बालविकास शिक्षकका मागमा सरकार गम्भीर,तलब वृद्धिसँगै एकद्वार प्रणालीबाट वितरण प्रस्ताव

हिमाल प्रेस ११ वैशाख २०८३ १३:३० | Friday, April 24, 2026
894
SHARES
बालविकास शिक्षकका मागमा सरकार गम्भीर,तलब वृद्धिसँगै एकद्वार प्रणालीबाट वितरण प्रस्ताव

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पाखरेलले सामुदायिक विद्यालयका बालविकास शिक्षक (ईसीडी शिक्षक)को पारिश्रमिक र सेवासुविधा सुधारका विषयमा सरकार गम्भीर रहेको संकेत दिएका छन्। बिहीबार नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिका पदाधिकारीसँगको छलफलमा मन्त्री पाखरेलले पारिश्रमिक वृद्धि र व्यवस्थापनका विषयमा ठोस तयारी भइरहेको बताएका हुन्।

समिति अध्यक्ष कृष्णकुमारी थापा मगरले शुक्रबार हिमालप्रेसलाई बताए अनुसार छलफलमा मुख्यतः न्यूनतम पारिश्रमिक, वितरण प्रणाली र नीतिगत व्यवस्थाका विषयमा गहन संवाद भएको थियो।

उनले भनिन्,‘हामीले पाउने न्यूनतम पारिश्रमिकको विषयमा कुरा भयो। न्यून पारिश्रमिक पनि स्थानीय तहले मनपरी ढंगले दिएको जानकारी गरायौं। यस विषयमा बढी नै छलफल भयो। मन्त्रीज्यूले शिक्षा सचिव चूडामणि पौडेललाई अगाडि राखेर बालविकास सहजकर्ताको तलबमा कति खर्च हुन्छ त्यहीँ हिसाब निकाल्नुभयो। एकद्वार प्रणालीबाट वितरण भइदिँदा सहज हुन्छ भनेर कुरा राख्यौं। आगामी बजेटबाटै यो लागू हुनपर्ने माग गर्यौं। यति रकम चाहिने रहेछ भनेर मन्त्रीज्यूले हिसाब निकाल्दा सचिव चूडामणि पौडेलले प्रस्ट्याउनुभयो। न्यूनतम पारिश्रमिक १९ हजार ५०० पुर्याउन किन नसक्ने? भन्ने कुरा भयो। योजना बन्दैछ, छलफल गरेर, विश्लेषण गरेर यो कार्यलाई अगाडि बढाउनुपर्छ भन्नुभयो, मन्त्रीज्यूले। नीतिगत विषयतर्फ, हामी बालविकास सहजकर्ताले पाउने सेवासुविधा, दरबन्दी, गोल्डेन ह्याण्डसेकको कुरा गर्यौं। शिक्षा ऐन बनाउने क्रममा शिक्षा समितिमा छलफल गरेर अगाडि बढाउँछौं भन्नुभयो।’

अन्योलमा विद्यालय शिक्षा, संघीय सरकारलाई टेरेनन् स्थानीय तहले

थापाले यसअघिका सरकार र मन्त्रीहरूसँगको अनुभवभन्दा यसपटकको संवाद फरक रहेको पनि बताइन्। उनले भनिन्, ‘यसअघिका सरकारसँग, मन्त्रीसँग जति पनि भेट्यौं, लबिङ गर्यौं, वार्ता गर्यौं, आन्दोलन गर्यौं तर अहिलेका मन्त्री, सचिवसँग सौहार्दपूर्ण कुराकानीचाहिँ पहिलोपटक भयो। मन्त्रालयमा केही कार्यशैली फरक छ। कार्यान्वयनको पाटो के हुन्छ त्यो थाहा भएन। यति बजेट चाहिन्छ, यस्तो हुन्छ, यसरी योजना अगाडि बस्छ भन्ने आजसम्म हामीलाई कुनै मन्त्री, सचिवले बताउनुभएन। नबुझेका कुरा हामीबाट र उहाँहरूबाट क्लियर भयो। त्यसैले हामी समग्र ३६ हजार बालविकास शिक्षकको हितमा केही गर्छ कि भन्ने लागेको छ। आशावादी छौं।’

यो पनि

ईसीडी शिक्षकले शिक्षा समिति सभापति र मन्त्रीलाई गराए विगतका सहमतिको जानकारी

प्रकाशित: ११ वैशाख २०८३ १३:३० | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast