरेपछि उनी मधेशी कोटाबाट समानुपातिक सांसद बने। १४ औँ महाधिवेशनमा थारू क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित भएका उनी विशेष महाधिवेशनपछि गगन पक्षमा सक्रिय भएका थिए। त्यसबेला उनलाई केन्द्रीय कोषाध्यक्ष बनाइने चर्चा भए पनि गगनले उमेश श्रेष्ठलाई निरन्तरता दिएका थिए।

समावेशी उपसभापतिमा पराजित जीवन परियार १४ औँ महाधिवेशनबाट शेखर समूहको समर्थनमा सहमहामन्त्री बनेका थिए। सीता गुरुङ र नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण पनि देउवा खेमाका नेता हुन्। महाधिवेशनको पूर्वार्धमा गगन समूहमा खुलेका नेतामध्ये फरमुल्लाह मन्सुर भने निर्वाचित हुन सकेनन्।

खुला दुई महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भए। पौडेलले चार हजार एक सय ९४ र राणाले दुई हजार तीन सय ३० मत पाए।

पौडेल विशेष महाधिवेशनबाटै महामन्त्री बनेका थिए। १४ औँ महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीमा पराजित भएका उनी २०७९ को आमनिर्वाचनपछि गगन समूहमा खुलेका थिए। ।

राणा पनि विशेष महाधिवेशनमा गगन पक्षमा खुलेका थिए। लामो समय देउवानिकट रहेका उनी विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए। विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु घिमिरे भने यसपटक पराजित भए।

विशेष महाधिवेशनको उद्घाटनसत्रमा सहभागी भए पनि त्यसपछि मौन बसेका डा. सुनिल शर्मा तेस्रो भए। महाधिवेशनको संघारमा गगन समूहमा खुलेका नैनसिंह महरले एक हजार एक सय ३४ मत पाए। देउवानिकट भए पनि आफूलाई पछिल्लो समय देउवा र थापा समूहबीच समन्वय गर्ने नेताका रूपमा प्रस्तुत गर्दै आएका महर महामन्त्रीमा निर्वाचित हुन सकेनन्।

डिला निर्वाचित, डिना पराजित

महिला महामन्त्रीमा डा. डिला संग्रौला निर्वाचित भइन्। उनले तीन हजार एक सय १८ मत पाउँदा महालक्ष्मी उपाध्याय ‘डिना’ ले दुई हजार आठ ६४ र रीता खनालले आठ सय चार मत पाए।

डिला विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी थिइन् भने डिना १४ औँ महाधिवेशनमा देउवा समूहबाट सहमहामन्त्री निर्वाचित भएकी थिइन्। दुवै कुनै समय देउवा समूहमा रहे पनि डिला विशेष महाधिवेशनमै गगन पक्षमा खुलेकी थिइन्। डिना भने १५ औँ महाधिवेशनको पूर्वार्धमा झन्डै ५० केन्द्रीय नेतासहित संस्थापनतिर लागेकी थिइन्। अन्ततः डिलाले बाजी मारिन्।

सहमहामन्त्रीमा महिलातर्फ प्रतिमा गौतम एक हजार २३२ मतसहित अगाडि रहँदा नानुमाया बास्तोलाले तीन सय ६२ मत पाइन्। दुई खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि छन्। महाधिवेशनअघि संस्थापन पक्षमा खुलेका खतिवडाले भने उल्लेख्य मतसहित अग्रता बनाएका थिए।

विश्लेषक डा. विष्णु दाहालका अनुसार यसपटक देउवा समूहबाट संस्थापनतिर खुलेका नेताहरूले अपेक्षित मत पाउन सकेनन्। ‘यसपटक देउवा समूहबाट खुलेका नेतालाई धक्का लाग्यो। उनीहरूको हार भयो,’ उनी भन्छन्, ‘कतिपयमा सेटिङ पनि भएजस्तो लाग्यो।’

महाधिवेशन प्रतिनिधि चयनमा गगनको प्रभाव रहेकाले उनको पक्षमा आएको मत अस्वाभाविक नभएको दाहालको बुझाइ छ। ‘उनले नै गुट छैन भनेपछि खड्गीलाई त्यो तहको मत आउनु नै आश्चर्यजनक भयो,’ दाहाल भन्छन्।

प्रकाशित: २६ असोज २०८३ २१:०२ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast