इलाम-२ मा मतदान सकियो, मतपेटिका गणनास्थलमा ल्याइँदै

हिमाल प्रेस १५ वैशाख २०८१ १८:४९
10
SHARES
इलाम-२ मा मतदान सकियो, मतपेटिका गणनास्थलमा ल्याइँदै

इलाम- इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ। उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी छ। हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ५७ प्रतिशत मत खसेको प्रजिअ यादवले जानकारी दिए।

अहिले मतपेटिका गणनास्थलमा आउन सुरु भइसकेको छ। सबै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको उनले बताए। एक लाख १५ हजार आठ सय ८९ मतादाता थिए। २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मतदान भएको थियो।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुनेछ। सबै क्षेत्रबाट राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको प्रजिअ यादवले बताए।

मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि राजनीतिक दल तथा उम्मेदवार सर्वपक्षीय सहमतिपछि मतगणना प्रारम्भ गरिनेछ।

 किरियापुत्रीले गरे मतदान

यसैबीच इलाम-२ प्रतिनिसभा सदस्य उपनिर्वाचनमा एक जना किरियापुत्रीले पनि मतदान गरेका छन्। आमाको किरिया बसेका इलाम नगरपालिका–६ का रजिन खड्काले दृपादेवी आधारभूत विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

मतदान गर्न पाउने अधिकार प्रयोग गरेर अरु मतदातालाई मतदानको महत्व बुझाउन किरिया बसेको समयमा पनि मतदान केन्द्रमा पुगेर मतदान गरेको खड्काले प्रतिक्रिया दिए।

प्रकाशित: १५ वैशाख २०८१ १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 10 =