लोकतन्त्र र सामाजिक न्यायसँगै नीतिगत स्पष्टता भए लगानी भित्रने छ : अमेरिकी राजदूत

हिमाल प्रेस १५ वैशाख २०८१ १९:२७
10
SHARES
लोकतन्त्र र सामाजिक न्यायसँगै नीतिगत स्पष्टता भए लगानी भित्रने छ : अमेरिकी राजदूत

काठमाडौँ- नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नीतिगत स्थिरता नभै कुनै पनि मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताएका छन्। लगानी सम्मेलनको एक दिन अघि नेपाल सरकारलाई सुझाउँदै उनले भने,‘नीतिगत स्थिरता पहिलो प्राथमिकतामा हुनुपर्छ।’

अमेरिकी चेम्बर अफ कमर्श नेपालको आयोजना गरेको ‘नेपाल-यूएस व्यावासयिक सम्बन्ध अभिवृद्धि’ विषयक अन्तरक्रियामा उनले नेपालले स्वदेशी वा विदेशी लगानी बढाउने हो भने नीतिमा स्पष्टता ल्याउन जरुरी रहेको प्रष्ट पारे। असहजतामा कोही पनि लगानी गर्न नआउने भन्दै त्यसको सहजतामा ध्यान दिन पनि उनले आग्रह गरे।

उनले आर्थिक समृद्धिका लागि पारदर्शी, स्थिर र अनुमानयोग्य नीति आवश्यक रहेकाले सरकारले त्यसमा ध्यान दिनुपर्ने बताए। ‘अमेरिका र नेपालबीच लामो समयदेखि सम्बन्ध रहिआएको छ, अमेरिका नेपालले समृद्ध लोकतन्त्र, आर्थिक वृद्धि तथा विकास र मानवअधिकार, सामाजिक न्यायका क्षेत्रमा प्रगति गरेको हेर्न चाहन्छ,’ उनले भने, ‘लोकतन्त्र र सामाजिक न्याय भयो भने आर्थिक समृद्धि हासिल गर्न सकिन्छ।’

राजदूत थम्पसनले पछिल्लो समय अमेरिकी सरकारले विद्युतीय प्रसारण लाइन, सडकलगायतका पूर्वाधार क्षेत्रमा लगानीका साथै महिलाद्वारा सञ्चालित साना उद्यममा पनि सहयोग गरिरहेको जानकारी दिए।

युएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष अतुल केशपले नेपालमा भोलिदेखि सुरु हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित यसप्रकारको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह हुने बताए। नेपालमा डिजिटल अर्थतन्त्र, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना भएको भन्दै यी क्षेत्रको विकासबाटै मुलुकमा समृद्धि हासिल हुने उनको जिकिर थियो।

‘अहिले नेपालमा भित्रने कुल प्रत्यक्ष विदेशी लगानीमा अमेरिकी लगानी तीन प्रतिशतमात्रै छ,लगानीमैत्री वातावरण र नीति हुने हो भने आगामी दिनमा यसलाई बढाउन सकिनेछ,’ उनले भने।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक निर्मलकाजी श्रेष्ठले नेपाल लगानीको ठूलो सम्भावना भएको बताए। ‘नेपाल लगानीको सम्भावना भएको मुलुक हो, हाम्रो अहिलेको प्राथमिकता हालको लगानीलाई दिगो बनाउने र आगामी दिनमा अमेरिकी लगानी बढाउनु हो,’ उनले भने। युएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशपले अमेरिकी चेम्बर अफ कमर्श नेपाललाई छोटो समयमा मान्यता दिलाउन गरेको प्रयासबारे पनि जानकारी दिए।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएड नेपालका मिसन निमित्त निर्देशक करिन वेल्चले आफूहरूले सरकारी र निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न काम गरिरहेको जानकारी दिए। नेपालको आर्थिक विकासका लागि युएसएडले पर्यटन, सूचना प्रविधि, कृषि र क्लिन इनर्जीका क्षेत्रमा युएसएडले काम गरिरहेको बताए।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण एसिया क्षेत्रीय मामिलाका निर्देशक सेमास विसेलले आर्थिक समृद्धि भयो भने राष्ट्रिय सुरक्षा बलियो हुने बताए। उक्त अवसरमा अमेरिकी चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम) र अमेरिकी वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार प्रशासनबीच अमेरिकी व्यापार र लगानी रणनीतिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत भएको थियो । जसमा एमच्यामका तर्फबाट अध्यक्ष निर्मलकाजी श्रेष्ठ र अन्तर्राष्ट्रिय व्यापार प्रशासनका तर्फबाट उद्योग र विश्लेषणसम्बन्धी प्रमुख उपसहायकमन्त्री हेदर हेमले हस्ताक्षर गरेका थिए।

प्रकाशित: १५ वैशाख २०८१ १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =