लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्मा नियुक्त

हिमाल प्रेस १ कार्तिक २०८३ ९:११ | Sunday, October 18, 2026
लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ– लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा यही असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम आनीलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष पदको जिम्मेवारी दिइएको हो। यस पदको अवधि पाँच वर्षको हुनेछ।

लुम्बिनी विकास कोष पदाधिकारीसम्बन्धी विनियमावली, २०५८ अनुसार उपाध्यक्ष लुम्बिनी विकास कोषको प्रमुख प्रशासकीय पदाधिकारीसमेत हुने व्यवस्था छ।

१३ वर्षकै उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी आनी छोइङ डोल्माले बौद्ध धर्मका गुरु टुल्कु उर्गेन रिन्पोछेको मार्गदर्शनमा बौद्ध मन्त्र र धार्मिक संगीतको अध्ययन गरिन्। यसपछि उनले गायनमार्फत पनि आफूलाई अन्तर्राष्ट्रिय रूपमा चिनाइन्।

आधुनिक गीत-संगीतमार्फत उनले बौद्ध भजन तथा मन्त्रलाई विश्वभर पुर्‍याएकी छन्। उनलाई ‘सिङ्गिङ नन’ अर्थात् गायिका भिक्षुणी पनि भनिन्छ। उनको जन्म सन् १९७० मा काठमाडौँमा भएको हो।

 

प्रकाशित: १ कार्तिक २०८३ ९:११ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast