उपप्रधानमन्त्री यादवलाई प्रश्न : जसले पार्टी फुटाइदियो, उसैको नेतृत्वको सरकारमा कहिलेसम्म? [अन्तर्वार्ता]

हिमाल प्रेस २६ वैशाख २०८१ २३:१६
168
SHARES
उपप्रधानमन्त्री यादवलाई प्रश्न : जसले पार्टी फुटाइदियो, उसैको नेतृत्वको सरकारमा कहिलेसम्म?  [अन्तर्वार्ता]

सत्ता गठबन्धनभित्रको एउटा घटक हो,  जनता समाजवादी पार्टी (जसपा) नेपाल। जसपा नेपाल सरकारमा सहभागी हुँदै गर्दा अध्यक्ष उपेन्द्र यादवले समझदारी कायमै रहे वर्तमान सरकार लगातार अघि बढ्ने बताएका थिए। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका यादवले त्यसपछिको नेतृत्व समेत गर्न सक्ने आकलन बाहिर आएको थियो। तर अहिले त्यो सम्भावना रहेन नै पार्टी पनि दुई टुक्रा भएको छ। राष्ट्रसंघको जनसंख्या विकास सम्मलेनमा सहभागी हुन न्यूयोर्क पुग्दा यादवको पार्टी फुटेको हो।

प्रतिनिधिसभामा रहेका १२ सांसदमध्ये ७ सांसद अशोक राईले लगेर नयाँ पार्टी दर्ता गरिसकेका छन्। यसपछि पनि यादव सरकारमा नै रहने भएका छन्। सधैँ हँसिलो मुद्रामा देखिने यादव अहिले पीडामा गुज्रिरहेका छन्। ‘सबै (सत्ता गठबन्धन) मिलेर यो पार्टीलाई कमजोर बनाउने षड्यन्त्र भएको देखिन्छ। तर म कत्ति विचलित भएको छैन, पार्टी संगठनलाई असर गरेको पनि छैन,’ उनले भने। उनै यादवसँग हिमाल प्रेसले गरेको कुराकानी:

तपाईं यहाँ नभएको बेला पार्टी फुट्यो, यो क्षतिलाई कसरी पूरा गर्नुहुन्छ?

सत्तामा रहेकाहरू मिलेर गैरसंवैधानिक तबरले पार्टी विभाजन गरिएको छ। यसका लागि हामी अदालत जानेछौँ। जे पनि गरिदिन मिल्छ भन्ने सोच हाबी भएको छ। यसलाई तह नलगाउने हो भने यहाँ जतिबेला जे पनि हुन सक्छ। यस्तो सोच राखेर राजनीति गर्नेहरूले मुलुकलाई बर्बाद पार्छन्।

त्यसो भए सत्तामै रहने कि बाहिरिने त अब?

पार्टी विभाजनको छिनोफानो अदालतले गर्छ। सरकारमा रहने कि बाहिरिने बारेमा सत्तामा हुनेहरूको कुरामा निर्भर गर्छ। मैले भन्दा पनि उहाँहरूले मलाई चाहेर सत्ता गठबन्धनमा ल्याउनु भएको हो। मैले त साथ दिएको हो। साथमा राखेर छुरा हान्ने काम भएको छ। यो कुरालाई कसरी लिने भन्नेमा भर पर्छ। किनकि जसपाको आफ्नो राजनीति छ। त्यो अघि बढाउनु पर्ने अवस्था छ। गएका कतिपय साथीहरू यतै रहने कुरा पनि भइरहेको छ। केन्द्रीय समितिको औपचारिक बैठक बसेर सबै विषयमा निर्णय गरेर अघि बढ्नेछौँ।

यहाँ त दलसँगै निर्वाचन आयोगको पनि दोष देखियो होइन?

पक्कै। निर्वाचन आयोगको नेतृत्व गरिरहेका व्यक्तिले कसलाई सघाउन खोज्नुभएको हो स्पष्ट छ। निर्वाचन आयोगले कानुनबिनै नयाँ दल दर्ता गरिदिएको देखिन्छ। अध्यादेश आएपछि त्यो संसदमा पारित नभएपछि पुरानैमा फर्कनुपर्नेमा अनेकन् दाउपेच मिलाएर फुटाउने र नयाँ दल दर्ता गर्ने काम भएको छ। यो कार्यले न आयोगलाई राम्रो हुन्छ न त दलहरूलाई। पहिचान, मधेशका मुद्दा र संघीयतालाई धरापमा पार्ने गरी गैरसंवैधानिक रूपमा दल विभाजन गरिदिएकाले न्यायका लागि अदालत जाने हो, हामी। (खिन्न हुँदै)  राजनीतिमा कसैलाई पनि विश्वास गर्न नहुने देखियो। संसदमा ऐन विचाराधीन रहेको अवस्थामा गैरकानुनी तरिकाबाट रातारात पार्टी दर्ताको घोषणा गरियो। सायद नेपालको इतिहासमा यति छिटो दर्ताको प्रमाणपत्र दिएको यो पहिलोपटक होला।

तपाईं उपप्रधानमन्त्री रहेकाे मन्त्रिपरिषद्का प्रमुख अर्थात् प्रधानमन्त्रीले तपाईं नेपालमा नभएका बेला दल फुटाइदिनुभयो, अब त्यही मन्त्रिपरिषद्मा कसरी बस्नुहुन्छ?

हो नि। म उहाँलाई साथ दिएको र अहिले उपप्रधानमन्त्री पनि छु। अनेकन् कुरा र हल्लाको पछि लागेर उहाँले मेरो पार्टी फुटाइदिनु भएको देख्दा म छक्क परेको छु। म नभएको बेला किन यस्तो गर्नु भएको भन्दा सत्तामा संकट आउने कुरा आएकोले फुटाएको स्वीकार गर्नुभएको छ। यो कुराले मलाई झनै पीर लाग्यो। सँगै बसेकाले समेत साथ नदिने अवस्था र अविश्वासले राजनीति के होला? हल्लाको भरमा जे पनि गर्ने देखियो। यस्तो तवरले राजनीतिक नेतृत्व अघि बढ्ने हो भने यो व्यवस्था नै नरहने देख्छु। नयाँ समीकरणको हल्ला चलाएर कुनै दलले आफूलाई ठूलो दल बनाउनको लागि यो कार्य गरेको देखिन्छ। जुन कार्यमा लाग्नु भएको छ त्यो कार्य सफल नहुने र व्यवस्थामा नै आँच आउने मेरो निष्कर्ष छ।

तपाईंलाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बनाउने भनेपछि समीकरण फेर्न लाग्नु भएको भन्ने हल्ला चलाइएको थियो नि!

जे पनि हल्ला आफैँ चलाउने अनि पार्टी फुटाउने काम भएको छ। याे सरासर झुट र कपोकल्पित हल्ला हो। पार्टी फुटको विषय भन्दा पनि यहाँ विश्वास कसको गर्ने भन्ने भयो। यसरी पनि दलीय व्यवस्था अघि बढ्छ? प्रधानमन्त्री स्वयंले सत्ता जोगाउन आफैंले जसपा फुटाएको स्वीकार गरेको सुन्दा लाज लागेर आएको छ। मैले दिउँसो पत्रकार सम्मेलनमा पनि भनेको थिएँ, मैले अहिले सरकार छाडेको छैन। पार्टी निर्माणदेखि नै टुटफुटको लामो शृंखला भइरहेकोले यसलाई अन्यथा लिएको पनि छैन। तर अब भने विश्वास नै कसको गर्ने कसको नगर्ने भन्दै म आजित भएको छु।

नेकपा एमाले आफू ठूलो दल हुनको लागि सबै यो गरिरहेको हो झैँ लाग्दैन?

त्यो पनि हुन सक्छ। एमाले अध्यक्ष के पी ओली जी यस्तो हिसाबकिताबमा माहिर नै हुनुहुन्छ। के भन्नु र? खास गरी अहिले अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि संघीयता, लोकतन्त्र, गणतन्त्र, मधेश र पहिचानको मुद्दालाई धरापमा पार्ने गरी पार्टी विभाजन गरेकाले पनि यो कुरा पुष्टि हुन्छ। उनी सकेसम्म लगेको साथीहरूलाई उतै लैजाने प्रयास नगर्नु होला भन्न सकिन्न। यहाँ जे पनि हुने रहेछ। जे पनि सोचिने रहेछ। कुनै आधार चाहिँदैन रहेछ।

सधैँ हँसिलो मुद्रामा हुने तपाईं आजको पत्रकार सम्मेलनमा निकै थकित र कमजोर झैँ देखिनुभयो नि!

म लामो यात्राबाट आएको हुनाले मेरो अनुहार मलिन थियो होला। म कमजोर र थकित भएको आफैँले पनि अनुभूति गरिरहेको छु। म सुस्त बोलिरहेको छु। मेरो लागि वर्तमान सत्ता सहयात्रा यातनापूर्ण त छ नै त्यसैले हामी के गर्ने भनेर सल्लाह गरेर नै अघि बढ्नेछौँ। बैठकहरू हुँदैछन्। मेरो राजनीति वा हाम्रो दलको भविष्यभन्दा पनि यो तवरले मुलुकको शासकीय स्वरूप र अहिले प्राप्त जे जति उपलब्धि छ त्यसमा नै कुठराघात हुन सक्ने देखिरहेको छु। जनताको लडाईं र साहस सबै धुमिल हुने देख्दैछु।

फुटले पार्टी कमजोर हुने नै भयो, प्रदेशमा समेत असर गर्ने भयो होइन र?

त्यस्तो हुँदैन। संगठनभित्र भिजेकाहरूले फुटाएको भए पो। उहाँहरूले संगठन होइन पद हेरेर हिँड्नुभएको हो। संगठन हामीसँग छ। त्यसैले ठूलो असर त पार्टीलाई गर्दैन। तर गणितको खेल भइरहँदा त्यसमा भने असर गर्छ। प्रदेशमा अहिले केही नहोला। त्यहाँ केही गर्न थालेमा हामी पनि सचेत रहनेछौँ र अर्को बाटोमा हिँड्न बाध्य हुनेछौँ। त्योे अवस्था नल्याउलान्।

प्रकाशित: २६ वैशाख २०८१ २३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 12 =