उपनिर्वाचनमा उत्साह, विकासप्रेमीलाई मत

हिमाल प्रेस २६ चैत २०८० ८:२४
8
SHARES
उपनिर्वाचनमा उत्साह, विकासप्रेमीलाई मत

काठमाडौँ- इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन्। यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ।

गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा २० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

इलाम नगरपालिका–८ महमाईका कुबेर राईलाई उपनिर्वाचनकोे चहलपहलले उत्साहित बनाएको छ। ‘सात महिनादेखि हामीले चियाको मूल्य, दुग्ध उत्पादनको बजार, मेची राजमार्गको अस्तव्यस्त अवस्थालगायत समस्या संघीय संसद्मा उठाउने जनप्रतिनिधि पाउन सकेका छैनौँ’, उनले भने, ‘हाम्रा समस्याको उठान गर्ने प्रतिनिधिको खोजीमा छौँ।’

फाकफोकथुम गाउँपालिका–४ का रघुनाथ भण्डारीले सडक, स्वास्थ्य, शिक्षा र कृषिमा परिवर्तन ल्याउन सक्ने उम्मेदवार छनोट गर्ने सोचमा रहेको बताए। ‘सडकको मर्मत छैन, कृषिमा अनुदान छैन, राम्रो अस्पताल र गुणस्तरीय शिक्षा पाउन सकेका छैनौँ। अब निर्वाचित हुने प्रतिनिधिले हाम्रा यी माग सम्बोधन गर्नुपर्छ,’ उनले भने।

सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार सुहाङ नेम्वाङ‍, नेपाली कांंग्रेसका डम्बर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू चुनावी मैदानमा छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, पहिचानवादीका डकेन्द्रसिंह थेगिम, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, मंगोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बू र नेपाली जनता दलका रेशमबहादुर सुनुवार पनि चुनावी प्रतिस्पर्धामा छन्।

यसैगरी, स्वतन्त्र उम्मेदवारहरू क्रमशः डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी भिडन्तमा सामेल छन्।

उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ। इलाम–२ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन्।

यी केन्द्रमा आठ सय ९४ कर्मचारी परिचालन हुनेछन् । निर्वाचन आयोगका अनुसार यही चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ। चैत २८ देखि वैशाख १२ गतेसम्म प्रचारको अवधि तोकिएको छ।

प्रकाशित: २६ चैत २०८० ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =