जसपाको एकता महाधिवेशन सुरु

नेहा झा २८ जेठ २०८१ २१:३०
60
SHARES
जसपाको एकता महाधिवेशन सुरु जनता समाजवादी पार्टी (जसपा), नेपालको सोमबार जनकपुरधाममा आयोजित एकताको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत। तस्बिर : रासस

जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय एकताको महाधिवेशन सोमबार जनकपुरधाममा सुरु भएको छ। महाधिवेशन उद्घाटन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका हुन्। उद्घाटन समारोहमा सम्बोधन गर्दै यादवले दुई तिहाइभन्दा बढी सिमान्तकृत जनता दिनदिनै पछाडि पारिँदै आएकाले मुलुक पछाडि पर्दै आइरहेको बताए।

यादवले भने, ‘दुई तिहाइभन्दा बढी जनसंख्या रहेको सीमान्तकृत समुदायलाई जुन मुलुकमा पछाडि पारिन्छ भने त्यस्तो मुलुक कुनै पनि हालतमा विकसित मुलुक तथा समाजवादतर्फ अग्रसर हुन सक्दैन।’ मधेश आन्दोलन नभएको भए मुलुकमा संघीयता र गणतन्त्र कहिल्यै नआउने दाबी उनको थियो।

उनले प्राप्त अधिकारहरुलाई संरक्षण गर्नका लागि निरन्तर लागिरने प्रतिबद्धता व्यक्त गरे । यादवले भने, ‘हामी सत्तामा रहौँ या नरहौँ, सदनमा कमजोर रहौँ तर जनताका बीच अधिकारको लडाइँका लागि सदैव सँगै रहनेछौँ।’

मधेश, दलित, थारु, मुस्लिम, आदिवासी जनजातिमाथि जारी विभेद अन्त्यका लागि अन्तिम क्षणसम्म प्रयास जारी राख्ने पनि उनले बताए।

समारोहमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र समृद्धिका लागि उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्न जरुरी रहेको बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले जनता समाजवादी निकै कठिन अवस्थाबाट गुज्रे पनि अहिलेको परिवर्तनलाई संस्थागत गर्दै दृढ इच्छाशक्तिसहित अगाडि बढ्नुको कुनै विकल्प नभएको बताए।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पछिल्लो समय मधेस पहाडबीचको सम्बन्ध सुमधुर भएको बताए। विभिन्न प्राकृतिक विपत्तिको समयमा दुवै भूगोलमा बस्ने जनताले देखाएको सद्भावले यसलाई पुष्टि गरेको उनको भनाइ थियो।

अधिवेशनको बन्दसत्र मंगलबार बिहान सुरु हुनेछ। बन्दसत्रमा जसपा नेपालका अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

२०६३ मा मधेशी जनअधिकार फोरम गठन भएदेखि नेतृत्वमा रहेका उपेन्द्रले यसपालि पहिलो पटक महाधिवेशनको सामना गर्न लागेका छन्।

विभिन्न पार्टीसँग एकता र टुटफुट हुँदै उनी अहिले जसपा नेपालको नेतृत्वमा छन्। एकताको पहिलो महाधिवेशन भनिए पनि नेतृत्वमा उपेन्द्र आफैं दोहोरिने दाउमा छन्।अशोक राई, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई लगायतले पार्टी फुटाएर जसपा गठन गरेपछि उपेन्द्रविरुद्ध नेतृत्वमा कसैले दाबी गर्ने अवस्था नरहेको जसपा स्रोतले जनाएको छ।

यद्यपि उपेन्द्रलाई राजकिशोर यादवले नेतृत्वमा चुनौती दिनसक्ने चर्चा भइरहेको छ। तैपनि त्यो सम्भावना नरहेको नेताहरू दाबी गर्छन्। महाधिवेशनले २० जना पदाधिकारीको निर्वाचन गर्ने प्रचार विभाग प्रमुख बस्नेतले बताए।

उनका अनुसार महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ । सात सचिवमा भने प्रादेशिक क्लस्टरका आधारमा हुनेछ।

अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई ७ हजार, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवारका लागि ५ हजार, केन्द्रीय सदस्यमा उम्मेदवार हुन २ हजार शुल्क निर्धारण गरिएको छ।

प्रकाशित: २८ जेठ २०८१ २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =