नेतृत्व विश्वासबाट स्थापित हुन्छ, अपेक्षाले होइन : एमाले महासचिव

हिमाल प्रेस ३ जेठ २०८३ १९:५४ | Sunday, May 17, 2026
नेतृत्व विश्वासबाट स्थापित हुन्छ, अपेक्षाले होइन : एमाले महासचिव एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वमाथिको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय भएको टिप्पणी गरेका छन्। ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन्।

युवा पुस्ताले पार्टी नेतृत्वसँग जिम्मेवारी र अवसरको माग गर्नु स्वाभाविक र जायज भएको बताए। उनले आन्दोलनको समग्र नेतृत्व गर्नसक्ने क्षमता, संगठनात्मक दक्षता र व्यापक विश्वास निर्माण गर्न सकेमात्र नेतृत्व विकास हुने बताए।

महासचिव पोखरेलले पछिल्लो समय समाजमा पुरानाले गरेनन् भन्ने भाष्य निर्माण गरिएको भन्दै त्यसबाट प्रभावित नहुनसमेत पार्टी कार्यकर्ताहरूलाई आग्रह गरे। उनले समाजको विकास केवल एउटा पुस्ताको प्रश्न नभई समग्र राजनीतिक दृष्टि र नेतृत्व क्षमतासँग सम्बन्धित विषय भएको धारणा राखे।

महासचिव पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई सरकारको अधिनायकवादविरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वानसमेत गरे।

उनले सत्तारुढ दल र सरकारबाटै प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुन नपर्ने खालको परिपाटी विकास गर्न खोजिएको आरोप पनि लगाए। पोखरेलले सरकारले सर्वोच्च अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न गरेको समेत टिप्पणी गरे। महासचिव पोखरेलले पपुलिज्मको आवरणमा हुर्कंदै गरेको अधिनायकवादको प्रतिवादका लागि युवाहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए।

त्यसैगरी नेता एवं प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवादतिर अगाडि बढ्न खोजेको टिप्पणी गरे। उनले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको बताए।

संसद्‍मा एमालेको उपस्थिति तुलनात्मक रूपमा कमजोर भए पनि जनता, मिडियाकर्मी र सामाजिक संघसंस्थाले संविधानको रक्षा र सामाजिक न्यायसहितको बाटोमा मुलुकलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: ३ जेठ २०८३ १९:५४ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast