पोखरा- पर्यटकीय गाउँ धम्पुसका २२ वर्षीय राजेन्द्र पौडेलको हत्या आरोपमा नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ निवासी ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशीष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लिलबहादुर पुन रहेका छन्।
प्रहरीले उनीहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बुधबार जिल्ला प्रहरी कार्यालय, कास्कीले पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जनालाई सार्वजनिक गरेको हो। कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार घटनाको सूक्ष्म अनुसन्धानपछि आरोपितहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो।
प्रहरीले घटनास्थलबाट बाँसको भाटा, दाउरा, हँसिया, बियरका बोतलका टुक्रा र पानीको बोतल बरामद गरेको जनाएको छ।मादक पदार्थ सेवनपछि उत्पन्न सामान्य विवादले समेत ज्यान जानेसम्मको अवस्था निम्त्याउन सक्छ भन्ने यो घटनाले देखाएको छ।
प्रहरीका अनुसार गत ८ कात्तिक साँझ राजेन्द्र पौडेलले आफ्नो मोबाइल हराएको भन्दै दिदीको घर पुगेका थिए। त्यहाँ रहेका भिनाजु विष्णुप्रसाद गौतमसँग उनले मोबाइल मागेका थिए। तर, गौतमले मोबाइल नदिएपछि राजेन्द्रले उनको मोबाइल फुटाइदिएको प्रहरीको भनाइ छ।
यसैबीच, लिलबहादुर पुन, आशीष गुरुङ, महादेव विक र मिलन विक मादक पदार्थ सेवन गरेर बसेका थिए। सोही क्रममा राजेन्द्रसँग उनीहरूको मादक पदार्थ सेवनकै विषयलाई लिएर सामान्य विवाद भएको थियो।
त्यसपछि राजेन्द्रले रिसको झोकमा लिलबहादुरको मौरीको घारमा लात्ती हाने। यस विषयलाई लिएर पनि विवाद बढेको प्रहरीको भनाइ छ। त्यसपछि राजेन्द्र घर फर्किए।
घर फर्किएपछि उनले हँसिया प्रहार गर्दा मिलन विकको घाँटीमा र आशीष गुरुङको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। त्यसपछि सबै जना आआफ्नो घर गएका थिए।

तर, विवाद त्यत्तिमै टुंगिएन। प्रहरीका अनुसार सोही रात करिब १२ बजे आशीषले विक्रम पुन र लिलबहादुर पुनलाई फोन गरेर बोलाए। त्यसपछि मिलन विक, महादेव विक, आशीष गुरुङ, विक्रम पुन र लिलबहादुर पुन गरी पाँच जना मिलेर राजेन्द्रको घर पुगे।
‘अब यसलाई छाड्नु हुँदैन’ भन्ने मनसायसहित उनीहरूले राजेन्द्रमाथि बाँसको भाटा, मुक्का र लात्ती प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कुटपिटबाट घाइते भएका राजेन्द्रलाई उनीहरूले घिसार्दै बारीको पाटामा लगेर छाडेको प्रहरीले जनाएको छ।
भोलिपल्ट बारीको पाटामा राजेन्द्रको शव फेला परेको थियो। राजेन्द्र घरमा आमा र दुई दाजुभाइसँग बस्दै आएका थिए। उनी पर्यटकलाई पदयात्रामा सहयोग गर्ने टुरिस्ट पोर्टर (भरिया) का रूपमा काम गर्थे।
प्रहरीका अनुसार ट्रेकिङमा गएर दसैँमा घर फर्किएका राजेन्द्रले साथीभाइ भेला गरेर रमाइलो गर्ने क्रममा मदिरासमेत सेवन गरेका थिए। सामान्य विवादबाट सुरु भएको घटनाले अन्ततः उनको ज्यान लियो।
शव भेटिएपछि एसपी नवीन कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा पाँच जना पक्राउ परेका हुन्।
मादक पदार्थ सेवनपछि उत्पन्न विवाद, त्यसबाट बढेको प्रतिशोध र सामूहिक कुटपिटले राजेन्द्रको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




