जनकपुरधाम- मधेश भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले आइतबार राति हिन्दु सम्राट सेना नेपालका प्रतिनिधिसँग पुनः वार्ता गरेका छन्। जनकपुरधामस्थित एक होटलमा दुवै पक्षबीच वार्ता भएको हो।
वार्तामा गृहमन्त्री गुरुङसँगै प्रतिनिधिसभा सदस्य शिवशंकर यादव र रामविनोद यादव सहभागी छन्। वार्तामा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमप्रसाद अधिकारी, सशस्त्र प्रहरी बलका डीआईजी विष्णु भट्ट, राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुपेश खड्कालगायत सुरक्षा तथा प्रशासनका अधिकारीको पनि सहभागिता रहेको छ।
हिन्दु सम्राट सेना नेपालको तर्फबाट अध्यक्ष राजेश सनातनी, उपाध्यक्ष कृष्ण सनातनी, महासचिव राकेश सनातनीसहित अन्य पदाधिकारी वार्तामा सहभागी छन्।
वार्तामा संयुक्त हिन्दु मोर्चाले शुक्रबार राति सरकारसमक्ष पेश गरेका मागहरूमाथि छलफल भइरहेको जनाइएको छ।


