घुमन्ते राजदूत थम्पसन, ६ महिनामा सातै प्रदेश

चन्द्रशेखर अधिकारी २७ जेठ २०८० १६:२१
94
SHARES
घुमन्ते राजदूत थम्पसन, ६ महिनामा सातै प्रदेश जानकी मन्दिर परिसरमा पत्नीका साथ नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन। तस्बिर स्रोत : अमेरिकी दूतावास

पश्चिमाहरू घुम्न रुचाउँछन्। मेहनत गरी कमाएर रकम जम्मा गरी विश्वका विभिन्न कुनाकाप्चामा पुग्नु उनीहरूको सोख हो। कतिपयले उनीहरू अन्य देश र समाजको सुराकी गर्न भ्रमणमा निस्कन्छन् भनेर आरोप लगाउने गरेको पाइन्छ। तर त्यो सत्य होइन। संसारका धेरैजसो ठाउँमा पर्यटकका रूपमा उनीहरूको उपस्थिति बाक्लै देखिन्छ।

पुस्तकमा पढेर जानकारी लिँदा भन्दा प्रत्यक्ष घुम्दाको ज्ञान बढी यथार्थ हुन्छ। यस्तो मामिलामा पश्चिमाहरू बढी नै सजग छन्। सामान्य नागरिक मात्रै होइन, नेपालमा आएका पश्चिमा कूटनीतिज्ञहरू पनि विभिन्न कुनाकाप्चामा पुगेका हुन्छन्। नयाँ ठाउँमा भ्रमण गरेर आनन्द लिनु पश्चिमाको विशेषता हो।

कतिपय विदेशी राजदूतको ट्विटर बायोमा रुचिको विषयमा भ्रमण पनि राखिएको हुन्छ। भ्रमणमा रुचि राख्नेमध्येका एक हुन् नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन। छ महिना अवधिमा सातै प्रदेश घुमेर राजदूत थम्पसनले हिमाल, पहाड र तराईको भूगोल, जनजीवन र संस्कृतिसँग नजिकको साइनो गाँस्न सफल भएका छन्।

२०२२ अक्टोबर २ मा राजदूत र्‍यान्डीबेरी कार्यकाल सकेर फर्किएको दुई सातापछि नेपाल आएका हुन् थम्पसन। अक्टोबर २१ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि थम्पसन नेपाल- अमेरिका सम्बन्ध र सहकार्यको छलफलमा जुटे। उच्चस्तरको राजनीतिक भेटघाटमा सहकार्य बढाउने विषयमा कुराकानी गरेका थिए। नेपाल-अमेरिकाबीच सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा सम्बन्धलाई थप उचाइतर्फ लैजानुपर्ने चासो उनको देखिन्छ।

राजदूत थम्पसनले कार्यभार सम्हालेलगत्तै भिडियो सन्देशमा भनेका थिए, ‘म राजदूतका रूपमा नेपाल आउन पाउँदा निकै खुसी छु। हामी घरभित्र बसिरहनभन्दा बाहिर घुम्न रुचाउँछौँ। हामी हिँडिरहेका हुनेछौँ। यहाँका राम्रा गोरेटाहरू पछ्याउनेछौँ। न्यानो सम्बन्धलाई विस्तार गर्ने र ७५ वर्ष लामो सम्बन्धलाई थप उचाइमा पुर्‍याउन लागिपर्नेछौँ।’ उनले नेपालका विभिन्न क्षेत्रका स्थानीय समुदायसँग भेट्ने र अमेरिका र नेपालका महत्त्वपूर्ण मुद्दाबारे छलफल गर्ने लक्ष्य लिएका थिए।

सोही लक्ष्य लिएर भ्रमणमा निस्किएका राजदूत थम्पसनले मे पहिलो साता सुदूरपश्चिम प्रदेश भ्रमण गरेर सातै प्रदेशको एकसरो भ्रमण समापन गरेका छन्। काठमाडौँ आएलगत्तै उपत्यकाका स्वयम्भू, बौद्धनाथ, पाटन दरबार क्षेत्रको भ्रमण गरेका राजदूत थम्पसनले यहाँको नेवारी परिकार उत्तिकै मन पराएका छन्। सम्पदा पुनर्निर्माणमा उनको गम्भीर चासो देखिन्छ। हनुमानढोका दरबार क्षेत्रका केही पुरातात्त्विक सम्पदा र वसन्तपुरको गद्दी बैठक भवन अमेरिकी सहयोगमा मर्मत भएका हुन्। ती सम्पदा निर्माण प्रक्रियाबारे थम्पसनले सूक्ष्म अवलोकन गरेका छन्।

थम्पसन तिहारको रमझममा रमाए नेपाली जनमानससँग नजिक हुन थालेका हुन्। उनले दीपावली गरे। कुकुर तिहारमा कुुुकुरको पूजा गरेर नेपाली संस्कृतिमा जोडिए। माघे संक्रान्ति होस् या फागुमा पनि राजदूत थम्पसनको सहभागिता कुनै नेपाली नागरिकको भन्दा कम थिएन। उनी विभिन्न मन्दिरमा पुग्दा टीका ग्रहण गर्छन्। मन्दिरको दर्शन गरेर माला लगाएर पतिपत्नीकै तस्बिर ट्विटरमा पोस्ट गरेका छन् उनले।

पोखरा भ्रमणका क्रममा राजदूत थम्पसन। तस्बिर स्रोत : अमेरिकी दूतावास

राजदूत दम्पतीले प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचन र उपनिर्वाचन नजिकबाट अवलोकन गरे। लोकतान्त्रिक अभ्यास गरिरहेको मुलुकका सचेत नागरिक भएकाले थम्पसनले यहाँको चुनावी प्रक्रियामा चासो लिनु स्वाभाविकै हो।

कूटनीतिसँगै रक्षा मामिलामा पनि दख्खल राख्ने राजदूत थम्पसनले नेपालको लोकतन्त्र संस्थागत हुँदै गएको र यो समयमा केही तलमाथि हुनु स्वाभाविक भएको पनि सुनाएका छन्। आमनागरिकको जनचाहना चुलिएको तर लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्दा केही समय लागे पनि दिगो हुने सन्देश उनले प्रवाह गरिरहेका छन्।

निर्वाचन सकिएपछि प्रदेशयात्रामा निस्किएका उनले सबै प्रदेशको एकसरो भ्रमण सकेका छन्। सबै प्रदेश पुगेर त्यहाँका सामाजिक र सांस्कृतिक विशेषतासँग घुलमिल भए। जहाँजहाँ गए, त्यहाँ पुगेर विभिन्न जाति, भाषा र संस्कृतिका समुदायका नेपालीसँग संवाद गरे।

थम्पसन जहाँ पुग्छन्, त्यहाँका बारेमा आफ्नै शैलीमा बोल्छन् र ती परिवेश समेटेर उनी स्टाटस लेख्छन्। उनले पोस्ट गरेका भिडियो हजारौँले हेरेका छन्। अनि नेपाल आउन चाहनेका लागि आकर्षक विषय हुन सक्छन्। जसले गर्दा नेपालको पर्यटनमा समेत टेवा मिलेको छ। तिनै राजदूतका कारण कैयौँ विदेशीले नेपाललाई घुम्न आउने सूचीमा पारेका हुन सक्छन।

राजदूत थम्पसनले कतै अमेरिकी सहयोग नियोग यूएसआईडीमार्फत त कतै आफ्नो निजी भ्रमण शैलीमा प्रदेश पुगेर नेपालीको अवस्था बुझेका छन्। उनले किसानलाई परेको मर्काका बारेमा बोलेका छन्। युक्रेन युद्धको प्रभाव नेपालका किसानसम्म आएको भन्दै बिस्तारै अवस्था परिवर्तन हुने आश्वासन दिएका छन्।

सुदूरपश्चिम भ्रमणका क्रममा राजदूत थम्पसनले किसान, वैदेशिक रोजगारीबाट फर्केका, स्थानीय नेतृत्वकर्ता र समुदायको आर्थिक र दिगो विकासमा योगदान पुर्याइरहेका व्यक्तिहरूसँग भेटघाट गरेका थिए। त्यस क्रममा उनले वन संरक्षण, मानव बेचबिखनविरुद्ध लड्न, प्रदेशमा रोजगारीको अवस्था र अवसर सुधार गर्नका लागि अमेरिकाले नेपालसँग साझेदारी गर्न जारी राख्ने जस्ता विषयमा छलफल गरे।

राजदूत थम्पसनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गरेर कृष्णसार संरक्षणमा भइरहेको प्रयासबारे अवलोकन गरे। यूएसएआईडी नेपालकी निर्देशक सेपिडे केभन्साडका साथ निकुञ्ज अवलोकनमा पुगेका राजदूतले जैविक विविधताको अवलोकन गरेका थिए भने कृष्णसार संरक्षणमा सहयोग पुर्‍याउने वचन दिएर फर्किएका थिए।

थम्पसन २०२३ अप्रिल ३० मा ‘फेरि भेटाँैला पोखरा’ भनेर पोखरा भ्रमण गरी बिदा भएका थिए। चार दिन पोखरामा बस्दा राजदूत थम्पसनले जलवायु संरक्षण, दिगो पर्यटन र उद्यमशीलताका लागि अमेरिकी सहयोगको वचन दोहोर्याएका थिए।

विराटनगरका मुसलमान सुमदायसँग राजदूत थम्पसन। तस्बिर स्रोत : अमेरिकी दूतावास

कार्यक्रमका पूर्वसहभागीसँग भेट्न र अमेरिकन कर्नरमा स्क्र्याबल खेल्न पाउँदा उनी खुसी भएका देखिन्थे। भ्रमणका क्रममा उनले पोखराको पर्यटन प्रवद्र्धनमा सामना गर्ने चुनौती र अवसरबारे थप जान्न स्थानीय व्यापारी तथा पर्यटन क्षेत्रका सदस्यहरूसँग भेटघाट गरे। थम्पसनले केबलकारमा सराङकोट पुगेर अन्नपूर्ण र माछापुच्छ्रेको मनोरम दृश्य हेरेर आनन्द लिएका थिए।

फेवा किनारमा बसेर बियरको चुस्की लगाएर पर्यटन चरित्रलाई उजागर गरे। पोखराको एउटा कार्यक्रममा आफैँ सञ्चालक भएर त्यहाँको मनमोहक दृश्यको वर्णन गरे। पोखराको बेगनास तालमा रमाइरहेको तस्बिर त उनको ट्विटरमै देख्न सकिन्छ।

मार्च ३१ मा जनकपुरमा पुगेका राजदूत थम्पसनले त्यहाँ तीन दिन बिताए। त्यस क्रममा उनी स्थानीय अधिकारी, अमेरिकी सरकारका कार्यक्रमका पूर्वसहभागी र विकास गैससहरूका प्रतिनधिसँग भेटी स्थानीयका लगि सबैभन्दा बढी महत्त्व राख्ने मुद्दाहरूमा अमेरिकी सहयोगबारे कुराकानी गरेका थिए। बालविवाह र दाइजो प्रथाबाट किशोरीको बाल्यकाल, स्वास्थ्य र शिक्षामाथि विनाशकारी प्रभाव पर्ने उनको भनाइ थियो।

राजदूत थम्पसनले बालविवाह र दाइजो प्रथा अन्त्य गर्न सक्रिय किशोरीहरूको स्थानीय क्लब र गैरसरकारी संस्थाहरूसँग भेटघाट गरे। उनीहरूको अभियानमा अमेरिकी सरकारले कसरी सहयोग जारी राख्न सक्छ भन्ने विषयमा पनि कुराकानी भएको थियो। राजदूतले मधेशका सडकमा खाजा र पानीपुरी खाए। जानकी मन्दिरमा पूजाअर्चना गरेर टीका लगाए।

डिसेम्बर १२ मा सुर्खेत पुगेका राजदूत थम्पसनले स्थानीय खानाको स्वाद लिए। उनले त्यहाँका नागरिकसँग वैदेशिक रोजगारीबारे चासो दिएका थिए। नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूका कारण समुदायमा प्रभाव परेको उनको भनाइ थियो।

विदेश जानुभन्दा स्वदेशमै बसेर काम गर्न उनले आग्रह गरेका थिए। स्वदेशमै काम गर्नका लागि प्रोत्साहनस्वरूप अमेरिकी सहयोग नियोग यूएसएआईडले सहयोग गरिरहेको उनले बताए। राजदूत थम्पसनले स्थानीय समुदायसँग साझेदारी गरी नेपालमा आर्थिक वृद्धिका उपाय खोज्ने प्रयास रहने आश्वासन दिए।

उनले भनेका थिए, ‘यूएसएआईडीले किसानलाई विभिन्न कार्यक्रममार्फत उत्पादकत्व बढाउन र वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई कृषि मेसिनरी खरिद गर्न वित्तीय सहयोग गर्नेछ।’ काँक्रे विहार पुगेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

फेब्रुअरीमा विराटनगर पुगेका राजदूत थम्पसनले स्थानीय सरकारी अधिकारीहरू र व्यवसायीहरूसँग भेट गरेर अमेरिका(नेपाल साझेदारीको बारेमा छलफल गर्नका थिए। यस्तै मानव बेचबिखन अन्त्य गर्न निरन्तर सक्रिय अभियन्ताहरूसँग पनि उनले भेटघाट गरेका थिए। साथै त्यहाँ केन्द्रीय मस्जिदको भ्रमण गरेर नेपालको धार्मिक विविधतालाई नजिकबाट अनुभव गरेका थिए। कोशी प्रदेशकै सगरमाथा क्षेत्रमा राजदूत थम्पसन दुईपटक पुगे।

थम्पसन डिसेम्बर दोस्रो साता उपत्यका बाहिरको पहिलो भ्रमणका क्रममा बाँके र बर्दियाको थारू बस्तीमा पुगेका थिए। त्यहाँ उनले महिला कृषक, सामुदायिक स्वास्थ्य स्वयंसेवक, युवा अगुवा, पारलैङ्गिक अभियन्ता र मानव बेचबिखनका विरुद्ध कार्यरत नागरिक समाजसँग भेटघाट गरेका थिए। उनले भेरी-बबई सुरुङ आयोजनामा पुगी त्यहाँको प्रगतिबारे जानकारी लिँदै आयोजनाको प्रभावबारे कामदार तथा स्थानीय समुदायसँग कुराकानी गरेका थिए।

सुर्खेतका माओवादी द्वन्द्वपीडितसँग राजदूत थम्पसन। तस्बिर स्रोत : अमेरिकी दूतावास

उनी मधेश प्रदेशमा अलिक समय दिएको देखियो। त्यसपछि उनले समय दिएको गण्डकी र सुदूरपश्चिम हो। काठमाडौँबाहिरको भ्रमणमा जाँदा उनी कतै विद्यार्थीसँग ‘हट पोटेटो’ खेलिरहेका देखिन्छन्। कतै विद्यार्थीको पढाइको स्तर परीक्षण गरिरहेका भेटिन्छन्। अनि कतै राजनीतिक दलका नेताकार्यकर्तासँग त कतै आमनागरिकसँग भलाकुसारी गरिरहेका भेटिन्छन्। उनले कोशीदेखि सुदूरपश्चिमसम्मको यात्रा वर्णन ट्विटरमा लेखेका छन्।

काठमाडौँमा पनि सक्रिय छन् राजदूत थम्पसन। कहिले आफ्नो प्रतिस्पर्धी मुलुक चीनका राजदूतलाई भेटिरहेका हुन्छन्। कहिले साइकलमा निष्फिक्री गुडिरहेका हुन्छन्। युथ क्लबदेखि पूर्वराजदूतको समूहसम्मका कार्यक्रममा उनी आफ्ना कुरा सुनाउन पुग्छन्। नेपाल र अमेरिकाको सम्बन्धलाई ट्र्याकमा ल्याउने र नेपालमा अमेरिकाको देखिने गरी हुने सहयोग आगामी दिनमा बढ्न सक्ने संकेत उनले गरेका छन्।

विधिको शासन, श्रमको सम्मान र सद्भावपूर्ण सहअस्तित्व अमेरिकी समृद्धिका जग मानिन्छन्। राजदूत थम्पसनले नेपालमा रहँदा यी तीन कुरालाई मूल मन्त्र मानेको देखिन्छ। उनी जहाँ पुग्छन् त्यहाँ विधिको शासन कायम गराउन प्रेरित गर्छन्। किसानको बारीमै पुगेर श्रमको सम्मान गर्छन्। अनि मन्दिर, गुम्बा, मस्जिद जहाँ पुग्छन्, त्यहाँ पनि आफूलाई राम्ररी घुलमिल गराएर सहअस्तित्व प्रदर्शन गर्छन्। सुर्खेतको काँक्रेविहार, जनकपुरको जानकी मन्दिर, विराटनगरको केन्द्रीय मस्जिद र काठमाडौँको स्वयम्भूनाथमा उनले देखाएको श्रद्धाले यही संकेत गर्छ।

प्रकाशित: २७ जेठ २०८० १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =