रात्रिबजार

मधेश : चपुर र लालगढले धानेको रात्रि व्यवसाय

नेहा झा २८ फागुन २०७९ ११:३४
626
SHARES
मधेश : चपुर र लालगढले धानेको रात्रि व्यवसाय लालगढ बजारस्थित एक होटलमा खाना खाइरहेका यात्रु।

जनकपुरधाम- साँझ पर्नेबित्तिकै मधेशका गाउँघरदेखि सहरबजार सबै सुनसान हुन्छन्। व्यवसायीदेखि कामविशेषले घरबाहिर निस्किएका मानिस आ-आफ्ना निवास छिरेपछि चहलपहल घट्न थाल्छ।

बाराको पथलैयादेखि सप्तरीको सप्तकोसीसम्म पर्ने पूर्वपश्चिम राजमार्गमा रातभर सवारीसाधन गुडिरहन्छन्। यद्यपि पूर्वपश्चिम राजमार्गमा पर्ने पथलैया, निजगढ, हरिवन, बर्दिबास, लहान, मिर्चैया, बरभमझियाजस्ता बजार क्षेत्र १० बजे नै सुतिसक्छ।

राजमार्ग सञ्चालन भएको धेरै वर्ष बितिसक्दा पनि रातभर जागा रहने बजार क्षेत्र भने अत्यन्तै न्यून छन्। यस्तै बजारमध्येका हुन्- धनुषाको लालगढ र रौतहटको चन्द्रनिगाहपुर।

बजार क्षेत्रका मानिस मस्त निद्रामा रहँदा मिथिला नगरपालिका-१० लालगढका होटेल व्यवसायी ग्राहकको सेवामा व्यस्त हुन्छन्। यस्तै सेवामा व्यस्त हुनेमध्येका एक हुन् व्यवसायी दानबहादुर आचार्य।

२० वर्षअघि चियापसल खोल्दा उनी पनि १० बजेपछि सेवा बन्द गर्थे। केही समयपछि रातिसम्म खोल्दा उनको होटलको पहिचान बदलियो। उनी रातभर सेवा दिने व्यवसायीका रूपमा चिनिन थाले।

व्यवसायी आचार्यका अनुसार लालगढमा होटेल सञ्चालन गर्दा चियापसलबाटै चिनजान भएका ग्राहक पुग्थे। रात्रिकालीन सेवा दिने होटेल रहेको जानकारी हुँदै गएपछि ग्राहक आउने क्रम बढेको उनले जानकारी दिए। अहिले उनी ढल्केबर र बर्दिबासबीचमा रहेको लालगढमा दिदीभेना नामक होटेल मालिक बनेका छन्।

‘दिनभन्दा रातकै समयमा राम्रो कमाइ हुन्छ’, व्यवसायी आचार्यले हिमालप्रेससँग भने, ‘पहिलेपहिले त दिनमा समेत गाडीको चाप हुन्थ्यो। अन्य होटेल थपिँदै गएपछि दिउँसो मात्रै ३० देखि ४० वटा यात्रीबस रोकिन्थे।’

अचेल उनको होटलमा दिनमा १० देखि १५ वटा यात्रीबस रोकिन्छन्। रातको समयमा भने २५ देखि ३० वटा सवारीसाधनका यात्रीलाई भात खुवाउने गरेको जानकारी उनले दिए।

उनको होटेलमा जनकपुर-सिन्धुली, जनकपुर-नारायणघाट-काठमाडौँ, जनकपुर-पोखरा, काकाँडभिट्टा, विराटनगर-काठमाडौँ, धरान, बुटवल-नेपालगन्ज-धनगढी चल्ने सवारीसाधन रोकिन्छन्।

लालगढ व्यापारिक दृष्टिकोण सानो बजार क्षेत्र हो। होटेल व्यवसाय गर्नेका लागि भने यो ठाउँ उपयुक्त स्थान बनेको छ। बीपी राजमार्ग निर्माण सम्पन्न भएपछि सहरका रूपमा तीव्र विकास भइरहेको बर्दिबास भने रातभर जागा हुँदैन। लालगढ र बर्दिबासको दुरी करिब २ किलोमिटर छ।

लालगढमा दिदीभेनाबाहेक अन्य होटेलले समेत रात्रिकालीन सेवा दिँदै आएका छन्। दिनभर खुला रहने यहाँका बजार रातको समयमा झिलीमिली हुन्छन्। राति १२ बजेसम्म खाना खान पाइन्छ भने चियानास्ताका लागि जुनसुकै बेला पसलहरू सेवामा हाजिर हुन्छन्।

ठूला व्यवसायीका साथै ससाना ठेलामा चियानास्ता पसल खोलेर बसेका व्यवसायीहरूको समेत व्यापार फस्टाउँदै गएको व्यवसायी आचार्यले बताए। साथै विभिन्न स्थानबाट रोजगारीको खोजी गर्दै आएकाहरूले समेत आफूसहित परिवारको जीविकोपार्जन गरिरहेका छन्।

‘हाम्रै होटेल करिब १०/१२ जना कार्यरत छन्, होटेल सञ्चालन गरेदेखि नै उनीहरू हामीसँगै काम गर्दै आएका छन्,’ उनले भने, ‘लालगढले हामीजस्ता व्यापारीलाई अगाडि बढाउनुका साथै मजदुरी गरी परिवारको लालनपालन गर्नेहरूको समेत जनजीवन सहज बनाइदिएको छ।’

चपुर बजार।

मधेश प्रदेशको रौतहट जिल्लामा पर्ने चन्द्रनिगाहपुर अर्थात् चपुर बजार पनि रातमा जागा रहन्छ। चपुर बजारमा रातको समयमा पुग्ने पर्यटकका लागि खाना, चिया, नास्ताका लागि समस्या नरहेको चन्द्रनिगाहपुरस्थित लाइन होटल सञ्चालक कविता पाण्डे बताउँछिन्।

‘बजार क्षेत्रमा हाम्रो लगायतका अन्य लाइन होटेलहरू रातको करिब १२ बजेसम्म खुला हुन्छन्,’ उनले भनिन्, ‘जनकपुर-काठमाडौँ, पोखरा-काठमाडौँ, दाङ, काँकडभिट्टादेखि सुदूरपश्चिम महेन्द्रनगरसहितका स्थानबाट आएका गाडी यहाँ रोकेरा खाना खान्छन्।’

कविताको होटेल श्रीमान्-श्रीमती मिलेर चलाउँदै आएका छन्। ग्राहकको चाप रहँदा श्रीमान्ले साथ दिन्छन् भने कम ग्राहक भएका बेला उनी एक्लै कामका खटिन्छिन्।

‘उहाँले घरका कामदेखि लिएर बजारबाट ल्याउने सामान किनमेल गर्नुपर्छ। दिनभर त्यसमै व्यस्त भइहाल्नुहुन्छ,’ कविताले भनिन्, ‘त्यसैले कम संख्यामा ग्राहक रहेका बेला म एक्लैले भ्याउँछु। धेरै भएका बेला उहाँले सहयोग गर्नुहुन्छ।’ होटेलबाट मासिक ३० देखि ४० हजारसम्म आम्दानी गर्दै आएको व्यवसायी पाण्डे बताउँछिन्।

उनका अनुसार चपुर बजार रातको करिब ९ बजेसम्म खुला रहे पनि लामो दूरीका सवारीसाधनमा आउने यात्रीका लागि भने रात्रिकालीन खाना, नास्ताका लागि समस्या हुँदैन।
क्षेत्रफलका हिसाबले चपुर बजार क्षेत्र सानो रहे पनि मधेशमा दिनरात खुला रहने बजारमध्येमा पर्दछ। यहाँ बास बस्नका लागि पनि राम्रो व्यवस्था छ।

बासका लागि ससाना होटेलदेखि लिएर कार्यक्रम, गोष्ठी, सेमिनार गर्ने सुविधा सम्पन्न होटेलहरू रहेको होटेल अशोकाका व्यवस्थापक अभयकुमार साहले बताए। पछिल्लो समय चपुर विभिन्न कार्यक्रम गर्ने स्थलका रूपमा रोजाइमा पर्ने गरेको छ।

चन्द्रनिगाहपुर मधेश प्रदेशको करिबकरिब बीचमा पर्दछ। जनकपुरदेखि, सप्तरी, सिरहाका सर्वसाधारणका लागि नजिक पर्दछ भने पश्चिमको बारा, पर्साका सर्वसाधारणलाई समेत पायक पर्छ। होटेल व्यवस्थापक साहका अनुसार कार्यक्रम, सम्मेलन, गोष्ठीसहितका लागि चपुर सबैको रोजाइमा पर्ने गरेको छ।

मधेशको मात्रै होइन, देशको मुख्य नाका वीरगन्ज पनि रातभार जागा रहँदैन। साँझ ६ बजेदेखि बिस्तारै चहलपहल देखिने वीरगन्ज बसपार्क राति १० बजेपछि सुनसान बनिसक्छ। वीरगन्जबाट काठमाडौँ, पोखरालगायतका प्रमुख सहरमा राति ९ बजेसम्म बस छुटिसक्छन्। सरकारी स्तरबाट पहल गर्ने हो भने रात्रिकालीन व्यवसाय सञ्चालनबाट रोजगारीसमेत विस्तार हुने व्यवसायी बताउँछन्।

प्रकाशित: २८ फागुन २०७९ ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =