सन्दर्भ : गोरखापत्र प्रकाशन आरम्भ दिवस

सुधारवादी देवशमशेर, गोरखापत्र प्रकाशन र ब्रिटिस चासो

सन्तोष खडेरी २४ वैशाख २०८१ १०:००
6
SHARES
सुधारवादी देवशमशेर, गोरखापत्र प्रकाशन र ब्रिटिस चासो गोरखापत्रको पहिलो अंकको पहिलो पृष्ठ र तत्कालीन प्रधानमन्त्री श्री ३ देवशमशेर जबरा।

आज वैशाख २४ गते। नेपालको जेठो अखबार गोरखापत्रको प्रकाशन सुरु भएको दिन। १९५८ साल जेष्ठवदी ३ (१९५८ वैशाख २४) गतेबाट साप्ताहिक पत्रिकाका रूपमा गोरखापत्र प्रकाशन सुरु भएको थियो। गोरखापत्र प्रकाशन गर्ने श्रेय सुधारवादी शासक तत्कालीन प्रधानमन्त्री देवशमशेरलाई दिने गरिन्छ। ११४ दिनको उनको छोटो कार्यकालमा सुधारवादी योजनाअन्तर्गत गोरखापत्रको प्रकाशन सुरु भएको थियो। गोरखापत्र १२३ वर्ष पूरा भएर १२४ वर्षमा प्रवेश गरेको छ। छोटो लेखमा प्रधानमन्त्री देवशमशेरको संक्षिप्त परिचय, उनको शासनकालमा भएका सुधारबारे चर्चा गरिएको छ। गोरखापत्र प्रकाशन सम्बन्धमा नेपालस्थित तत्कालीन ब्रिटिस रेजिडेन्टले आफ्नो सरकारलाई पठाएको प्रतिवेदनमा उल्लेख गरेको विषयसमेत समेटिएको छ।

सुधारवादी प्रधानमन्त्री देवशमशेर

राणा शासनका संस्थापक जंगबहादुरका कान्छा भाइ धीरशमशेरको चौथो पुत्रका रूपमा १७ जुलाई १८६२ मा देवशमशेरको जन्म भएको थियो। जंगबहादुरका तेस्रो भाइ कृष्णबहादुर कुँवर निःसन्तान थिए। त्यसैले कृष्णबहादुरले देवशमशेरलाई धर्मपुत्र राखेका थिए। कृष्णबहादुर धीरशमशेरभन्दा पहिले कमान्डर इन चिफ भएकाले उनीसँग प्रशस्त सम्पत्ति थियो। त्यसैले देवशमशेर असाध्यै सुखसयलमा हुर्किएका थिए। कृष्णबहादुरको धनसम्पत्तिको एक्लो उत्तराधिकारी भएको हुँदा देवशमशेरसँग प्रशस्तै धन थियो। धीरशमशेरका धेरै सन्तान १७ भाइ छोरामध्ये अर्का वीरशमशेरसमेत जंगबहादुर राणाका साथमा थापाथली दरबारमा हुर्किएका थिए। सन् १८९६ मा देवशमशेरको पहिलो पत्नी कर्मकुमारीको निधन भयो। उनले राजकुमारी कृष्णकुमारीदेवीसँग दोस्रो विवाह गरेका थिए। उनी युवराज त्रैलोक्यकी भित्रिनी रानीपट्टिकी छोरी थिइन्। देवशमशेरले राजपरिवारकी राजकुमारीसँग विवाह गर्दा दाइजोमा पनि तराईतिरको प्रशस्त बिर्ता पाएका थिए। उनी काठमाडौँबाट धनकुटा हुँदै भारततर्फ धपिएपछि तेस्रो पत्नीका रूपमा शारदाकुमारी (भारतको मैसुरी गएपछि कठोर स्टेटकी राजकुमारी) सँग बिहे गरेका थिए।

राज्य सञ्चालनमा देवशमशेरको भूमिका

२१ नोभेम्बर सन् १८८५ को राति हिटी दरबारमा आफ्नै ठूलोबुबा तत्कालीन प्रधानमन्त्री महाराज रणोद्वीपसिंह कुँवरको हत्या गरेर शमशेर खलक (धीरशमशेरका सन्तान) ले सत्तारोहण गरे। त्यसपछि वीरशमशेर प्रधानमन्त्री र श्री ३ महाराज भए। जेष्ठताका आधारमा खड्गशमशेर कमान्डर इन चिफ, रणशमशेर जंगीलाठ र देवशमशेर कमान्डिङ जनरल भए। सन् १८८६ मार्चमा वीरशमशेरले खड्गशमशेरलाई कमान्डर इन चिफबाट हटाएर पाल्पातिर लखेटेपछि रणशमशेर कमान्डर इन चिफ र देवशमशेर जंगीलाठ भए। दुई महिनापछि मे २० मा कमान्डर इन चिफ रणशमशेरको निधन भएपछि देवशमशेर कमान्डर इन चिफ नियुक्त भएका थिए। (नेपालस्थित ब्रिटिस रेजिडेन्टले आफ्नो सरकारलाई पठाएको रिपोर्टको आधारमा)

सन् १८८७ देखि १९०१ सम्मको करिब १५ वर्षसम्म देवशमशेर नेपालका कमान्डर इन चिफ थिए।  सन् १९०१ को मार्च ५ मा तत्कालीन प्रधानमन्त्री वीरशमशेरको निधन भयो। सोही दिन राणा रोलक्रमअनुसार देवशमशेर नयाँ प्रधानमन्त्री एवं श्री ३ महाराज घोषित भए।

प्रधानमन्त्री देवशमशेरले चन्द्रशमशेरलाई कमान्डर इन चिफ र भीमशमशेरलाई जंगीलाठ नियुक्त गरे। सन् १९०१ को ५ मार्चमा शासनसत्ता सम्हालेयताको करिब ३ महिनामा देवशमशेरले धेरै सुधारवादी काम गरेका थिए। देवशमशेर प्रधानमन्त्री भएका बेला कामको फेहरिस्त तयार गरी नेपालस्थित ब्रिटिस रेजिडेन्टले आफ्नो सरकारलाई पठाएको विवरणमा लेखेका थिए-

नयाँ प्रधानमन्त्रीको प्रशासनिक क्षमताको मूल्यांकन गर्न अहिले नै अलि चाँडो हुन्छ किनकि उनले सत्ता सम्हालेको भर्खर तीन महिना मात्र भयो। तर यो तीन महिनाको अवधिमा पनि उनले गरेका केही कामले उनले आफ्ना जनताको भलाइका पक्षमा काम गर्न र समयसँगै चल्न उत्सुक छन् भन्ने देखिन्छ। प्राथमिक शिक्षाका क्षेत्रमा उनले सही दिशामा अगाडि बढ्दै केही प्राथमिक पाठशाला खोलेका छन्। अर्को नवीनतम कामका रूपमा उनले सल्लाहसुझाव प्राप्त गर्नका लागि ठाउँठाउँमा सुझाव पेटिकाको व्यवस्था गरेका छन्। ती सुझाव पेटिकामा ताला लगाइएको हुन्छ र प्रत्येक दिन ती सुझाव पेटिका सीधै दरबारमा ल्याएर खोलिन्छ। यसबाट आमनागरिकलाई उनीहरूका समस्या सीधै प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराउन मद्दत पुग्नेछ।

नयाँ प्रधानमन्त्रीले सरकारी अड्डामा कर्मचारीलाई दैनिक ६ घन्टा काम र प्रेत्यक कर्मचारीलाई वार्षिक १७ दिनको विदाको व्यवस्था गरेका छन्। त्यस्तै प्रधानमन्त्रीले हालै मसँगको अन्तर्वार्तामा दासप्रथा अन्त्यका लागि समेत ठूलै प्रयास भइहरेको बताएका छन्। प्रधानमन्त्री र अन्य उनका धेरै भाइहरूले पनि आफ्नो घरमा रहेका दासहरूलाई स्वतन्त्रता दिएर एउटा उदाहरण प्रस्तुत गर्दैछन्। त्यही प्रक्रिया अन्यका हकमा समेत अवलम्बन गरिनेछ।

अखबारका रूपमा गोरखापत्र प्रकाशन भएको विषयलाई उनले यसरी उल्लेख गरेका थिए- प्रधानमन्त्रीले काठमाडौँमा नेपाली भाषामा पत्रिकाको मुद्रण र प्रकाशनको बन्दोबस्त गरेका छन्। मैले बुझेअनुसार त्यो राज्यको सुपरीवेक्षणमा हुनेछ। त्यसले नेपाल र भारतको समाचार मात्र होइन अन्य मुलुकका समाचारसमेत पस्कनेछ। (नेपालस्थित ब्रिटिस रेजिडेन्टले आफ्नो सरकारलाई सन् १९०१ मा पठाएको रिपोर्ट, राष्ट्रिय अभिलेखागार नयाँ दिल्ली)

गोरखापत्रको प्रकाशन सुरु भएपछि नेपालस्थित ब्रिटिस रेजिडेन्टले समेत गोरखापत्रको समाचार उल्लेख गरेर आफ्नो सरकारका जाहेर गर्दथे। वीरशमशेरको कार्यकालमा खुलेको घण्टाघरस्थित वीर पुस्तकालय आमनागरिकका लागि बन्द थियो। देवशमशेरले आफ्नो कार्यकालमा उक्त पुस्तकालय आमनागरिकलाई खुला गरिदिएका थिए। कुनै पनि समाजको परिवर्तन र उन्नतिका लागि शिक्षा अनिवार्य सर्त हो भन्ने बुझेका उनले पढ्ने र पढाउने वातावरण तयार गर्दै थिए। तर उनका राणा भाइभारदारलाई त्यो विषय पाच्य भएन। उनलाई षड्यन्त्रपूर्वक हटाए।

सन् १९०१ को मार्च ५ देखि सोही २७ जुनसम्म ११४ दिन दिन शासन सत्तामा बसेका देवशमशेरलाई चन्द्रशमशेरले पदच्यूत गरिदिए। उनलाई पदच्यूत गर्नुको मुख्य कारण उनको सुधारवादी कदमका कारण राणा शासनको भविष्य र चन्द्रशमशेरको शासकीय महत्त्वाकांक्षा थियो। देवशमशेरले सुरु गरेका अन्य सुधारवादी काम चन्द्रशमशेरले बन्द गरेका थिए। उनले गोरखापत्रको प्रकाशन र वितरणलाई भने जारी राखे। गोरखापत्र त्यतिबेला प्रधानमन्त्रीकै नियन्त्रणमा थियो।

आफू अनुकूलका समाचार प्रकाशन र वितरणलाई उनले शासनसत्ताविरुद्ध मानेनन् कि किन हो त्यसलाई भने बन्द गरेनन् । १२३ वर्ष लामो इतिहास बोकेको गोरखापत्रका पुराना अंक त्यतिबेलाको नेपाली समाजसँगै ब्रिटिस औपनिवेशिक दक्षिण एसियासँगसँगै अन्तर्राष्ट्रिय घटनाक्रम बुझ्न उपयोगी छ।

गोरखापत्र १९५८ सालमा प्रकाशित सुरु भए पनि दर्ताका हिसाबले यसको दर्ता नम्बर २ छ। दर्ता नम्बर १ चाहिँ १९९१ साल श्रीपञ्चमीबाट प्रकाशित शारदा मासिकको छ। आफू एक्लो हुँदा गोरखापत्रलाई दर्ता नम्बरको कुनै आवश्यकता नपरेको हुन सक्छ। गोरखापत्रका पुराना अंक हेर्दा प्रकाशन सुरु भएको ३७ औँ वर्षपछि १९९६ सालको वैशाख २४ गतेबाट मात्र दर्ता नम्बर उल्लेख गर्न थालेको हो। उक्त अंकको पहिलो पृष्ठको सबैभन्दा माथि दर्ता नं.- ने ००२ लेखिएको थियो।

गोरखापत्रमा १९९० सालपछि मात्र सम्पादक भनी लेख्न थालिएको हो। १९५८ वैशाखदेखि २००१ असोजसम्म गोरखापत्र हप्तामा एक दिन मात्र साप्ताहिक रूपमा प्रकाशित हुने गर्दथ्यो। २००१ असोजदेखि हप्तामा दुई दिन अर्धसाप्ताहिक रूपमा प्रकाशित हुन थालेको हो। त्यस्तै २००३ पुस देखि भने हप्तामा तीन पटक प्रकाशित भयो।

गोरखापत्रले देवशमशेर, चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेर हुँदै मोहनशमशेर सम्म ६ वटा राणा प्रधानमन्त्री व्यहोर्‍यो। चन्द्रदेखि जुद्धसम्मको समयका गोरखापत्रमा छापिएका समाचार सामग्रीमा त्यति उदारता थिएन। जुद्धको समयमा साप्ताहिकबाट अर्धसाप्ताहिक भयो। पद्मशमशेर सत्तामा आएपछि भने हप्तामा तीन दिन हुँदै सम्पादकलाई चिठीजस्ता तत्कालीन समयमा पनि केही जनआवाज छापिन थालेको थियो। उनको उदारवादी शासन व्यवस्थाले गोरखापत्रमा छापिने सामग्री त्यसको सहज वितरणले पनि सायद ग्राहक संख्या बढाउन मद्दत पुगेको होला।

गोरखापत्रका पूर्वप्रधानसम्पादक रामराज पौड्यालले कतै स्मरणमा उल्लेख गरेका छन् – जुद्धशमशेरको कार्यकालसम्म ७०० ग्राहक संख्या रहेको गोरखापत्र पद्मशमशेरको कार्यकालसम्म आउँदा ६००० पुग्यो त्यस्तै मोहनशमशेरको पालामा आउँदा फेरि त्यो २२०० मा ओर्लिएको थियो। पद्मशमशेरको पालामा ग्राहक संख्या ६००० पुगेको विषयलाई त्यतिबेलाका ब्रिटिस मिनिस्टरले समेत पुष्टि गरेका थिए।

सुब्बा नरेन्द्रमणि आचार्य दीक्षित (पहिलो परराष्ट्र सचिव) लन्डनस्थित नेपाली दूतावासबाट नेपाल फर्किएपछि उनलाई छापाखाना विभागको जिम्मेवारी दिइएको थियो। उनी छापाखानाको मुख्य जिम्मेवारीमा छँदा सन् १९४६ डिसेम्बरमा नेपालस्थित ब्रिटिस मिनिस्टरले आचार्यलाई गोरखापत्रको चिफ इडिटर भनी उल्लेख गरेका थिए। सन् १९४६ डिसेम्बर अर्थात् २००३ साल पुसदेखि गोरखापत्र अर्धसाप्ताहिकबाट हप्तामा तीनपटक प्रकाशित हुन थालेको थियो। उनले हप्तामा तीनपटक प्रकाशन हुने निर्णय भएको तर प्रकाशित नहुँदै ६००० ग्राहक रहेको उल्लेख गरेका थिए। (नेपालस्थित ब्रिटिस मिनिस्टर जर्ज फाल्कनरले आफ्नो सरकारलाई पठाएको सन् १९४६ डिसेम्बर महिनाको मासिक रिपोर्ट, राष्ट्रिय अभिलेखागार नयाँ दिल्ली)

अर्काइभबाट

प्रकाशित: २४ वैशाख २०८१ १०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =