काठमाडौँ- नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक प्रहरीले पदीय दुरुपयोग गर्न नहुने बताएका छन्।
उनले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकार दुरूपयोग गर्दा प्रहरी संगठन नै बदनाम हुने हुँदा त्यसतर्फ हेक्का राख्न उनले आग्रह गरे।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जमा सोमबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औँ समूहको दीक्षान्त समारोहमा सम्बोधन गर्दा उनले सो कुरा बताएका हुन्। सो समारोहमा उनले प्रहरीको नेतृत्व आदेशमा नभई उदाहरणमा देखिनुपर्ने बताए।
दीक्षित हुने प्रहरी निरीक्षकलाई बधाई तथा शुभकामना दिँदै उनले लिएको शपथलाई व्यवहारमा जनताप्रति नरमभाव राखी काम गर्न निर्देशन दिए। ‘सेवाग्राहीप्रतिको व्यवहारदेखि, अनुसन्धानको गुणस्तर, कर्मचारीको मनोबलदेखि अनुशासन, समुदायसँगको सम्बन्धदेखि कठिन परिस्थितिमा लिइने निर्णयसम्म नेतृत्वको वास्तविक मूल्यांकन गर्नेछन्,’ उनले भने।
प्रहरीको पोसाकले परिचय दिए जस्तै आचरणले नेपाल प्रहरीको परिचय बनाउने उनको भनाइ थियो। ‘प्रहरीको यो पदले अधिकार दिन्छ, चरित्रले उक्त अधिकारलाई वैधता दिन्छ। त्यसैले, पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै सम्झौता गर्नुहुने छैन,’ उनले भने।
महानिरीक्षक कार्कीले तालिम समापन भए पनि प्रहरी अधिकृतका रूपमा वास्तविक परीक्षा सुरु हुने उल्लेख गरे। प्रहरी निरीक्षकको पद केवल एउटा दर्जा मात्रै नभई यो निर्णय गर्ने सामथ्र्य र उत्तरदायित्व बहन गर्ने योग्यताको महत्वपूर्ण परीक्षा भएको उनको भनाइ थियो।
उनले सेवाका क्रममा भय, प्रलोभन, माया र द्वेषभावबाट मुक्त भई प्रस्तुत हुन निर्देशन दिँदै यो नै प्रहरी सेवाको मूल नैतिक आधार भएको बताए।




