प्याज निर्यातमा भारतको कडाइपछि नेपालमा कालोबजारी, ५ व्यापारीलाई जरिबाना

हिमाल प्रेस ४ भदौ २०८० २०:०३
14
SHARES
प्याज निर्यातमा भारतको कडाइपछि नेपालमा कालोबजारी, ५ व्यापारीलाई जरिबाना बझाङमा बजार नपाएपछि थन्किएको प्याज। फाइल तस्बिर : रासस

काठमाडौँ- भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको पाइएको छ। एक दिनमै प्याजको मूल्य प्रतिकिलो २० रुपैयाँसम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा पाइएको हो।

भारतले निर्यातमा कर बढाउनु अघि नै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्य वृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ। विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले विभागले सोमबार तीन टोली खटाएर कालीमाटी, बल्खु, एकान्तकुनालगायत प्रमुख तरकारी बजार र खुद्रा पसलमा अनुगमन गरेको बताए।

भारतले भन्सार बढाएको बहानामा व्यापारीले पहिल्यै आयात गरिसकेको प्याजमासमेत मूल्य बढाएर कालोबजारी गरेपछि अनुगमन गरिएको र केही व्यापारीलाई कारबाहीसमेत गरिएको उनले जानकारी दिए। ‘प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धिको सूचना पाउने वित्तिकै विभागले आज दिनभर तीन वटा टोली परिचालन गरेर बजार मूल्य अनुगमन गरेको छ,’ उनले भने, तीन व्यापारीलाई जनही २० हजार रुपैयाँ र दुई व्यापारीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको छ। चार जना आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग गरिएको छ।’

काटीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो २० रुपैयाँसम्मले बढेर ८० रुपैयाँसम्म पुगेको उनले बताए।

तर विभागले अनुगमन गरेपछि सोमबार कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो १० रुपैयाँले घटेको उनकको भनाइ छ। वाणिज्य विभागले गर्ने नियमित अनुगमन सोमबार प्याजको मूल्य वृद्धिमा केन्द्रित गरिएको उनले बताए।

उपत्यकाका विभिन्न २१ स्थानमा भएको अनुगमनमा ५ वटालाई तत्काल कारबाही, चार वटालाई थप अनुसन्धानका लागि कागजात माग, एउटालाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

बाँकीलाई सामान्य निर्देशन दिइएको विभागको भनाइ छ। फरक मूल्य राखेर भ्याटबिल बनाएको तथा आयातकर्ता व्यापारीले अरु खुद्रा व्यापारीलाई कति रकममा बिक्री गरेका छन् भन्नेबारे विभागले विस्तृ अध्ययन गरिरहेको पनि महानिर्देशक ठाकुरको भनाइ छ।

भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो। भारतको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको भारतीय वित्त मन्त्रालयले जानकारी दिएको छ।

आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ। यसअघि भारतले बासमतीबाहेकका चामल निर्यातमा बन्देज लगाएपछि चामलमा पनि कालोबजारी बढेको थियो। वाणिज्य विभागको अनुगमन पछि केही हदसम्म मूल्य वृद्धि नियन्त्रण भएको महानिर्देशक ठाकुरको भनाइ छ। रासस

प्रकाशित: ४ भदौ २०८० २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =