डीआईजी बढुवा : सिनियरलाई पन्छाएर जुनियर एसएसपीद्वय कार्की र केसी अघि सार्दै गृहमन्त्री लामिछाने

सन्तोष अधिकारी १२ वैशाख २०८१ १५:१९
3.1k
SHARES
डीआईजी बढुवा : सिनियरलाई पन्छाएर जुनियर एसएसपीद्वय कार्की र केसी अघि सार्दै गृहमन्त्री लामिछाने

काठमाडौँ- नेपाल प्रहरीमा तीन प्रहरी नायब महानिरीक्षक (डीइआईजी) पद रिक्त छ। डीआईजीहरू उमेरहदका कारण अवकाशमा गएपछि रिक्त पदका लागि प्रहरी महानिरीक्षक (आईजीपी) कै ब्याचीहरू प्रतिस्पर्धामा छन्।

बढुवाको सूचीमा एसएसपीहरू भोलाबहादुर रावल, ध्रुवराज राउत, गणेश चन्द र कृष्णहरि शर्मा पोखरेल छन्। रावल, राउत र चन्द आईजीपी वसन्तबहादुर कुँवरसँगै २०५१ साल चैत ५ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्।

उनीहरूसँगै प्रतिस्पर्धामा रहेका र बढुवाको सूचीमा पहिलो नम्बरमा रहेका पोखरेल भने कठिष्ठ (जुनियर) हुन्। पोखरेल २०५२ साल साउन २७ गते प्रहरी सेवामा प्रवेश गरेका थिए।

बढुवाको सूचीको पाँच नम्बरमा सिद्धिविक्रम शाह, ६ नम्बरमा सुशीलसिंह राठौर र सात नम्बरमा उमाप्रसाद चतुर्वेदी छन्। यी सबै राष्ट्रिय अनुसन्धान विभागबाट आएका प्रहरी अधिकारी हुन्।

आईजीपीकै ब्याचमेट हाल एसएसपी रहेकाहरू डीआईजी बन्ने दौडमा रहँदा २०५४ साल चैत १८ मा प्रहरी सेवामा प्रवेश गरेकाहरूलाई डीआईजी बनाउन गृहमन्त्री रवि लामिछानेको जोडबल रहेको एक प्रहरी अधिकारीले बताए। लामिछानेले डीआईजी बनाउन जोड गरेकाहरूमा एसएसपी दानबहादुर कार्की र एसएसपी डा. मनोज केसी छन्।  कार्की र केसीलाई बढुवा गर्नकै लागि गृहमन्त्री लामिछानेले प्रहरीको नेतृत्व विकास गर्न दुवै जना सक्षम रहेको अभिव्यक्ति दिइरहेका छन्।

बढुवाका क्रममा भएकाभन्दा तीन वर्ष प्रहरी सेवामा प्रवेश गरेकालाई अघि सार्न खोजिएपछि प्रहरी उच्च अधिकारीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। ‘आफूभन्दा तीन ब्याच कनिष्ठ र बढुवामा पनि पछि रहेकालाई हाकिम बनाउँदा प्रहरीभित्र कस्तो सन्देश जाला? ‘ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले प्रश्न गरे, ‘प्रहरीमा त्यसै त भर्ती भएकालाई टिकाउन सकिएको छैन। अझै बढुवामा यसरी हेपियो भने अवस्था के होला?’

एसएसपी केसीले उपत्यका अपराध अनुसन्धान कार्यालयमा हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल फुकाएका थिए।  काठमाडौँ प्रहरी प्रमुख रहेका अर्का एसएसपी कार्कीले यही मुद्दाको विस्तृत अनुसन्धान गरेर यो प्रकरणको मुख्य अभिव्यक्ति सानु भण्डारी, केशव दुलाललगायतलाई पक्राउ गर्ने कामको नेतृत्व गरेका थिए।

प्रकाशित: १२ वैशाख २०८१ १५:१९

प्रतिक्रिया

One thought on “डीआईजी बढुवा : सिनियरलाई पन्छाएर जुनियर एसएसपीद्वय कार्की र केसी अघि सार्दै गृहमन्त्री लामिछाने

  1. उनीहरू राम्रा अफिसर (दान र मनोज) हुन्, तर वरिष्ठता कायम राख्नु पर्छ ।
    १. दानबहादुर कार्कीले राहदानी मुद्दामा रवि लामिछानेलाई सहयोग गरे ।
    २. मनोज केसीलाई प्रमोशनको लागि पुस्कर कार्कीले सल्लाह दिएका थिए। पुस्कर कार्की रविका सल्लाहकार हुन् । मनोज केसी पनि पुस्कर कार्कीका पारिवारिक नातेदार हुन्।

    रवि बामदेव गौतम बन्न खोज्दै छन यदि यसरी अगाडि बढ्यो भने विषाक्त हुन सक्छ । एसपी, डीएसपी बढुवा बिवादित भए रवि ।उनले केही राम्रा काम पनि गरेका छन् भन्नेमा कुनै शंका छैन । प्रहरीमा राजनीति नगरौं, रवि दाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =