दुईदिने भ्रमणका लागि समान्था पावर काठमाडौँमा

हिमाल प्रेस २४ माघ २०७९ १३:५१
6
SHARES
दुईदिने भ्रमणका लागि समान्था पावर काठमाडौँमा

काठमाडौँ– यूएसएआईडीकी प्रशासक समान्था पावर दुईदिने भ्रमणका लागि काठमाडौँ आएकी छन्। मंगलबार बिहान काठमाडौँ आइपुगेकी पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री विमला राई पौड्याल र अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गर्ने कार्यतालिका छ।

भ्रमणका क्रममा पावरले उच्च सरकारी अधिकारी, नागरिक समाजका अगुवा, विद्यार्थी र समुदायसँग पनि अन्तरक्रिया गर्नेछिन्। उनको भ्रमणले नेपाललाई थप लोकतान्त्रिक, समावेशी र समृद्ध बनाउने यूएसएआईडीले जनाएको छ।

सन् २००२ मा विदेशमन्त्री कोलिन पावेलको भ्रमणपछि अमेरिकाबाट भएको यो उच्च तहको भ्रमण हो। यसअघि माघ १५ गते राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने औपचारिक भ्रमणमा नेपाल आएकी थिइन्।

पावरको भ्रमणले नेपालसँग अमेरिकाको ७५ वर्षको साझेदारीलाई जोड दिने बताइएको छ। पावरको भ्रमणले दुई देशबीचको सम्बन्ध र नेपालको आर्थिक, मानवीय तथा भूराजनीतिक मुद्दाको दायरा फराकिलो बनाउने अपेक्षा गरिएको छ।

पावरले यूएसएआईडीकी १९औँ प्रशासकका रूपमा सन् २०२१ को मेमा पदभार ग्रहण गरेकी थिइन्। पावरले अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आएकी छन्।

पावर अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की सदस्य हुने प्रथम यूएसएआईडी प्रशासक हुन्। सन् २०१३ देखि २०१७ सम्म पावर संयुक्त राष्ट्र संघका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा ओबामा–बाइडेन प्रशासनमा समेत थिइन्।

पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिको विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा कार्यरत थिइन्।

आयरल्यान्डकी आप्रवासी पावरले आफ्नो पेसागत जीवनको सुरुवात बोस्नियामा एक युद्ध संवाददाताको रूपमा काम गरेकी थिइन्।

उनी टाइम पत्रिकाको ‘१०० सर्वाधिक प्रभावशाली व्यक्ति’ मध्येकी एक, फरेन पोलिसी प्रकाशनको ‘शीर्ष १०० वैश्विक चिन्तक’ मध्येकी एक र फोब्र्स पत्रिकाको ‘विश्वका १०० सर्वाधिक शक्तिशाली महिला’को रूपमा सम्मानित भइसकेकी छन्।

पावरले येल विश्वविद्यालयबाट स्नातक र हार्भर्ड कानुन महाविद्यालयबाट कानुन विषयमा विद्यावारिधि गरेकी छन्।

प्रकाशित: २४ माघ २०७९ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twelve =