कर्णालीमा चाडबाड लक्षित पाँच हजार प्रहरी परिचालन गरिने

हिमाल प्रेस २३ असोज २०८३ ६:३६ | Friday, October 9, 2026
8
SHARES
कर्णालीमा चाडबाड लक्षित पाँच हजार प्रहरी परिचालन गरिने

सुर्खेत- कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गरेर पाँच हजार प्रहरी परिचालन गरिने भएको छ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका दशवटै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय तथा सुदृढ बनाउन पाँच हजार ३१४ प्रहरी परिचालन गर्ने भएको हो।

सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आमनागरिकको जनजीवनलाई सुरक्षित तथा भयमुक्त तुल्याउने उद्देश्यले जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना, २०८३ तयार गरिएको छ।

यही असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि उक्त योजना लागू गरिने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए।

उनले भने,‘सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश प्रहरी तथा मातहतका प्रहरी कार्यालयसमेत गरी पाँच हजार ३१४ प्रहरी खटाइनेछ। त्यसमा मोबाइल गस्ती २८, मोटरसाइकल गस्ती ९८, द्रुतप्रतिकार्य टोली ६०, पैदल गस्ती १४८, लामो तथा छोटो दूरीका गस्ती २०४ हुनेछन्।’

त्यस्तै, विशेष, नियमित तथा आकस्मिक चेकिङ ६७, ट्राफिकसहितको संयुक्त चेकिङ ४७, महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीयस्थलमा ३८, यात्रु तथा नागरिक सहायता कक्ष ३७, बैंक तथा वित्तीय सङ्घसंस्था, सुरक्षा तथा बजार अनुगमन ३१, विशिष्ट व्यक्तिको सुरुक्षा १०, माइकिङ प्रचारप्रसार ३४ र अन्य ड्युटी गरी ४९४ स्थानमा प्रहरी परिचालित हुने प्रहरी नायब महानिरीक्षक सापकोटाले बताए।

चाडपर्वका नाममा हुनसक्ने अवाञ्छित तथा आपराधिक क्रियाकलापको रोकथाम एवं नियन्त्रण गरी नागरिकले सुरक्षित र हर्षोल्लाससाथ चाडपर्व मनाउने वातावरण सृजना गर्ने मुख्य उद्देश्य रहेको उनले बताए।

सार्वजनिकस्थल, मेलापर्वमा हुने झैझगडा, हुलदङ्गा, बजारको कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि, ठगीका घटनालाई पूर्ण रूपले नियन्त्रण गर्ने र सवारी दुर्घटनालाई न्यूनीकरण गरिने उनको भनाइ छ।

प्रकाशित: २३ असोज २०८३ ६:३६ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast