पोखरा- पोखरामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा चालकसहित पैदलयात्रीको मृत्यु भएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा-१७, बिरौटामा बिहीबार भएको दुर्घटनामा मोटरसाइकल चालक १९ वर्षीय सफलकुमार श्रेष्ठ र पैदलयात्री ४५ वर्षीय कृष्ण कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
मोटरसाइकल चालक श्रेष्ठ पोखरा-१७ का स्थानीय बासिन्दा हुन् भने पैदलयात्री कुमालको लमजुङ घर भई हाल पोखरा बिरौटा बस्दै आएका थिए।
बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका कुमाललाई ठक्कर दिएको थियो।
पैदलयात्रीलाई ठक्करपछि अनियन्त्रित मोटरसाइकल डिभाइडरमा ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई नजिकैको नोबेल अस्पताल लगिएकोमा उपचार सम्भव नभएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।




