रात्रिबजार

लुम्बिनीका रात्रिबजार : जहाँ पाइन्छ थरीथरीका परिकार

विनोद परियार २८ फागुन २०७९ १६:३२
354
SHARES
लुम्बिनीका रात्रिबजार : जहाँ पाइन्छ थरीथरीका परिकार बुटवलको ट्राफिकचोकमा रातको समयमा सञ्चालित कफी र लस्सी पसल। तस्बिर : विनोद परियार

लुम्बिनी-  लुम्बिनी प्रदेशको पूर्वी प्रवेशद्धार हो दाउन्ने। दाउन्ने धार्मिक रूपमा त महत्त्वपूर्ण छ नै। त्योभन्दा बढी चर्चामा छ यहाँको खाना। पूर्वपश्चिम राजमार्ग हुँदै ओहोरदोहोर गर्ने यात्रु र चालकले खानाकै लागि सम्झने ठाउँ हो यो। लोकल कुखुराको मासु, ढिँडो र सेकुवा दाउन्नेका चर्चित परिकार हुन्। त्यसैले रात्रिबसमा यात्रा गर्ने चालक र यात्रुको खाना खाने प्रमुख स्थल बनेको छ यो ठाउँ।

दाङ, कपिलवस्तु र बुटवलबाट काठमाडौँका लागि छुट्ने बसका यात्रु र चालकले नियमित दाउन्नेमै खाना खान्छन्। ‘दाउन्नेमा लोकल कुखुराको मासुसँग ढिँडो अनि सादा खाना पनि राम्रो पाइन्छ’, बुटवलबाट रात्रिकालीन बस चलाउने चालक राजेश श्रेष्ठले भने। यात्रुले समेत दाउन्नेको खाना मन पराउने भएकाले त्यहाँ बस रोक्ने गरेको उनले बताए।

दाउन्ने डाँडामा भएकाले पनि होला, मानिसको विश्रामस्थल पनि बनेको छ। सडक यात्रुलाई नै लक्षित गरी रातभर यहाँको बजार खुल्छ। ‘राजमार्गमा होटल भएकाले रातभर सेवाका लागि खटिन्छौँ’, कान्तिपुर होटलका म्यानेजर नारायण खनालले भने।

उनका अनुसार गुणस्तर र ताजा परिकारकै कारण दाउन्नेमा मानिस अडिन्छन्। ‘लोकल कुखुरा र डिँढो अनि सेकुवा यहाँको चलेको परिकार हो’, उनले भने, ‘भेज खानेका लागि थपी-थपी घिउ पनि दिन्छौँ।’
तराईबाट उकालो चढेर ओराली झर्नुअघि यहाँको परिकार चाख्न पाउदा ओहोरदोहोर गर्ने चालक यात्रुले थकाइ मेटिएको अनुभव गर्छन्।

नवलपरासीपूर्वमा पर्ने दाउन्नेपछि बर्दघाट, सुनवल पनि सडक यात्रुहरूले खाना खाने स्थल हुन्। पूर्वपश्चिमको यात्रा गर्नेहरूका लागि लुम्बिनीमा अर्को रोजाइको ठाउँ हो बुटवल। बुटवल ट्राफिकचोकमा जाडोयाममा कुकर कफी र गर्मीमा लस्सीको स्वाद चाखेर जाँदा यात्रा स्मरणीय हुन्छ।

यहाँ राति १ बजेसम्म यहाँ कफी पिउन पाइन्छ। सडक छेउको ठेलामा राखिएको कफी र लस्सी देशभर चर्चित छ। यात्रामा निस्केकाहरूले यहाँको कफीको स्वाद बिर्सँदैनन्। २३ वर्षदेखि ट्राफिकचोकमा व्यापार गर्दै आएका पोखरेल लस्सी पसलका सञ्चालक बाबुराम पोखरेलले कुकरमा सिठ्ठी लगाएर पकाएको कफी पिउन बस रोकिने गरेको बताए। पछिल्लो समय भने निर्माणाधीन सडकका कारण रात्रिकालीन बस रोकिन कम भएको छ।

बुटवलबाट पश्चिमतर्फ लम्केपछि अर्को चर्चित रात्रिकालीन बजार पुुगिन्छ कलिवस्तु र दाङको सीमा धानखोला। सडक यात्रुलाई लक्षित गरी यहाँ पनि रातिसम्म बजार खुला रहन्छ। धानखोला ‘हाइजेनिक’ खानाकै लागि परिचित छ। काठमाडौँ, झापा, विराटनगर, चितवनबाट पश्चिम नेपालतर्फ यात्रामा निस्केकाहरूले धानखोलामा खाना नखाई अगाडि बढ्दैनन्।

पश्चिम महेन्द्रनगर, बाँके, बर्दिया, रुकुम, रोल्पाबाट पूर्वनेपालतर्फ लागेकाले पनि केही न केही धानखोलामा चाखेकै हुन्छन्। यहाँ प्रायः यात्रा गर्ने गाडीचालक वा समूहमा हिँडेकाहरूले पहिल्यै अर्डर दिने गर्छन्।

लोकल कुखुराको झोलसँग खाना, बँधुवा भाले र सुकुटी यहाँ पाइने परिकार हुुन्। विशेषगरी धानखोलामा रिजर्भमा यात्रा गर्ने अडिन्छन्। १० वर्षदेखि धानखोलामा स्वर्गद्धारी होटल चलाएका दिनेश पुनले भने, ‘हामीले आर्गनिक खाना खुुवाउँछौँ। त्यसैले एकपटक खाएपछि अर्कोपटकलाई भन्नै पर्दैन।’

उनका अनुसार पूर्वबाट जाँदा खाएको व्यक्ति फर्कँदा आफैँ पस्ने गर्छन्। सडक यात्रुकै कारण व्यापार चलेकाले आफूहरूले गुणस्तरमा सम्झौता नगरेको उनी सुनाउँछन्। त्यसो त पुनको होटल सर्वसाधारण मात्रै होइन, देशका उच्च पदस्थ मन्त्री, सांसद र सरकारी कर्मचारीको समेत रोजाइमा परेको छ। लुम्बिनी प्रदेशका मन्त्री, सांसद र सरकारी कार्यालयका हाकिमहरूले समेत खाना मन पराएको उनले बताए।

‘प्रायः फोन गरेर अर्डर दिनुहुन्छ। दिनरात सेवामा खटिन्छौँ’, पुनले भने। धानखोला साना ठूला गाडीमा ओहोरदोहोर गर्ने यात्रुकै कारण चलेको बजार हो।

‘लुम्बिनी प्रदेशमा दाउन्ने र धानखोला यात्रु र चालकका लागि असाध्यै उपयुक्त बजार हो’, भैरहवाका बस सञ्चालक सागर पिएसले भने। उनले सडक क्षेत्रका बजार व्यवस्थापन भने फितलो रहेको बताए। ‘पहिलेभन्दा केही सुधार त भएका छन्, तर सडकमा यात्रु र चालकले अझै पनि हाइजेनिक खाना पाएका छैनन्’, उनले भने, ‘गुणस्तर र सेवा प्रवाहमा सुधार गरे ‘हाइवे’ बजार दिगो हुन्छ।’ उनले सडकको दुरवस्थाले पनि पछिल्ला दिनमा खानामा धुलोले असर पार्ने गरेको बताए।

लुम्बिनी प्रदेशमा सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको केराबारी पनि खानाका लागि चर्चित ठाउँ हो। बुटवल-पाल्पा-पोखरा यात्रा गर्नेहरूले पाल्पाको केराबारीको परिकार बिर्सँदैनन्।
बटुक, तिनाउ खोलाको माछा र चुकौनी पाल्पाको सम्झना लायक परिकार हुन्।

लुम्बिनी प्रदेशमा पूर्वपश्चिम राजमार्गको ठूलो हिस्सा रहेकाले पनि यहाँका सडक क्षेत्रका मुख्य बजार प्रायः रातभर खुला हुन्छन्। बुटवल, नेपालगन्ज, लमही राजमार्गका ठूूला बजार हुन्। यी ठाउँहरू मध्यरातसम्म प्रायः खुल्लै हुन्छन्। त्यस्तै कपिलवस्तुको चन्द्रौटा, गोरुसिङ, दाङको मोरीघाट, भालुवाङ, देउखुरीजस्ता ठाउँमा पनि रातिको समयमा चहलपहल हुन्छ।

प्रकाशित: २८ फागुन २०७९ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =