चीनबाट आउन थालेपछि सस्तियो प्याज

हिमाल प्रेस १६ पुष २०८० ७:०१
42
SHARES
चीनबाट आउन थालेपछि सस्तियो प्याज प्रतीकात्मक तस्बिर।

काठमाडौँ- उपत्यका बजारमा चीनको प्याज भित्रिन थालेसँगै भारतबाट आएको प्याजसमेत सस्तो भएको छ। मंसिरको अन्तिम साता थोकमै प्रतिकिलो १६० रुपैयाँ पुगेको भारतबाट आएको प्याज अहिले घटेर ८५ रुपैयाँ पुगेको हो।

देशकै ठूलो तरकारी बजारमा कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आइतबार प्याजको मूल्य ८५ रुपैयाँ थोकमा कारोबार भएको छ। मंसिरको अन्तिम साता भारतीय सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्याजमा परनिर्भर नेपालमा भाउ ह्वात्तै बढेको थियो।

भारतले नेपाललगायतका देशमा प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि भारतको प्याज उपत्यकाको बजारमा रोकिएको छैन। समितिका अनुसार दैनिक ८० मेट्रिक टनको हाराहारीमा प्याज कालीमाटी बजारमा भित्रिएको छ भने चीनबाट दैनिक पाँचरसात मेट्रिक टन आएको छ।

कालीमाटी समितिका सूचना अधिकारी विनय श्रेष्ठले कालीमाटी बजारमा चीनबाट ठूलो परिमाणमा प्याज नआए पनि चीनको प्याज बजारमा भित्रिनेबित्तिकै भारतबाट आएको प्याजसमेत सस्तो भएको जानकारी दिए।

उनका अनुसार चीनबाट भित्रिएको प्याजको भाउ ८० रुपैयाँ प्रतिकिलो थोकमा कारोबार भएको छ भने भारतीय प्याजको भाउ थोकमा ८५ रुपैयाँ छ। सूचना अधिकारी श्रेष्ठले प्याज अहिले मंसिर १६ कै अवस्थामा कारोबार भएको बताए।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत मंसिरमा राजपत्र प्रकाशित गर्दै चालु डिसेम्बर अन्तिमसम्म प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गरी आगामी सन् २०२४ मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रकाशित: १६ पुष २०८० ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 8 =