एआईको सहयोगमा निर्मित तस्बिर।
२०५६ सालको दसैँ आउनै लागेको थियो। भर्खर एसएलसी पास गरेर ११ कक्षामा भर्ना भएको थिएँ। बिहान स्कुल जानुपर्थ्यो, त्यसपछि दिनभर फुर्सदैफुर्सद। उमेर सोह्र वर्षजति। संसार देख्ने, नयाँ कुरा जान्ने र रमाइलो गर्ने उत्सुकता थियो। तर जीवनमा कहिल्यै नबिर्सिने एउटा अनुभव त्यही वर्षको दसैँअघि मेरो प्रतीक्षामा छ भन्ने कल्पनासमेत थिएन।
सोह्रश्राद्ध गराउन भानिजबा, जो आफ्नो लामो जुँगाका कारण जुंगेबा भनेर चिनिनुहुन्छ, हाम्रो घर आउनुभएको थियो| उहाँले बुबालाई सोध्नुभयो, ‘दाइ, दरबारमा चण्डी पढ्ने हो? कान्छो नि राम्रै पढ्छ, जान्छ कि!’
बुबाले सहजै भन्नुभयो, ‘जाऊँ न त, कस्तो हुँदोरहेछ हेरौँ।’
जुंगेबाले पर्सि आइतबार बडागुरुज्यूको निवास ढोकाटोलमा आउन भन्नुभयो। उहाँले भनेजस्तै आइतबार खाना खाएर बडागुरुज्यूको निवासतिर लाग्यौँ- बुबा, दाइ र म।
दाइ र मलाई वसन्तपुर दरबार क्षेत्रसम्म मात्रै राम्ररी थाहा थियो। त्यहाँबाट प्याफल हुँदै ढोकाटोल पुग्ने बाटो भने हाम्रा लागि नयाँ थियो। स्कुलमा छँदै पढेको ‘वसन्ती’ उपन्यासमा गगनसिंह ढोकाटोलमा बस्छन् भन्ने कतै पढेजस्तो लाग्थ्यो। त्यसैले बाटोमा हिँड्दै गर्दा वरपर गगनसिंहको दरबार भेटिन्छ कि भनेर मेरा आँखा घरघरमा डुलिरहेका थिए।
धेरै बेर लागेन। हामी बडागुरुज्यूको निवासमा पुग्यौँ।
ढोकामा कालो दौरा-सुरुवाल लगाएका, टाउकोमा कालै टोपी र कम्मरमा सेतो पटुका बाँधेका सैनिक उभिएका थिए। उनीहरूको हातमा निकै लामो संगीन भएको भरुवा बन्दुक थियो। काठमाडौँ उपत्यकाका विभिन्न परम्परागत जात्रामा यस्तै पहिरन र हतियार बोकेका सैनिक देखेको थिएँ। तर उनीहरूलाई किन ‘गुरुज्यूको पल्टन’ भनिँदो रहेछ भन्ने कुरा त्यही दिन बुझियो।
बडागुरुज्यूको निवासको आँगनमा २०-२५ जना ब्राह्मण जम्मा भइसकेका थिए। कोही वृद्ध, कोही अधबैँसे त कोही हामीजस्तै तन्नेरी। सबै दौरासुरुवाल वा कमिज-सुरुवालमा ठाँटिएका थिए। सर्ट-पाइन्ट लगाएर पुगेका हामी दाजुभाइ मात्रै थियौँ। धन्न, जुंगेबाले ढाकाटोपी बोक्न लगाउनुभएको थियो। नत्र हाम्रो पहिरन देखेरै फर्काइने हो कि भन्ने लाग्यो।
हामीबाहेक त्यहाँ उपस्थित सबै संस्कृतका धुरन्धरजस्ता देखिन्थे। घरमा दसैँका बेला चण्डीपाठ गर्ने जिम्मेवारी मेरो हुन्थ्यो। त्यसैले चण्डीका श्लोक जहाँबाट सोधे पनि पढ्न सक्छु भन्ने आत्मविश्वास थियो। कवच, अर्गला र कीलक त किताब नहेरी पढ्न सक्थेँ। दाइको आत्मविश्वास भने त्यति बलियो थिएन।
जुंगेबाले छनोट प्रक्रियाबारे हामीलाई लगभग सबै कुरा बताइसक्नुभएको थियो। बडागुरुज्यूले दुर्गासप्तशती चण्डीको किताब पल्टाएर जुनसुकै अध्यायको श्लोक पढ्न लगाउनुहुन्थ्यो। त्यसैले मनमनै तयारी गरिरहेको थिएँ।
बडागुरुज्यूले लिने अन्तरवार्ता सुरु भइसकेको थियो। भित्र गएका मानिस बाहिर निस्केपछि अर्को व्यक्तिलाई पालैपालो पठाइन्थ्यो। करिब आधा घण्टापछि हाम्रो पालो आयो। सुरुमा म भित्र गएँ।
भित्र यामानको ज्यान गरेका बुढा बसेका रहेछन्। शरीर र व्यक्तित्व हेर्दै सातो जाने खालको। उनी थिए बडागुरुज्यू केशरीराज पाण्डे।
उनले आफूअघिको सोफामा बस्न इसारा गरे। बीचको टेबलमा दुर्गासप्तशती चण्डीको किताब राखिएको थियो। उनले किताब उठाएर, बीचतिरको पाना पल्टाए र पढ्न भने।
मैले हेरेँ। एघारौँ अध्यायको ‘देवी प्रपन्नार्तिहरे…’ श्लोक परेछ। मनमनै खुसी भएँ। त्यो श्लोक मलाई कण्ठै थियो। किताब नहेरी ठूलो स्वरमा पढ्न थालेँ-
ॐ देवि प्रपन्नार्तिहरे प्रसीद प्रसीद मातर्जगतोऽखिलस्य।
प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमीश्वरी देवि चराचरस्य॥
श्लोक पूरा गर्न नपाउँदै बडागुरुज्यूले भने, ‘काइदा बाबु, काइदा!’
उनी निकै खुसी देखिए। ‘कति राम्रो पढ्नुभयो! कहाँ पढ्नुभएको संस्कृत?’
मैले घरमै पढेको बताएँ। म अंग्रेजी स्कुलमा पढ्ने र भर्खरै कक्षा ११ मा भर्ना भएको पनि सुनाएँ। मेजर अंग्रेजी र पत्रकारिता लिएको छु भनेँ।
‘द्याट्स नाइस,’ भन्दै बडागुरुज्यू अंग्रेजीमै कुरा गर्न थाले। उनको अंग्रेजी राम्रो थियो। मैले सोचेभन्दा भिन्न, निकै सहज रूपमा अंग्रेजीमा कुराकानी गरे।
केही बेरपछि उनले एउटा चिर्कटोमा मेरो नाम लेखेर दिए र भने, ‘घटस्थापनाको दिन बिहान आठ बजे जय नेपाल सिनेमापट्टिको ढोकाबाट दरबार छिर्नू।’
त्यो चिर्कटो हातमा पर्दा आफू छनोट भएको अनुभूति भयो। दरबारमा चण्डीपाठ गर्न जाने अवसर पाउनु मेरा लागि अनौठो र रोमाञ्चक घटना थियो।
बुबाले पनि अन्तरवार्ता पास गर्नुभएको थियो। तर सुरुमा बडागुरुज्यूले उहाँलाई छनोट गर्न हिचकिचाएका रहेछन्। उनलाई सकेसम्म कम उमेरका बटुकहरू राख्ने इच्छा थियो। तर १०८ जना बटुक जुटाउन सजिलो थिएन। अन्ततः बुबा पनि छनोट हुनुभयो। दाइ भने छनोट भएन।
हामी घर फर्कियौँ।
घटस्थापनाको दिन बिहान बुबाले घरमै पूजा र घटस्थापनाको काम सक्नुभयो। त्यसपछि म राजदरबार जाने तयारीमा लागेँ। हामीलाई बिहान ८ बजेसम्म जय नेपाल सिनेमा हलअगाडिको ढोकामा पुगिसक्न भनिएको थियो। कुमारीगालस्थित घरबाट जय नेपालसम्म पैदलै गयौँ। अहिले सम्झँदा करिब ४५ मिनेट लागेको हुनुपर्छ।
ढोकामा सैनिकहरूले बडागुरुज्यूले दिएको चिर्कटो जाँचे। त्यसपछि मात्रै भित्र पस्न दिए। भित्र छिर्न ढाका टोपी अनिवार्य रहेछ। टोपी नभएकालाई प्रवेश नदिने रहेछन्।
हामीलाई एउटा कोठामा लगेर बस्न भनियो। बटुकहरू एकैपटक समूह बनाएर भित्र लैजाने व्यवस्था रहेछ। पर्याप्त संख्या भएपछि एकजना सैनिकले हामीलाई राजपरिवारको पूजाघरतर्फ लिएर गए।
ढोकाबाट पूजाघरसम्म पुग्न झन्डै १० मिनेट लाग्यो। बाटोमा एउटा फुटबल मैदान आयो। सैनिकहरूले त्यही मैदानमा युवराज दीपेन्द्र र राजकुमार निराजन सेनाका जवानहरूसँग फुटबल खेल्ने गरेको सुनाए।
अलि अगाडि बढेपछि बाटोको छेउमा मयूरहरू निर्धक्क घुमिरहेका देखेँ। सुरुमा त म छक्क परेँ। काठमाडौँको बीचमा यसरी खुला रूपमा मयूर हिँडिरहेको दृश्य मेरा लागि अनौठो थियो।
केही बेरपछि हामी पूजाघर पुग्यौँ।
दरबारभित्रको त्यो विशेष संसार झनै स्पष्ट हुँदै गयो। मुख्य पूजाहल निकै ठूलो थियो। सयभन्दा बढी बटुक बस्न मिल्ने गरी आसनको व्यवस्था गरिएको थियो। नजिकै हवन गर्न यज्ञशाला थियो। मुख्य हलको बाहिर बटुकहरूले पहिरन फेर्न छुट्टै कोठा बनाइएको थियो।
बिहान करिब साढे ९ बजेतिर राजा वीरेन्द्र पूजाघर आइपुगे।
टेलिभिजनमा देखिने राजाको छविभन्दा प्रत्यक्ष देखेको राजा मैले अलिक भिन्न पाएँ। उनको कपाल फुलेको थियो। उमेरले थकित देखिन्थे। शरीर पनि त्यति बलियो देखिएन। टेलिभिजनमा देखिने राजसी व्यक्तित्वभन्दा प्रत्यक्षमा उनी वृद्ध र कमजोर देखिएका थिए।
राजा आएपछि ब्राह्मण वरणको विधि सुरु भयो। राजा वीरेन्द्रले एकएक जना बटुकलाई टीका लगाइदिए। त्यसपछि एउटा सानो पोको दिए। पोकोभित्र रातो टोपी, रातो भोटो र रातो धोती थियो।
त्यही हाम्रो पोसाक थियो। हामीले ती लुगा लगाएर दुर्गासप्तशती चण्डीपाठ गर्नुपर्ने रहेछ।
हामी लुगा फेर्ने कोठामा गयौँ। रातो पोसाक लगाएर बाहिर निस्कँदा कोठाको छेउमै अम्बाको रूख देखिए। रूखमा पाकेका अम्बा झुन्डिएका थिए।
हामीमध्ये एकजनाले भन्यो, ‘ओहो, खाऊँ खाऊँ लाग्ने कति धेरै अम्बा!’
बुढाहरुले तुरुन्तै हप्काए, ‘यो राजदरबार हो, अदबमा बस केटा हो। जथाभाबी नगर।’
सोह्र-सत्र वर्षका केटाहरूलाई कहाँ त्यति धेरै होस हुन्थ्यो र! एकजनाले अम्बा टिप्यो। त्यसपछि अर्कोले पनि टिप्न थाल्यो। केही बेरमै १०-१५ जना ब्राह्मण केटाहरुले राजा वीरेन्द्रको अम्बाको बगैँचामा धावा बोलिरहेका थिए।
सैनिकहरू आइपुगे। हामीलाई देखेर उनीहरूले भने, ‘के गर्नु तपाईंहरू ब्राह्मणलाई हामीले गाली पनि गर्न मिलेन! हाँगा नाभाँची खाने जति मात्रै टिप्नुहोला।’
मैले दुईवटा अम्बा टिपेको थिएँ। एउटा आफैँ खाएँ र अर्को बुबालाई दिएँ। बुबाले खान मान्नुभएन। अन्ततः दुवै अम्बा मैले नै खाएँ।
राजदरबारको अनुशासन, राजाको प्रत्यक्ष दर्शन र अम्बा टिप्ने त्यो बालसुलभ घटना आज सम्झँदा झन् रमाइलो लाग्छ।
राजदरबारको त्यो विशेष वातावरणमा पनि हाम्रो उमेरले गर्ने चकचकेपनले ठाउँ पाएको थियो।
केही समयपछि हामीलाई मुख्य पूजाहलभित्र प्रवेश गर्न भनियो।
हलमा १० पङ्क्तिमा बस्ने व्यवस्था थियो। प्रत्येक पङ्क्तिमा १०-१२ जना अटाउँथे। बटुकहरूका लागि कुर्सी वा आसनमा बस्न मिल्ने गरी चकटी राखिएको थियो। अगाडि सानो टेबल थियो। टेबलमा दुईवटा पुस्तक राखिएका थिए- एउटा दुर्गासप्तशती चण्डी र अर्को हस्तलिखित देवीसूक्त, जुन धेरै पुरानो लाग्थ्यो। १०८ वटा हस्तलिखित पुस्तक कताबाट जुटाए होलान्!
सबै बटुक आआफ्नो ठाउँमा बसेर तयार भएपछि बडागुरुज्यूले मन्त्र उच्चारण गरे। त्यसपछि हामीलाई दुर्गाकवचबाट पाठ सुरु गर्न भनियो।
हलभरि एकैसाथ आवाज गुञ्जियो-
ॐ नमश्चण्डिकायै॥
मार्कण्डेय उवाच।
ॐ यद्गुह्यं परमं लोके सर्वरक्षाकरं नृणाम्।
यन्न कस्यचिदाख्यातं तन्मे ब्रूहि पितामह ॥
१०० भन्दा बढी बटुकले एकै स्वरमा चण्डी पाठ गरिरहेको दृश्य र आवाज साँच्चै विशेष थियो। घरमा एक्लै वा परिवारका सदस्यसँग चण्डी पढ्ने गरेको मलाई त्यति ठूलो समूहमा बसेर पाठ गर्नुको अनुभव बिल्कुलै नयाँ थियो।
कवच, अर्गला र कीलक पाठ गर्न अनि दुर्गासप्तशती चण्डीका १३ अध्याय पूरा गर्न हामीलाई करिब एक घण्टा लाग्यो। त्यसपछि देवीसूक्त पाठ गर्न भनियो। त्यो पनि हामीले पूरा गर्यौँ।
पाठ सकिएपछि दक्षिणा दिने समय आयो।
हाम्रो अगाडिको टेबलमा एकपछि अर्को गर्दै तीनजनाले पैसा राखे। पहिले सय रुपैयाँको नयाँ नोट, त्यसपछि २० रुपैयाँ र पाँच रुपैयाँको नोट। जम्मा रु. १२५।
त्यसपछि मुख्य पुरोहितले जयजयकारको नारा लगाए- ‘श्री ५ महाराजाधिराज सरकारको जय!’
हामीले पनि उहाँकै पछिपछि त्यही नारा दोहोर्याउनुपर्ने थियो।
तर हामीमध्ये केही उट्पट्याङ ठिटाहरूले भने- ‘ ५ महाराजाधिराज सरकारको, सय!’
पूजाकोठा हाँसोले फैलियो, तर अगाडिबाट कसैले निजिस्कन भनेपछि ‘सय’ फेरि ‘जय’ भयो।
त्यो दिनको चण्डी पाठ र दक्षिणा वितरणपछि हामी घर फर्कियौँ।
नवरात्रिका बाँकी दिनमा पनि यही क्रम चलिरह्यो। घटस्थापनादेखि नवमीसम्म लगातार नौ दिन राजदरबारमा चण्डीपाठ गर्ने कार्यक्रम थियो। अष्टमीको दिन बलिको अनुष्ठानले केही समय ढिलो भयो। अन्तिम दिन नवमीमा राजा वीरेन्द्र फेरि पूजाघर आउनुभयो। उहाँले हामीलाई टीका लगाइदिनुभयो र दक्षिणा दिनुभयो।
त्यस वर्षको दसैँ मेरा लागि अरू वर्षभन्दा नितान्त भिन्न रह्यो। राजदरबारभित्र प्रवेश गर्ने अवसर, राजासँग प्रत्यक्ष भेट, सयभन्दा बढी बटुकसँगै चण्डीपाठ, रातो पोसाक र राजाको अम्बाको रूखबाट टिपेर खाएका अम्बा- यी सबै सम्झना मनमा गहिरोसँग बसे।
अर्को दसैँमा दरबार गएर चण्डी पढ्ने मेसो मिलेन। त्यसको अर्को वर्ष, २०५८ साल, दसैँअघि नै दरबार हत्याकाण्ड भयो। त्यसपछि त झन् त्यतातिर ध्यान नै गएन।





