यात्रा

ऐँसेलुको बुटामा अल्झँदै तारकेश्वर पुग्दा

राजाराम बर्तौला १५ वैशाख २०८१ १५:२०
78
SHARES
ऐँसेलुको बुटामा अल्झँदै तारकेश्वर पुग्दा

चैत महिना पूरै सामाजिक कामको उल्झनमा परेर वनपाखाको सुगन्ध लिने काम छुटेको थियो। वैशाख महिनामा पनि पदयात्रा छुट्यो भने वसन्त ऋतुको सुवासित हावाको मनमोहक आनन्द लिने अपूर्व अवसर र त्यसबाट प्राप्त हुने आन्तरिक सुखानन्दको अनुभूति पनि छुट्ने सम्भावना थियो।

चैतमा फुलेको लालीगुराँस पाखापखेराबाट हराउँदै थिए। हुन त चैत महिनामा सिमभन्ज्याङ र दामनको बाटो भएर यात्रा गर्दा लालीगुराँसले छपक्कै ढाकेको डाँडाको सुन्दरता हेरेर मख्ख परेको थिएँ तर पदयात्रा विशेषमा पाउने आनन्द त्यो बाटोमा गुडेको सवारीमा बसेर हेर्दा लिएको आनन्दले कहाँ तृप्ति पाउनु?

कति फूलहरू फुलेर झरिसके, कति ओइलिएर मुर्झाइसके। वासन्ती बतासको सुगन्ध हावामा बिलाइसक्यो। पदयात्राका गोराटाहरूले पनि बिर्सिसके कि भन्ने आभास लाग्न थालेको बेलामा भाइ नवराजले शनिबारे पदयात्रामा लिएर जान भनिरहेको थियो।

समय व्यवस्थापनको अस्तव्यस्तताले आफूले नभ्याउने हो कि भन्ने चिन्ताले प्रकृतिप्रेमी समूहमा नाम टिपाइदिएको थिएँ र भाइलाई साथै लिएर जाने मेसो मिलाउँदै थिएँ। बिहीबारको साँझ प्रकृतिप्रेमी समूहकी पदयात्रा सञ्चालिका तथा योगगुरु डा. रामदेवी महर्जनले २१ अप्रिलदेखि सगरमाथा आधार शिविरतर्फको पदयात्रामा जानुपर्ने र त्यसको व्यवस्थापनको काम बाँकी नै भएकाले घोषित शनिवारीय पदयात्रा गर्न असमर्थ भएको जानकारी गराउनुभयो।

भाइ नवराज र भतिज नवीनले पदयात्रामा जान हौसिएको र यसैका लागि आवश्यक सामग्री झोला, पाइन्ट, जुत्ता, टिसर्ट, लौरोसमेत किनेर ठिक्क बसेको बेला उसलाई निरास बनाउन मनले ठिक मानेन। आफैँले कुनै न कुनै ठाउँको पदयात्रामा लिएर जाने अटोठ गरेँ। अटोठ त गरेँ तर कहाँ लिएर जाने द्विविधामा पनि परेँ। अरूले लिएर हिँडेको पदयात्रामा पछि लागेको मान्छेले आफैँ अघि सरेर अरूलाई लिएर पदयात्रामा निस्कन ठूलै आँट गरेँ।

पदयात्रासम्बन्धी ज्ञान र सीप नभएको, कुनै आधिकारिक संस्थाबाट प्रशिक्षणसमेत नपाएको मानिसले यस किसिमको पदयात्रा एकल वा दुईतीनजनाको समूह लिएर पदयात्रामा निस्कनु ठिक भने होइन जानकारी हुँदाहुँदै पनि आँट गरेँ। आँटेको काम गरेर देखाउनु पनि थियो। भाइलाई भनेँ, ‘काठमाडाैँको काँठको सेराफेरो घुमेर आउँला।’

पदयात्राको अनुभव पनि हुने, एकैपटक लामो, कठिन र उच्चपहाडी बाटोमा हिँड्न पनि नपर्ने, प्रकृतिसँग निकटता पनि हाँस्न पाइने, धर्मकर्म पनि हुने ठाउँका लागि तारकेश्वर जाऊँ न त भनी राखेको प्रस्ताव भाइ नवराजले सहर्ष स्वीकार गरेकोले त्यसैबमोजिम पदयात्राको योजना बनाएँ। शनिबार बिहान सात बजे बालाजु बाइपासमा भेट गर्ने, त्यहाँबाट बसमा तीनपिप्ले जाने र त्यहाँबाट पदयात्रा सुरु गर्ने भइयो।

प्रस्तावित योजनाबमोजिम भनेकै समयमा अर्थात् बिहान ठिक सात बजे हामी तीनजाना नवराज, नवीन र म आफैँ बालाजुमाछापोखरीमा भेट गरेर बालाजु बाइपासमा गयौँ। एकातिर नुवाकोट र रसुवा जाने बसहरूको लर्को अर्कोतर्फ फुटपाथभरि तरकारी बेच्ने किसान र खुद्रा विक्रेताको घुइँचोले सडक अस्तव्यस्त थियो। तीनपिप्ले जाने बसको अत्तोपत्तो थिएन। यसका लागि तोकिएको ठाउँ तरकारी पसलहरूको अतिक्रमणमा परेको थियो। यस्तो अस्तव्यस्त हालत देखेर हामी पठाओको ट्याक्सी सेवा लिएर तीनपिप्ले पुग्यौं। यहीँबाट हामीको पदयात्रा सुरु भयो।

एकैचोटि ठाडो उकालोमा निर्मित ५५५ वटा सिँढी चढेपछि भुवनेश्वरी पुगिन्छ। बाटोमा भेटिएका एक सज्जनले सिँढी गन्ती गर्दै जानुहोला भनेका थिए। किन त्यसो भनेका होलान् बुझिएको थिएन। तीन भाइमध्ये दुई भाइले सिँढी गन्दै उक्लने निधो गर्‍यौँ र एकदुइ गर्दै गन्दै उकाला लाग्यौँ। सुन्दर दृश्य देखेपछि तस्बिर लिनैपर्‍यो।

तस्बिरको चक्करमा लाग्दा सिँढीको गन्ती कता हरायो हरायो। १५० वटासम्म त गनेको हो त्यसपछि छुट्यो। एकाग्रता भंग भएपछि काममा विघ्नता आउँछ भन्थे बूढापाका, हो रहेछ। थालेको काम बीचै छुट्यो। उकालो त आधाउँधी पनि चढेको थिइएन। शिर ठाडो गरेर माथि हेर्दा देखिन्छ सिँढीहरू अझै धेरै छन्। यात्रा अझै धेरै बाँकी छ।

हिँडाइको गन्ती आधी बाटोमै छुट्यो। फेरि तल झरेर गन्दै आए पनि हुने थियो होला। के थाहा अर्को कुनै कारणले फेरि बीच बाटोमै गन्ती रोकियो भने के गर्ने? यसरी जीवनलाई पछि फर्केर भन्दा पनि अगाडि बढेर डोर्‍याउनु उचित होला। हिँड्दै थियौँ एउटी समाजसेवी महिला स्वरूपा अर्याल हामीभन्दा पछि आउँदै थिइन्।

हाम्रो अलमल बुझिन् क्यारे भनिन्, ‘सिँढीको गन्ती बिर्सनुभयो?’ अहो कस्तो अन्तरमनको कुरा बुझ्ने मानिस? सहमतिमा टाउको हल्लायौँ हामीले। उनैले भनिन्, ‘यहाँ ५५५ वटा सिँढी छन्।’ यत्ति भनेर उनी फटाफट अगाडि बढिन्। यस्तै हुन्छ पछि आउनेहरू पनि अघि बढ्छन् जीवनको उकालीमा। उकाली उक्लने चाहना, ऊर्जा, अभ्यास र उद्देश्यपूरक एकाग्रता छ भने ढिलै भए पनि सफल भइन्छ शिखर पुग्न।

हामी पनि सिँढी चढिरह्यौँ। भुवनेश्वरी मन्दिर पुग्नुभन्दा अगाडि सिँढीको अन्तिम भागमा बडामहाराजधिराज पृथ्वीनारायण शाहको एकताको प्रतीक सालिक रहेको छ। यो सालिक पार गरेर अगाडि बढेपछि भुवनेश्वरी मन्दिरको प्रांगणमा पुगिन्छ।

भुवनेश्वरी प्राचीनकालीन देवी मन्दिर हो। शक्तिको प्रतीक यो मन्दिरको ख्याति नेपालभर छ। २०७२ सालको महाभूकम्पले यहाँको मन्दिरमा क्षति पुर्‍याएपछि उक्त स्थानमा अहिले भव्य कलात्मक शिखर शैलीको मन्दिर निर्माण भएको छ। यसको पूर्णतः निर्माणकार्य सकिएको छैन। यद्यपि, यो मन्दिर सामाजिक सञ्जालमा भाइरल भइसकेको छ।

स्थानीय त मन्दिरलाई भाइरल मन्दिर पनि भन्दा रहेछन्। रङरोगन, फूलहरूले सजिएको र हरियाली रुखहरूको व्यवस्थित सजावट भएपछि यसको भव्यता अतिसय सुन्दर र मनमोहक देखिनेछ। मन्दिरको आधार पाँचवटा खण्डमाथि ज्यामितीय स्वरूपमा निर्माण गरिएकाले सानोतिनो भूकम्पको जोखिमबाट यो मुक्त छ।

सम्भवतः यो निर्माण शैली भक्तपुरको पाँचतले मन्दिर वा काठमाडौँ दरबार क्षेत्रको मन्दिरहरूको निर्माण शैलीलाई अनुकरण गरिएको छ मूलतः तलेजु मन्दिरको निर्माण शैली। यो मन्दिरको धार्मिक महत्त्व छ नै पर्यटकीय महत्व पनि रहेको छ। काठमाडाैँमा हेर्न छुटाउन नहुने स्थानमध्ये यो मन्दिर पनि एउटा हो। स्थानीयले भनेअनुसार नेपाली राजनीतिका अतिविशिष्ट नेताहरूले यहाँ सयौँ रोपनी जग्गा किनेर राखेका छन्। यहाँबाट काठमाडाैँ उपत्यकाको सुन्दर दृश्य देखिन्छ।

यो मन्दिरमा देवीको दर्शन गर्न जान सिँढी चढ्नुअघि पाइतालाले पानीमा टेकेर जानुपर्ने गरी पानीको फोर्स राखिएको छ। यसले पाउ पखालेर शुद्ध पाउले देवीको दर्शन गर्न मद्दद गर्दछ। काठमाडाैँमा यस प्रकारको व्यवस्था अन्यत्र कतै नदेखिए पनि यहाँ र भक्तपुरस्थित पाथीभरादेवीको मन्दिरमा गरिएको छ।

यो मन्दिर श्यामानन्द ब्रह्मचारी बाबाको सक्रियतामा र उनैको नेतृत्वमा निर्माण गरिएको हो। मन्दिरमा प्रयोग भएको तामा तथा पित्तल स्थानीयले दान गरेका हुन् भने आर्थिक एवम् प्राविधिक सहयोग सहृदयी दाताबाट समेत लिइएको रहेछ।

मन्दिर अवलोकनपछि हामी कच्ची बाटो हुँदै उकालो लाग्यौँ। बाटोको छेउमा एउटा सानो चिया दोकान देख्यौँ। चियाको दोकान देखेपछि यसको तलतल पनि लाग्यो। चिया खाने बहानाले बस्दा भर्खर बन्दै गरेको सेलरोटीको बासनाले तानिहाल्यो। चियाको आदेश गर्दै गर्दा दूधले भरिएको कुँडे लिएर एउटी महिला भित्र पसिन्। के चाहियो र? त्यो तर लागेको भैँसीको दुध नखाई भएन भतिज नवीनलाई। चिया र सेल छोडेर ऊ दूधको पछि लाग्यो। हामी दुईजनाले भने सेलसँग चिया पियौँ।

नानीदेखि लागेको बानी र आमाले जिब्रोमा चखाएको स्वाद जीवनपर्यन्त नजाने रहेछ। दूध, सेलरोटी, मालपुवा, कसार, झर, फिनी, देखेपछि छोड्न नसक्ने। सायद यही होला संस्कृति भनेको? आफ्नो परिवेश आफ्नै स्वाद।

त्यस्तै भयो पनि। चिया खाएर केहीबेर उकालो चढेपछि बारीको कान्लामा ऐँसेलुको झ्याङ देखियो। हामीभन्दा अगाडि हिँडेका पदयात्री त्यसमा झुम्मिएको देख्यौँ। बाटोको किनाराको बोटमा लागेका ऐँसेलु दाना सकिएका थिए। अलि माथि कान्लाहरू चढेर हेर्दा देखियो ऐँसेलुको लहरै झ्याङ। लटरम्मे फलेका पहेँलपुर दाना। महमा झिँगा भन्केको जसरी हामीहरू झ्याङमा टाँसियौँ।

यसरी ऐँसेलुसँगको मितेरी त यौवनकालमा गाईवस्तु लिएर गोठालो जाँदा गरियो। त्यसको झझल्को मेट्ने गरी ऐँसेलु खाइयो। यसका काँडाले चिथोरेर हातलाई छियाछिया बनाउँदा पनि पर्वाह गरिएन। फल खानु छ भने काँडासँग डराएर भागेर हुँदैन। त्यसका लागि परिश्रम त गर्नैपर्‍यो। अलिअलि काँडाको रोष सहन गर्नेपर्‍यो र गरियो।

ऐँसेलु देखेर अनियन्त्रित मनोवेगलाई अञ्जुलीभरिको फललाई मुखमा राखेर तृप्ति लिइयो। आनन्दको कुनै परिभाषा र मापन हुँदैन। हो त्यही आनन्दको अनुभूति गरियो ऐंसेलुको स्वादमा र काँडाको घोचाइमा। वसन्त ऋतुले दिने यो अपरिमेय फलको आनन्द केही दिनपछि पदयात्रामा निस्किएको भए पाइने थिएन। अबको केही हप्तासम्म रहला यो फल वनको पाखामा त्यसपछि यसले चोला फेर्नेछ। वैशाख महिनामा अब अर्को फल काफलको स्वाद लिन पनि यसैगरी बन चहार्नुपर्नेछ।

पृथ्वी दिवसको २ दिनअघि अर्थात् २० अप्रिलको दिन यो पदयात्रीको जन्मदिन पनि परेको थियो। जन्मदिनको उत्सवलाई जंगलको स्वच्छ हावासँग साटेर मनाउन पाउने लालसाले काठमाडाैँको काँठ, शिवपुरी राष्ट्रिय निकुञ्जको घना जंगलभित्रको पञ्छीहरूको चिरबिर सुनेर रमाउने, देवाधिदेव महादेवको दर्शन पनि गर्ने उद्देश्यले झोला भिरेर उकालो लागेको ऐँसेलुको स्वादमा भुलेर निकै बेर रमाएँ। वसन्त ऋतुमा गुञ्जने कोइलीको कोकिल कण्ठी आवाजले वनै आनन्दमय बनाउँछ। एक हिसावले प्राकृतिक योगसाधनाको अनन्त स्रोतभित्र लीन गराउँछ। कोइलीको आवाजले मुग्ध भएँ।

ऐँसेलुको बुटाबाट निवृत्त भएर अगाडि बढ्दै थियौँ। एउटा सानो चौर देखियो। यो सम्भवतः वनभोज स्थल हुनुपर्छ। प्रयोगपछि जताततै फालिएका असरल्ल प्लास्टिकका बोतल तथा झोलाले प्रदूषित बनाएको थियो। मानिसको अज्ञानताले मात्र होइन दिमाग प्रदूषित भयो भने ऊ बस्ने स्थान र वातावरण नै पनि प्रदूषित बनाउने रहेछ।

यहाँको दुर्गन्धित अवस्था देख्दा त्यस्तै निष्कर्षमा पुगेँ म। यहाँ वनभोज गर्न वा प्राकृतिक रमणीयतामा रमाउन आउनेहरू वयस्क पढालेखा युवकयुवती आर्थिक रूपमा पनि सबल परिवारका सदस्य हुन्। आफ्नो स्वास्थ्यका लागि बोतलको पानी पिउनुपर्छ भनेर जान्नेहरूले सचेत मानिसहरूले पर्यावरणको स्वास्थ्य र सुन्दरताका लागि फोहर गर्न हुँदैन भनेर नजानेका होलान् र? फोहरको ढंगुरलाई पछि छोडेर हामी अगाडि हिँड्यौँ।

डाँडाको शिरैशिर हिँडेर गएपछि पाँचमाने भञ्ज्याङ पुगिन्छ। बालाजुबाट सवारीसाधनमा गए पनि पुगिन्छ पाँचमाने भञ्ज्याङ। पाँचमाने भञ्ज्याङ बुद्धमार्गीका लागि धार्मिक स्थल पनि हो। यहाँ पाँचवटा मानेहरूको स्थापना गरिएकाले यस ठाउँको नाम पाँचमाने भञ्ज्याङ भएको हो। भूस्खलनका कारण दुईवटा माने भत्किएर गएपछि अहिले यहाँ तीनवटा माने अस्तित्वमा छन्।

एउटा माने भत्किएको ठाउँमा बुद्ध प्रतिमा स्थापना गरिएको छ। बाँकी तीनवटा माने सुन्दर छन् र तिनीहरू संरक्षित अवस्था छन्। यहाँको माने अन्यत्र स्थापना गरिएका औसत मानेभन्दा भिन्न र विशेष महत्त्वका देखिन्छन्। यी स्थापित मानेहरूको अवस्था, निर्माण र सौन्दर्य हेर्दा बौद्ध धर्ममा उच्चसम्मान प्राप्त धर्मगुरुहरूको समाधिस्थल हो कि भन्ने लाग्छ। यस्तो महत्त्वपूर्ण स्थानमा रहेको धार्मिक संरचनाहरूको जीर्णोद्वार तथा बुद्ध प्रतिमाको स्थापना ज्ञानमाला भजन खलःले गरेको रहेछ। हामी पुग्दा तुलाधर समुदायका मानिस धार्मिक अनुष्ठानमा व्यस्त थिए।

पाँचमाने भञ्ज्याङदेखि तारकेश्वरसम्म झण्डै डेढ किलोमिटर लामो मिनि हाइकिङ ट्रेल निर्माण गरिएको छ। भञ्ज्याङदेखि माथि बिस्तारै उकालो सुरु हुन्छ र जंगलको बाटो हुँदै हिँड्नुपर्छ। धार्मिक स्थलको मार्ग भएको हुँदा पदयात्री र तीर्थयात्री सराबरी भेटिन्छन् बाटोमा। चराको चिरबिर र सल्लाको सुसेलीले वातावरण रमणीय र शान्त छ। हिँड्दै जाँदा पदयात्राको रोमाञ्चकता पनि बढ्दै जान्छ।

सामान्य पदयात्राको मूलबाटो छोडेर ठाडो उकालो लाग्नुपर्छ तारकेश्वर मन्दिर पुग्न। स्टिलको रेलिङसहित सिमेन्टेड सिँढी चढेर अक्कर भिरमा बसेका छन् तारकेश्वर महादेव। यहाँका महादेवले भक्तले मागेको वर पूरा गरिदिन्छन् भन्ने विश्वास गरिन्छ। यही विश्वासका आधारमा आफ्ना अपूर्ण कामना सिद्धिका लागि गुहार लगाउन पुग्छन् भक्तहरू। भक्तहरूकै लाइनमा बसेर ठूलो स्वर गरेर मैले पनि बर मागे, ‘हे भगवान्, देवाधिदेव, मलाई यो नेपाल भन्ने देशको शक्तिशाली मन्त्री बनाइदेऊ।’

मेरो छेवैमा बसेकी महिलाले पुलुक्क मुखमा हेरेर भनिन्, ‘कस्तो वर मागेको होला? मन्त्री पनि नेपालको रे।’ ‘किन र पर्‍यो त्यस्तो?’ मैले भनेँ। ‘ह्या, मन्त्री पनि महादेवले दिने हुन् र प्रधानमन्त्रीको चाकरीमा जान छोडेर यहाँ आएर मागेर पाइन्छ’, उनले भनिन्। ‘म त नेपालको मन्त्री, प्रधानमन्त्री नहुने, सबैले गाली मात्र गर्छन्’, फेरि थपिन्। संवाद रमाइलो थियो। त्यो पनि मन्दिरको सिँढीमा बसेर। महादेवले पनि सुने होलान्। यी सर्वव्यापीलाई नेपालको स्थिति जानकारी नहुने कुरै भएन र हाम्रो संवाद पनि। फेरि पनि यी महादेव गम खाएर भन्दा हुन्,‘पहिलापहिला त हरहर महादेव पानी देऊ भन्थे, अहिले त मन्त्री देऊ भन्न थालेछन् नेपालीले।’

तारकेश्वरको दर्शन गरेर हामी गुर्जेभञ्ज्याङको बाटो लाग्यौँ। गुराँसको फूल अझै बाँकी रहेछ जंगलमा। पदयात्राको बाटो राम्रो छ। जंगलको एकान्त र शान्त वातावरणमा पन्छीको कलरव ध्वनि सुनेर हिँड्दा अतिसय आनन्द आउँछ। कतै उकालो कतै तरपाइन परेको बाटो हिँड्दा झण्डै दुई हजार मिटरको पहाड चढिन्छ।

मध्यम स्तरको यो पदयात्रा परिवारका सदस्यसमेत लिएर हिँड्न सकिने किसिमको छ। तारकेश्वरदेखि गुर्जेसम्म अलि धेरै हिँड्नुपर्छ। तीनपिप्लेदेखि गुर्जेभन्ज्याङसम्म १३ किलोमिटरको पदयात्रा हुन्छ। गुर्जेभञ्ज्याङबाट जगतसम्म आई बस चढेर समाखुसी आयौँ।

प्रकाशित: १५ वैशाख २०८१ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =