ईसीडी शिक्षा सुधार माग राखेर चार दिनदेखि उभिएका चापागाईँको खुट्टा सुन्नियो

हिमाल प्रेस ५ जेठ २०८१ १४:४७
1.4k
SHARES
ईसीडी शिक्षा सुधार माग राखेर चार दिनदेखि उभिएका चापागाईँको खुट्टा सुन्नियो

काठमाडौँ- डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) निकट नेपाल समाजवादी विद्यार्थी युनियन बालविकास शिक्षा सुधारको माग लिएर माइतीघर मण्डलामा धर्नामा छ।

युनियनका अध्यक्ष नेत्र चापागाईँ चार दिनदेखि उभिएर धर्ना दिइरहेका छन्। चापागाईँको खुट्टा सुन्निएको छ। काठमाडौँ चापागाईँले धर्ना सुरु गरेसँगै नेसपाले देशभरका पालिकामा धर्ना दिएको छ।

धर्नाप्रति सरकारले कुनै चासो दिएको छैन। नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिले धर्नाप्रति ऐक्यबद्धता जनाएको छ। समिति अध्यक्ष कृष्णकुमारी थापा मगरले चापागाईँलाई सम्पर्क गर्दै ऐक्यबद्धता जनाएको बताएकी छन्।

धर्नालाई के कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल गर्न समितिको बैठक बस्ने तयारी रहेको पनि बताइएको छ। त्यस्तै चापागाईँले विद्यालयमा खाजा खाने समयमा प्लेकार्ड लिएर विद्यालयमै उभिन बालविकास शिक्षकलाई आग्रह गरेका छन्।

युनियनले बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय कानुन, मूल्यमान्यता र देशको अवस्था हेरेर नीतिगत रूपमा नै सच्याएर कम्तिमा तीन तहको हुने व्यवस्था हुनुपर्ने, बालविकास केन्द्रमाआबद्ध शिक्षकको योग्यता, सुविधा अन्तर्राष्ट्रिय मापदण्डअनुसार समयोचित हुनुपर्ने, प्रत्येक तहमा सहयोगी शिक्षक, कर्मचारीको व्यवस्था गरी हाल सेवा प्रदान गरिरहेका शिक्षक, कर्मचारीलाई तत्काल बालमनोविज्ञान, केयर गिभर, मन्टेश्वरीसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने मागअगाडि सारेकाे छ।

त्यसैगरी यसै आर्थिक वर्षबाट बालविकास केन्द्रको भौतिक संरचना, सिकाइ सामग्री र उपयुक्त पाठ्यक्रमको लागि बजेट विनियोजन तथा नीति तथा कार्यविधि निर्माण गर्नुपर्ने, विद्यार्थीको दिवा खाजा कार्यक्रमका लागि छुट्याइएको प्रतिविद्यार्थी १५ रुपैयाँ बजेट अन्यन्त न्यून र प्रतिविद्यार्थी ५० रुपैयाँ बनाउनुपर्ने र विद्यालयमा खाना पकाउने, खुवाउने सामग्रीलगायत कर्मचारीको व्यवस्था गरी थप प्रभावकारी बनाउनुपर्ने र तीन तहको सरकार बनेपछि भएको समन्वनगत जटिलता समाधानको लागि तहगत क्षेत्राधिकार साथै कर्तव्य र जिम्मेवारी स्पष्ट रूपमा तोकी पालना गराउन पहल गर्नुपर्ने माग पनि अगाडि सारिएकाे छ।

प्रकाशित: ५ जेठ २०८१ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 11 =