सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रहरीलाई बुझाइयो ३४१९ पृष्ठको अनुसन्धान प्रतिवेदन

हिमाल प्रेस २७ वैशाख २०८१ २०:४१
50
SHARES
सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रहरीलाई बुझाइयो ३४१९ पृष्ठको अनुसन्धान प्रतिवेदन

पोखरा- पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको विषयमा गठित अनुसन्धान समितिले अनुसन्धान सकेको छ।

विज्ञ टोलीले करिब ४ महिना लगाएर तयार पारेको ३४१९ पृष्ठ लामो उक्त प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मालाई बुझाएका हुन्।

महानगर प्रमुख आचार्यका अनुसार उक्त प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्नेछ। यसअघि बुझाइएको ४५० पृष्ठको प्रतिवेदनभन्दा अहिलेको प्रतिवेदनमा थप अनुसन्धानसहित विस्तृत अध्ययन गरिएको छ, जसमा विभिन्न सफ्टवेयरहरूको विवरणलाई पनि आधार मानिएको अनुसन्धानमा सहभागी सहकारी विज्ञ दीपकप्रकाश आचार्यले बताए।

प्रतिवेदन तयारीका लागि पोखरा महानगरपालिका सहकारी समितिले सहकारी विज्ञ, चार्टर्ड एकाउन्ट, राष्ट्रिय अनुसन्धानका अधिकारी, प्रहरी लगायतलाई राखेर अनुसन्धान समिति बनाएको थियो। समितिले गत माघ २० देखि काम थालेको थियो। जसमा सहकारी समितिका तर्फबाट दीपकप्रकाश आचार्य र चार्टर्ड एकाउन्टेन्ट अनिल लामिछाने विज्ञको रूपमा थिए। यस्तै सहकारी समिति अध्यक्ष रविरमण तिवारी, राष्ट्रिय अनुसन्धानका अधिकारी, प्रहरीलगायत थिए।

प्रतिवेदनमा के छ भन्ने कुराको विस्तृत विवरण प्रहरीको अनुसन्धान प्रतिवेदन अदालतमा पुगिसकेपछि मात्र बोल्न मिल्ने अनुसन्धानमा सहभागी सदस्यले बताए। पोखरा-४, नालाकोमुखस्थित सूर्यदर्शनको सञ्चालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरीअनुसार गत साउन २२ मा सहकारी ठगीसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले गत वर्ष १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिबाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो। १९ जनामध्ये सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित अधिकांश फरार छन्।

सर्वसाधारणबाट रकम उठाएर सहकारीले आर्थिक हिनामिना गरेपछि १८ हजार ७ सय जना बचतकर्ताको बिचल्ली भएको छ। ठगी प्रकरणमा प्रहरीले गत ३२ साउनमा जाहेरी दिन सार्वजनिक सूचना जारी उजुरी दिन आग्रह गरेको थियो।

सहकारी पीडितले बचत रकम फिर्ता नपाएपछि संघर्ष समिति नै गठन गरेका छन्। संघर्ष समिति अध्यक्ष किरण श्रेष्ठले अहिलेको अनुसन्धान प्रतिवेदनबाट केही आशा गरिए पनि पुरक अनुसन्धानमा छानबिन समिति दबाबमा परेको आरोप लगाउँदै न्याय पाउनेमा आशा नरहेको बताए। प्रतिवेदन बुझाउने भन्ने सूचनापछि पोखरा न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय परिसरमा सहकारी पीडितको बिहीबार साँझ भीड लागेको थियो।

भीडमा भेटिएका पर्वतको जलजलाका प्रेमप्रसाद रेग्मीले आफ्नो ९ लाख रकम सहकारीमा डुबाएका छन्। उनले तत्काल सहकारी ठग्नेहरूलाई पक्राउ गरी बचत रकम फिर्ता पाउनुपर्ने बताए।

प्रकाशित: २७ वैशाख २०८१ २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =