काठमाडौँ- सरकारले शिक्षकको ज्ञान, सीप, व्यावसायिक आचरण र कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘राष्ट्रिय शिक्षक सक्षमता प्रारूप, २०८३’ तयार गरी पृष्ठपोषणका लागि सार्वजनिक गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभाग, सानोठिमी, भक्तपुरले तयार पारेको उक्त प्रारूपमा शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना तथा सञ्चार प्रविधिको जिम्मेवार प्रयोगलाई प्राथमिकता दिइएको छ।
वि.सं. २०७२ मा लागू गरिएको शिक्षक सक्षमता प्रारूपको एक दशकभन्दा लामो कार्यान्वयन अनुभव, शिक्षक सर्वेक्षण, राष्ट्रिय शिक्षा नीतिमा भएका परिवर्तन तथा प्रविधिको विकासलाई आधार बनाएर नयाँ प्रारूप तयार पारिएको हो।
नयाँ प्रारूपले शिक्षकलाई बदलिँदो शैक्षिक परिवेशअनुसार प्रविधिमैत्री, उत्तरदायी, नेतृत्वदायी र नवप्रवर्तनशील बनाउने लक्ष्य राखेको छ। यसले शिक्षकको पेसागत जीवनका विभिन्न चरणमा आवश्यक ज्ञान, सीप, मूल्य र व्यावसायिक आचरण विकास गर्न मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
नयाँ प्रारूपमा कृत्रिम बुद्धिमत्ता र आधुनिक प्रविधिको मानवकेन्द्रित, नैतिक तथा जिम्मेवार प्रयोगलाई शिक्षण सिकाइ प्रक्रियासँग जोडिएको छ।
प्रविधिको तीव्र विकासले शिक्षा प्रणालीमा पारेको प्रभावलाई ध्यानमा राख्दै शिक्षकलाई डिजिटल माध्यमको प्रभावकारी प्रयोग गर्न सक्षम बनाउने विषयलाई प्राथमिकता दिइएको छ।
यस्तै, शिक्षकले प्रविधिको प्रयोग गर्दा व्यावसायिक जिम्मेवारी र नैतिक पक्षलाई ध्यान दिनुपर्ने अवधारणासमेत प्रारूपमा समेटिएको छ। युनेस्कोले सन् २०२४ मा सार्वजनिक गरेको कृत्रिम बुद्धिमत्तासम्बन्धी ढाँचा, अन्तर्राष्ट्रिय अभ्यास र नेपालको शैक्षिक आवश्यकतालाई पनि प्रारूप परिमार्जनको आधार बनाइएको छ।
प्रस्तावित प्रारूपले शिक्षक तयारी, अध्यापन अनुमति पत्र, छनोट तथा नियुक्ति, तालिम, पेसागत विकास र कार्यसम्पादन मूल्यांकनलगायतका क्षेत्रमा मार्गदर्शन गर्नेछ।
प्रारूपको कार्यान्वयनका लागि छुट्टै प्रशासनिक संरचना आवश्यक नपर्ने र विद्यमान निकायबाटै जिम्मेवारी पूरा गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
शिक्षा विभागले नीति तर्जुमा, कार्यान्वयन, पुनरावलोकन, मूल्यांकन तथा सहजीकरणको जिम्मेवारी निर्वाह गर्नेछ। विश्वविद्यालय तथा उच्च शिक्षा प्रदायक संस्थाले शिक्षक तयारीसम्बन्धी काम गर्नेछन् भने शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र तथा शिक्षक छनोट र नियुक्तिसम्बन्धी जिम्मेवारी सम्हाल्नेछ।
त्यस्तै, शिक्षा तालिम केन्द्रले शिक्षकको पेसागत विकास तथा तालिमसम्बन्धी काम गर्नेछ। स्थानीय तह र विद्यालयलाई शिक्षकको कार्यविवरण तयार गर्ने, कार्यसम्पादन मूल्यांकन गर्ने तथा शिक्षकको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ।
नयाँ प्रारूपले शिक्षकको क्षमता एकपटकको तालिम वा योग्यतामा मात्र सीमित नराखी निरन्तर पेसागत विकासमा जोड दिएको छ। बदलिँदो पाठ्यक्रम, प्रविधि, सामाजिक परिवेश तथा शिक्षण विधिअनुसार शिक्षकले आफ्नो ज्ञान र सीप अद्यावधिक गर्दै लैजानुपर्ने मान्यता यसमा समेटिएको छ।
संघीय शासन प्रणालीको कार्यान्वयन, राष्ट्रिय शिक्षा नीति तथा पाठ्यक्रममा भएका सुधार, जलवायु परिवर्तन, विपद् र महामारीले शिक्षामा पारेका प्रभावलाई समेत प्रारूप परिमार्जनको पृष्ठभूमिका रूपमा लिइएको छ।
शिक्षकलाई भविष्यका शैक्षिक चुनौती सामना गर्न सक्षम बनाउनु नयाँ प्रारूपको मुख्य उद्देश्य रहेको छ। यसको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा क्षेत्रका सबै सरोकारवाला निकायबीच समन्वय, सहकार्य, एकीकृत प्रयास र आवश्यक जानकारी प्रवाह महत्त्वपूर्ण हुने प्रारूपमा उल्लेख छ।
प्रारूप विभागको वेबसाइटमा उपलब्ध छ।




