फ्रान्सेली सेनाका आरोहीले पिक ४१ मा खोले नयाँ मार्ग

हिमाल प्रेस १४ कार्तिक २०८३ १६:५९ | Saturday, October 31, 2026
फ्रान्सेली सेनाका आरोहीले पिक ४१ मा खोले नयाँ मार्ग तस्बिर स्रोत : काठमाडौँस्थित फ्रान्सेली दूतावास

काठमाडौँ- फ्रान्सेली सेनाका तीन पर्वतारोहीले सोलुखुम्बुको ६ हजार ६५४ मिटर अग्लो पिक ४१ को उत्तरी मोहडाबाट नयाँ आरोहण मार्ग खोलेका छन्।

काठमाडौँस्थित फ्रान्सेली दूतावासका अनुसार फ्रान्सको स्यामोनीस्थित फ्रान्सेली सेनाको उच्च पर्वतीय समूह (जीएमएचएम) मा आबद्ध तीन सदस्यले दुई साताअघि उक्त मार्गबाट सफल आरोहण गरेका हुन्।

सर्जेन्ट पियोन्तेक, कर्पोरल फुइयाद र कर्पोरल पोलिन सम्मिलित टोलीले प्राविधिक रूपमा कठिन भूभागमा चार दिन लगाएर आरोहण गरेको दूतावासले जनाएको छ। उनीहरूले खोलेको नयाँ मार्ग एक हजार चार सय मिटर लामो छ। टोलीले उक्त मार्गको नाम फ्रान्सेली भाषामा ‘शुभप्रभात’ अर्थ दिने ‘बोन मातँ’ राखेको छ।

आरोहीहरूले आफ्ना उपकरण र खाद्य सामग्री आफैँ बोकेर, स्थायी शिविर नबनाई तथा अतिरिक्त अक्सिजन प्रयोग नगरी ‘अल्पाइन शैली’मा आरोहण पूरा गरेका हुन्।

नेपाल र फ्रान्सबीच पर्वतारोहणको ऐतिहासिक सम्बन्ध रहेको दूतावासले उल्लेख गरेको छ। सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र लुई लासेनालले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए। आठ हजार मिटरभन्दा अग्लो हिमालको त्यो नै इतिहासमा पहिलो सफल आरोहण थियो।

पिक ४१ मा नयाँ मार्ग खोल्ने पछिल्लो सफलताले दुई देशबीचको पर्वतारोहण परम्परालाई निरन्तरता दिएको दूतावासको भनाइ छ।

जीएमएचएम फ्रान्सेली सेनाको पर्वतीय सैन्य बलअन्तर्गतको एकाइ हो। यसले कठिन हिमाली परिस्थितिमा सैनिकहरूलाई तालिम दिनुका साथै चरम पर्वतीय वातावरणमा उनीहरूको क्षमता परीक्षण गर्छ।

प्रकाशित: १४ कार्तिक २०८३ १६:५९ | Saturday, October 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast