समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र मिडियाको ढोकामा प्रहरी गाडी तेर्स्याउने काम गलत : आङदेम्बे

हिमाल प्रेस १४ कार्तिक २०८३ १३:२३ | Saturday, October 31, 2026
4
SHARES
समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र मिडियाको ढोकामा प्रहरी गाडी तेर्स्याउने काम गलत :  आङदेम्बे कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे। फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा प्रहरी गाडी तेर्स्याउने र समाचार कक्षमै प्रहरी घुसाएर तर्साउने जस्ता कार्यहरूको भर्त्सना गरेका छन्।

शनिबार प्रेस वक्तव्यमा उनले यस्ता कार्य कुनै पनि लोकतान्त्रिक सरकारको चरित्र हुन नसक्ने र यो राज्यशक्तिको नग्न दुरुपयोगका साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हमला भएको बताएका हुन्।

अदालतमा बिचौलियामार्फत सेटिङ भएको प्रकरणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश र सत्तापक्षीय सांसदको नाम जोडिएर समाचार सार्वजनिक भइरहेको तथा उच्च सरकारी अधिकारीलाई सेवाबाट हटाउन लागिएका विषय बाहिर आएको उनले उल्लेख गरेका छन्।

कार्यस्थलमा रहेका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर उनीहरूको काममा हस्तक्षेप गरिएको र यस्ता प्रकरण जनसमक्ष ल्याउने पत्रकारमाथि पक्राउ पुर्जीबिनै धरपकड गरिएको उनले जनाएका छन्। कोही पत्रकारलाई साइबर ब्युरोमा बोलाइएकाले नेपालमा समाचार लेख्ने वातावरण सङ्कुचित हुँदै गएको र सरकार प्रश्नभन्दा माथि रहेको देखिएको उनको भनाइ छ।

यी यावत् विषयमा प्रधानमन्त्रीको सचिवालय बेखबर रहेको, गृह प्रशासन अनभिज्ञ रहेको र प्रहरी प्रवक्ता बुझ्दैछौँ भन्ने तर पक्राउ परेका पत्रकारले भने प्रधानमन्त्री कार्यालयकै दबाबमा पक्राउ गरिएको प्रहरी अधिकारीले बताएको दाबी गरेको वक्तव्यमा उल्लेख छ।

प्रधानमन्त्रीको निर्देशन र सरकारका प्रत्येक कार्य कानुनसम्मत हुनुपर्ने, कानुनी राज्यको पालना तथा सम्मान गर्नु प्रधानमन्त्रीको समेत कर्तव्य रहेको र अनियमितता एवं छानबिनका प्रत्येक विषय कानुनसम्मत हुनुपर्नेमा उनले जोड दिएका छन्। त्यसका लागि स्थापित निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने उनले बताएका छन्।

प्रचलित कानुनको विरुद्धमा भएका यस्ता धरपकड र अनधिकृत हस्तक्षेप राज्यको लोकतन्त्रको खिलाफ रहेको उनले स्पष्ट पारेका छन्। सरकार प्रमुखको यो अलोकतान्त्रिक चरित्रले नेपालले दशकौँको सङ्घर्षबाट प्राप्त वाक् तथा प्रकाशन स्वतन्त्रता र कानुनी राज्यको सर्वोच्चतामाथि प्रहार गरेको उनको भनाइ छ। पत्रकारलाई पक्राउ गरेर न त समाचारको सत्य मार्न सकिने न त प्रेसलाई कुनै निरङ्कुशताका सामु घुँडा टेकाउन सकिने उनले व्यक्त गरेका छन्।

संविधानप्रदत्त सबै स्वतन्त्रता र कानुनी राज्यका विरुद्ध भएका यी कार्यहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले सरकार र राज्यका निकायहरूलाई कानुनसम्मत काम गरी आ-आफ्नो राजकीय जिम्मेवारी निर्वाह गर्न आह्वान गर्दै यस विरुद्ध भएका क्रियाकलापहरूको भर्त्सना गरेका छन्।

 

प्रकाशित: १४ कार्तिक २०८३ १३:२३ | Saturday, October 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast