काठमाडौँ- १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको धनुषा-सिराहा जोड्ने कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन पुलको बाँकी कामले गति लिएसँगै आगामी दुई महिनाभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
पूर्वाधार विकास मन्त्रालयले आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि पुल निर्माणले गति लिएको जनाएको छ।
ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण पुल निर्माण लामो समयदेखि अलपत्र अवस्थामा थियो।
मन्त्रालयका अनुसार नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ। सबस्ट्रक्चरको ढलान पनि सकिएको छ।
पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको कामसमेत सम्पन्न भइसकेको छ। अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी रहेको मन्त्रालयले जनाएको छ।
नदीमा पानीको सतह घटेपछि आगामी सातादेखि स्ल्याबमाथि ढलानको काम सुरु गरिने तयारी छ।
धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि माटो भर्ने काम भए पनि वर्षाको पानीले बगाएपछि क्षति पुगेको छ।
पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिनेछ। सिराहातर्फको पहुँच सडकमा भने माटो भर्ने काम सम्पन्न भइसकेको छ।
पुलको लोड परीक्षणसमेत सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ। बाँकी निर्माण कार्य पूरा गरी अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
कमला नदीको पुल निर्माणका लागि २०६८ सालमा पप्पु लुम्बिनी जेभीले ठेक्का लिएको थियो। २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो।
यसैबीच, मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ। नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ।
डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन्। आगामी साता प्राविधिक मूल्यांकन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने तयारी मन्त्रालयको छ।


