दक्षिण कोरियाले थप नेपाली श्रमिक लैजाने

हिमाल प्रेस २६ वैशाख २०८१ १६:१३
28
SHARES
दक्षिण कोरियाले थप नेपाली श्रमिक लैजाने

काठमाडौँ- दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्ने बताएकाे छ। नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेकाे अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा सो जानकारी दिएका हुन्। नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

राजदूत पार्कले नेपाललाई प्रदान गरिँदै आएका विविध सहयोगमा आगामी दिनमा वृद्धि हुँदै जाने बताए। गणतन्त्र कोरियाले नेपाललाई स्वास्थ्य, शिक्षा, कृषिजस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ।

राजदूत पार्कले अन्य मुलुकको तुलनामा आफूहरूले नेपाललाई गरेको सहयोग नमूनाका रुपमा रहेको बताए। सन् २००७ मा नेपालसँग रोजगार अनुमति प्रणाली (ईपीएस) सम्झौता भएयता हालसम्म एक लाखभन्दा बढी नेपालीले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका छन्। हाल दक्षिण कोरियामा ईपीएसअन्तर्गत ४३ हजार नौ सय ६३ नेपाली विभिन्न क्षेत्रमा रोजगारीमा छन्।

‘कोरियामा हाल जन्मदर न्यून भएकाले श्रमिकको खाँचो छ,नेपालबाट श्रमिक कामदार लैजाने प्रक्रियाअन्तर्गत आगामी दिनमा अझ वृद्धि हुनेछ’,राजदूत पार्कले भने। हाल दक्षिण कोरियाको उत्पादनमूलक, कृषि, पानीजहाजलगायत क्षेत्रमा नेपाली श्रमिक कार्यरत छन्। आगामी वर्ष दक्षिण कोरियाले वन्यजन्तु र वन क्षेत्रमा समेत नेपाली श्रमिक लैजाने योजना रहेको राजदूत पार्कले बताए।

दक्षिण कोरियाले विभिन्न १६ देशबाट वार्षिक एक लाख श्रमिक माग गर्ने गरेको छ। त्यसमध्ये नेपाल पहिलो स्थानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =