उपनिर्वाचन बझाङ १(१) : नेकपा एकीकृत समाजवादीसहित आठ उम्मेदवारको धरौटी जफत

हिमाल प्रेस १७ वैशाख २०८१ १५:०२
94
SHARES
उपनिर्वाचन बझाङ १(१) :  नेकपा एकीकृत समाजवादीसहित आठ उम्मेदवारको धरौटी जफत

काठमाडौँ- बझाङ प्रदेशसभा १(१)मा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन्। उनले नेपाली कांग्रेससहितका दलका उम्मेदवारलाई पराजित गरेका हुन्।

२०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट निर्वाचित कांग्रेसका पृथ्वीवहादुर सिंहको निधनपछि यही बैशाख १५ गते उपनिर्वाचन भएको थियो। सिंहले एमालेका उम्मेदवारलाई पराजित गरेर निर्वाचित भएका थिए। अहिले उनै सिंहका छोरालाई एमालेका उम्मेदवारले पराजित गरे।

यो उपनिर्वाचनमा आठ उम्मेदवारले आफ्नो धरौटी पनि जोगाउन सकेनन् जफत भयो। सोमबार दिउँसो सम्पन्न अन्तिम मतपरिणाम अनुसार कूल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेकाहरूको धरौटी जफत भएको हो।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ मा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने’ उल्लेख छ। निर्वाचित उम्मेदवारको हकमा भने यो लागू हुने नहुने कानुनी व्यवस्था छ।

बझाङ १ (१) मा २९ हजार ७ सय ५ सदर मत गणना भएको निर्वाचन आयोगले जनाएको छ। जसअनुसार धरौटी जफत नहुनका लागि २ हजार ९ सय ७१ मत ल्याउनुपर्थ्यो।

चौथो स्थानमा रहेका एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले जम्मा २ हजार ५ सय १४ मत मात्र पाए।

धरौटी जफत हुने अन्य उम्मेदवारहरूमा राप्रपाका किशोर कुमार खड्का २४२, जसपाका रामबहादुर जाग्री ३५ गजेन्द्र बहादुर थापा ३५, दीपकबहादुर खड्का २८, सुशीला देवी विष्ट २६, खगेन्द्रबहादुर शाही २४ र कमल घर्तीमगर २ रहेका छन्।

ऐनअनुसार प्रदेशसभा सदस्य उम्मेदवारले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा पाँच हजार रुपैयाँ धरौटी बुझाउनु पर्छ। बझाङ १ (१) मा नेकपा एमालेका दमन भण्डारी ११ हजार ६ सय १३ मत ल्याएर विजयी भए।

निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३ सय ४६ मत ल्याए। तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ मत प्राप्त गरे। ११ उम्मेदवार चुनावी मैदानमा रहेकामा ८ जनाको धरौटी जफत भएको हो।

बझाङमा एमालेका भण्डारी निर्वाचित

प्रकाशित: १७ वैशाख २०८१ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =