रात्रिबजार

सुदूरपश्चिम : भारतीय पर्यटक लोभ्याउँदै खानीडाँडा

पदमराज भट्ट २८ फागुन २०७९ १८:३४
200
SHARES
सुदूरपश्चिम : भारतीय पर्यटक लोभ्याउँदै खानीडाँडा

धनगढी- सुदूरपश्चिम प्रदेशका प्रमुख सहरी क्षेत्रमा रात्रिकालीन व्यवसाय फस्टाउन नसकेपछि पहाडतर्फ उकालो लाग्ने खानीबजारले भने भारतीय पर्यटकलाई पनि लोभ्याउन थालेको छ। पहाडी जिल्ला बझाङ, दार्चुला, बाजुरा, बैतडी र अछाम जोडिने सडक प्रवेशद्वार यहाँ रातिको समयमा स्वदेशी यात्रुको चहपहल भइरहन्छ।

कोरोना महामारीपछि खानीडाँडामा भारतीय पर्यटकको रोजाइमा पर्न थालेको व्यवसायीहरू बताउँछन्। सीमा नाकाबाट एक घण्टाको दूरीमै पुग्न सकिने भएकाले खानीडाँडा उनीहरूका लागि ‘रिफ्रेसिङ सेन्टर’ बनेको हो।

खानीडाँडामा होटल चलाइरहेका भरत खड्का गाडीको ओहोरदोहोर र आन्तरिक तथा भारतीय पर्यटक बढेकाले व्यवसाय फस्टाउन थालेको बताउँछन्।  ‘परिवार र जागिरे गरेर १२ जना होटलमै व्यस्त छौँ,’ उनी भन्छन्, ‘त्यसमा झन् भारतीय पर्यटक पनि बढ्न थालेपछि शनिबार र आइतबार भ्याइनभ्याइ हुन्छ।’

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने मुख्य सडकमार्ग भीमदत्त राजमार्गमा पर्छ- खानीडाँडा। अत्तरियाबाट ४५ किलोमिटरको दूरीमा पर्ने खानीडाँडा यही राजमार्ग भएर ओहोरदोहोर गर्नेको विश्रामस्थलको रूपमा चर्चित छ।  स्थानीय कृष्णप्रसाद सापकोटा ससाना चियापसल हुँदै अहिलेको खानीडाँडा र छेवकै कान्छी बजार बनेको बताउँछन्।

‘कच्ची सडक सुरु भएसँगै खानीडाँडामा झुप्रो बनाएर एक दुईटा चिया पसल खुलेका थिए,’ उनले भने, ‘बिस्तारै खाजा, खाना हुँदै अहिले सधैँ खुला रहने यस क्षेत्रकै प्रमुख बजार बनेको छ।’

खानीडाँडाका बजार सामान्यतया ११ बजे बन्द हुन्छ। तर गाडीको फोन र खानाको अर्डरअनुसार खानीडाँडाका जुनसुकै होटलले जतिबेला पनि सेवा दिन्छन्।

केही वर्षपहिले तराईबाट पहाडी जिल्ला जाने यात्रुले खाना, खाजा खाने ठाउँका रूपमा चिनिएको खानीडाँडामा अहिले ठूल्ठूला होटल खुल्न थालेका छन्। करोडौँको लगानीमा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको छ। खानीडाँडामा खाना, खाजा खाने गाडीको ताँती लाग्न थालेपछि नजिकै कान्छीबजार बनेको हो।

कान्छीबजार पनि तराई र पहाड आवतजावत गर्ने यात्रुमै निर्भर छ। यो बजार त झन् रातमा बढी चहलपहल हुन्छ। कान्छीबजारमा होटल चलाइरहेकी रीता पौडेल भन्छिन्, ‘गाडीले केही समय रोक्ने भएकै कारण हाम्रो व्यापार राति पनि उत्तिकै हुन्छ।’  रातको समयमा पनि होटल खुला हुने भएकाले यात्रु र गाडीका ‘स्टाफ’ले सहज महसुस गरिरहेका छन्। जसले गर्दा यात्रुलाई खाना, खाजादेखि शौचालयको सुविधाले पनि सहज बनाएको छ।

हरेक क्षण चहलपहल हुने र आम्दानी राम्रो हुने भएकाले खानीडाँडामा बसाइँ सरी आउनेको संख्या बढिरहेको छ। खानीडाँडा निकै पछि विस्तार भएको बजार हो। सुदूरपश्चिम प्रदेशमा रात्रिकालीन व्यवसायका लागि अन्य धेरै बजारमा सम्भावना भए पनि त्यसतर्फ स्थानीय सरकारको ध्यान गएको पाइँदैन।

खानीडाँडा बजार।

चिसापानीमा चहलपहल

सुदूरपश्चिम प्रदेशलाई सडक मार्गबाट जोड्ने मुख्य पुल हो कर्णालीको चिसापानी पुल। पूर्वपश्चिम राजमार्गमा रहेको उक्त बजार सुदूरपश्चिम प्रदेशलाई लुम्बिनी प्रदेशसँग जोड्छ। कर्णालीमा पुल नबन्दा त्यहाँ हाटबजार थियो। चिसापानी पुल निर्माण भएपछि चिसापानी बजार विस्तार भएको हो।

२०१७ सालमा चिसापानीमा सहर बसेको स्थानीयवासी बताउँछन्। त्यतिबेला चिसापानी सुदूरपश्चिम र मध्यपश्चिमका जनताको ‘हाटबजार’ थियो। सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरा र डोटी तथा मध्यपश्चिमका सुर्खेत, दैलेख, हुम्ला, मुगु, जुम्ला र कालिकोटका बासिन्दा किनमेल गर्न चिसापानी आउजाउ गर्थे।

पहाडबाट आउनेले घिउ, दाल, जडिबुटी र चुक (अमिलो) बेच्थे। चिसापानीबाट नुन, खाद्यान्न, लुगाफाटो किनेर लैजान्थे। भारतमा काम गर्न जानेहरू पनि चिसापानीकै बाटो प्रयोग गर्थे। २०५२ सालमा कर्णालीमा पुल बन्यो। अनि मात्रै सुदूरपश्चिम मुलुकका अन्य भूभागसँग जोडिएको हो। पुल बन्नुभन्दा अघि सुदूरपश्चिमका जनताले काठमाडौँ आउन पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता थियो।

चिसापानीमा पुल बनेपछि त्यस क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। हाटबजारका रूपमा स्थापना भएको चिसापानीमा अहिले एक हजार पाँच सय घरधुरी छन्। एक सय जति होटल/रेस्टुरेन्ट खुलेका छन्। चिसापानीमा यातायात सञ्चालनपछि रात्रि समयमा पनि चहलपहल बढेको छ। तर रातिको समयमा होटल÷रेस्टुरेन्ट खुला हुँदैनन्।

अत्तरियामा छैन रात्रिकालीन बजार

सुदूरपश्चिम प्रदेशको मुख्य प्रवेशद्वारका रूपमा रहेको चिसापानीबाट ७३ किमिमा पर्छ अत्तरिया बजार। भारत र चीन दुवैतिरको व्यापारिक मार्गमा पर्ने र सुदूरपहाडको प्रवेशद्वार भएकाले अत्तरियामा सानोतिनो बजार पहिलेदेखि थियो।

२०६० को दशकमा यसको विस्तार द्रुत गतिमा भयो। ६ दशकअघि अत्तरिया बजार रहेको क्षेत्र घना जंगलका रूपमा थियो। जानकारहरूका अनुसार दिउँसो बाटैमा बाघ, चितुवा लगायतका हिंस्रक जनावर देखा पर्दथे। तर समय फेरियो। अहिलेको अत्तरियाको परिकल्पना उतिबेला कसैले नगरेको बुढापाका बताउँछन्।

अत्तरियाबाट पूर्व (काठमाडौँ), पश्चिम (महेन्द्रनगर) उत्तर (पहाडी जिल्ला) र दक्षिण धनगढी सडक मार्गकै कारण अत्तरियामा स्थायी बसोबास र व्यापार व्यवसायका लागि मुख्य आकर्षण केन्द्रका रूपमा रहँदै आएको छ।

बसाइसराइका कारण दुई दशकअघि दर्जनजति पक्की घर देखिने अत्तरियामा अहिले एक हजारभन्दा बढी पक्की घर ठडिएका छन्। केही दोहोरी रेस्टुरेन्टले अबेरसम्म व्यवसाय गरे पनि बजार रातभर खुला हुँदैनन्। ग्राहकको मागअनुसार मात्रै रातको समयमा रेस्टुरेन्ट खुला गर्ने गरिएको व्यवसायी बताउँछन्। रात्रिकालीन बजार भने यहाँ विस्तार हुन सकेको छैन।

धनगढीमा बजार विस्तार मात्रै

पूर्वपश्चिम राजमार्गमा पर्ने अत्तरियाबाट दक्षिणतर्फ पर्छ करिब १६ किमिमा पर्छ सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी। मध्यकालीन समयमा महाराणा प्रतापका वंशज मानिने राना थारू समुदायले आफ्नो धन (मुद्रा) जमिनमा गाडी सुरक्षित भएर बसेकोले यस क्षेत्रको नाम ‘धनगढी’ रहन गएको किंवदन्ती छ।

राणाकालमा कैलाली र कञ्चनपुर एउटा गोश्वारा थियो। जिल्ला भइसकेका थिएनन्। कैलाली कञ्चनपुर गोश्वाराको सदरमुकाम बेलौरी थियो। त्यही कारण त्यतिबेलाको प्रशासनिक केन्द्र बेलौरी थियो। १९९७ सालमा सदरमुकाम धनगढी सारियो र धनगढीमा बेलौरीबाट सरकारी कार्यालय पनि सार्ने क्रम सुरु भयो।

२००७ सालपछि यहाँ चहलपहल सुरु भएको हो। धनगढीको पुरानो बजार हालको मस्जिद र शिवमन्दिर क्षेत्र हो। मस्जिदको गल्लीमा मुसलमान व्यापारी थिए। शिवमन्दिरको गल्लीमा हिन्दु व्यापारी। पछि त्यहाँबाट बजार विस्तार हुँदै गयो। २०२४/२५ सालतिर धनगढीमा बस्ती बस्न सुरु भएको हो। दिउँसो व्यस्त हुने धनगढीमा रात परेपछि भने सुनसान हुन्छ। दोहोरी रेस्टुरेन्ट, गजल रेस्टुरेन्टहरू अबेरसम्म खुले पनि रात छिप्पिँदै जाँदा बन्द हुन्छन्। बस्ती विस्तार भए पनि व्यापारिक चहलपहल भने नहुने स्थानीय बताउँछन्।

सीमानाका भए पनि राति सुनसान हुन्छ महेन्द्रनगर

पूर्वपश्चिम राजमार्गमा पर्ने अत्तरियाबाट पश्चिमतर्फ करिब ४५ किमि दुरीमा पर्छ कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर।  राजा महेन्द्र २०१८ सालमा एक महिने लामो बसाईँका क्रममा मझगाउँ आएका बखत महेन्द्रनगरलाई जिल्ला सदरमुकाम तथा व्यवस्थित बजार बनाउने परिकल्पना गरेको कुरा जानकारहरू बताउँछन्।

२०६५ कात्तिक २० गते नेपाल सरकारको निर्णयबमोजिम यस नगरपालिकाको नाम किसान नेता भीमदत्त पन्तको भीमदत्त नगरपालिका राखिएको थियो। नगरपालिकाको पश्चिमतर्फ भारतीय नाका भए पनि रातको समयमा महेन्द्रनगरमा त्यति चहलपहल देखिँदैन।

भीमदत्त राजमार्ग हुँदै पहाडी क्षेत्र जोड्ने खानीडाँडामा भने यी  बजारको तुलनामा रातिको समयमा चहलपहल हुन्छ।

प्रकाशित: २८ फागुन २०७९ १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =