लालबकैया नदीमा निर्माणाधीन पुल सञ्चालनमा ल्याइँदै

हिमाल प्रेस २३ असोज २०८३ १३:०९ | Friday, October 9, 2026
6
SHARES
लालबकैया नदीमा निर्माणाधीन पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ- रौतहटको निजगढस्थित लालबकैया नदीमा निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ।

पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।

मन्त्री लम्सालका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता भएको उक्त पुल पटकपटक म्याद थप्दा पनि पूरा हुन सकेको थिएन।

निर्माणमा ढिलाइ भएपछि सम्बन्धित निर्माण कम्पनीलाई कालोसूचीमा राखेर बाँकी कामका लागि २०७९ सालमा पुनः ठेक्का आह्वान गरिएको थियो।

तर, नयाँ ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि निर्माण कार्य अघि बढ्न सकेन। पुरानो ठेक्काअन्तर्गत निर्माण गरिएको सबस्ट्रक्चरको जिम्मेवारी नहुनु र पर्याप्त बजेट विनियोजन नहुनु निर्माणमा ढिलाइ हुनुका प्रमुख कारण रहेको मन्त्री लम्सालको भनाइ छ।

समस्या पहिचानपछि डिभिजन कार्यालयमार्फत पुरानो निर्माण कार्यको जिम्मेवारी स्पष्ट पारिएको र आवश्यक बजेटको पूर्ण व्यवस्थापन गरेर निर्माणलाई गति दिइएको उनको भनाइ छ।

हाल पुलका मुख्य संरचनासहित फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको काम सम्पन्न भइसकेको छ। एप्रोच रोड र रिभर ट्रेनिङको काम भने जारी रहेको मन्त्री लम्सालले जानकारी दिए।

लामो समयदेखि रुग्ण आयोजनाका रूपमा रहेको लालबकैया पुलको निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवागमन सहज हुने तथा क्षेत्रीय यातायातमा सुधार आउने छ।

प्रकाशित: २३ असोज २०८३ १३:०९ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast