कालीमाटी तरकारी बजारमा प्याज काराेबार ठप्प

हिमाल प्रेस ६ भदौ २०८० १५:४३
4
SHARES
कालीमाटी तरकारी बजारमा प्याज काराेबार ठप्प बझाङमा बजार नपाएपछि थन्किएको प्याज। फाइल तस्बिर : रासस

काठमाडौँ- भारतले प्याजमा भन्सार बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ। काठमाडौँको मुख्य बजारमध्ये एक कालिमाटी फलफूल तथा तरकारी बजारमा २ दिनयता तरकारी भित्रिएको छैन।

कालिमाटीका तरकारी व्यवसायीले प्याज आयात गर्न छाडेका छन्। कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मंगलबार प्याज नआएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए। ‘दैनिक औसत ९० देखि सय मेट्रिकटन सम्म प्याज आउने गरेकामा दुई दिनदेखि ठप्प छ। गत आइतबार ४७ मेट्रिकटन आएको र भएको मौज्दात सकिएपछि अहिले कालीमाटी तरकारी बजारमा प्याज छैन,’ उनले भने।

यहाँ आउने सबैजसो प्याज भारतबाट आयात हुने गरेकामा भारत सरकारले गत शनिबारदेखि ४० प्रतिशत भन्सार शुल्क बढाएपछि अहिले आउन छोडेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ।

बेच्नका लागि नै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूची तालिकाबाटै प्याजलाई हटाएको छ। ‘भएको मौज्दात सकियो। व्यापारीले ल्याउने कुरा हो, उतै (भारत) बाट पठाएका छैनन् भन्ने सुन्नमा आएको छ,’ उनले भने, ‘बेच्नलाई प्याज नै नभएपछि मूल्यसूचीमा नराखिएको हो।’

भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखिएको छ भने अर्कोतिर कालोबजारी र मूल्यवृद्धिसमेत देखिएको छ। पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ। थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ।

कालोबजारी र मूल्यवृद्धि भएको गुनासो उपभोक्ताबाट आएपछि विभागले प्याजलक्षित बजार अनुगमन थालेको हो। विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले पछिल्लो तीन दिनदेखि प्याजको बजारमूल्य केन्द्रित अनुगमन भइरहेको बताए। ‘हामीले उपत्यकामा सबैतिर पुगेर अनुगमन गरिरहेका छौँ।

आज पनि कीर्तिपुर, चोभार, बनेपालगायत क्षेत्रमा अनुगमन भइरहेको छ,’ उनले भने, ‘अहिले हामीले मुख्यगरी प्याजका आयातकर्ता र गोदाममा अनुगमन गरिरहेका छौँ। व्यापारीले प्रतिकिलो ४८ रुपैयाँमा किनेको प्याज ६८ रुपैयाँदेखि ७० रुपैयाँसम्म बेच्ने गरेको अनुगमनबाट देखिएको छ।

मूल्यवृद्धि र कालोबजारी गर्ने व्यापारीलाई विभागले तत्काल ३ लाख रुपैयाँसम्म जरिबाना गर्ने गरेको महानिर्देशक ठाकुरले जानकारी दिए। विभागले बजार अनुगमनका क्रममा सोमबार ३ व्यापारीलाई जनही २० हजार रुपैयाँ र दुई व्यापारीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरेको थियो।

४ वटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग गरिएको छ। त्यस्तै मंगलबार अनुगमनका क्रममा १२ तरकारी व्यापारीलाई जरिबाना गरिएको थियो।
५ व्यापारीसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ।

भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि देखिन थालेको हो। भारतले प्याज निर्यातमा कडाइ गर्दै भन्सार कर बढाउनु अघि नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमासमेत चर्को मूल्यवृद्धि र कालोबजारी भइरहेको विभागले जानकारी दिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा गत आइतबार प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री भएको प्याज सोमबार प्रतिकिलो २० रुपैयाँसम्म बढेर ८० रुपैयाँसम्म पुगेको थियो। तर विभागले अनुगमन गरेपछि कालिमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो १० रुपैयाँसम्मले घटे पनि सोमबारयता भने त्यहाँ प्याज कारोबार भएको छैन।

भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो। त्यहाँको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको उक्त मन्त्रालयले बताएको छ। आगामी डिसेम्बर ३१ सम्म उक्त कर लाग्नेछ। रासस

प्रकाशित: ६ भदौ २०८० १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =