नेपाललाई यूएसएआईडीको साढे ७ अर्ब रुपैयाँ सहयोग घोषणा

हिमाल प्रेस २४ माघ २०७९ १९:४७
6
SHARES
नेपाललाई यूएसएआईडीको साढे ७ अर्ब रुपैयाँ सहयोग घोषणा

काठमाडौँ– यूएसएआईडीकी प्रशासक समान्था पावरले नेपालका लागि ५ करोड ८५ लाख अमेरिकी डलर (करिब साढे ७ अर्ब रुपैयाँ) सहयोगको घोषणा गरेकी छन्। दुई दिने नेपालको भ्रमणमा रहेकी पावरले मंगलबार नेपालको लोकतान्त्रिक व्यवस्थालाई थप मजबुत बनाउन उक्त सहयोगको घोषणा गरेकी हुन्।

उक्त रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको यूएसएआईडीले जनाएको छ। सहयोग घोषणा गर्दै पावरले पारदर्शी तथा शान्तिपूर्णरूपमा आमनिर्वाचन सम्पन्न भएसँगै संघीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, युवाहरूको सशक्तीकरण गर्ने र लोकतन्त्रलाई नागरिकका हितमा परिणाम ल्याउन सक्ने गरी प्रयोग गर्ने अवसर नेपालसँग रहेको बताइन्। उनले यसका लागि अमेरिकाको साझेदारी सधैँ रहने धारणा राखिन्।

उनका अनुसार यूएसएआइडीको लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम र लोकतान्त्रिक प्रक्रिया मजबुत बनाउन साथ दिइरहेको छ। त्यसका साथै कानुनी शासन र निजी क्षेत्रको सुदृढीकरण गरी नेपालीका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्नेछ। मानव बेचबिखनविरुद्ध लड्न नेपाललाई सहयोग जारी राख्ने पनि यूएसएआइडीले बताएको छ।

मंगलबार घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जवाफदेही तवरबाट सार्वजनिक सेवा प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको छ।

सहयोग रकममध्ये नागरिक समाज र स्वतन्त्र सञ्चार माध्यमको लागि १ करोड ८५ लाख डलर रकम समावेश हुने बताइएको छ। यूएसएआईडीले स्थानीय निर्वाचन तथा कानुनी शासनलाई मजबुत बनाउने र मानव बेचबिखनविरुद्ध लड्ने स्थानीय नेपाली संगठन र सरकारी संस्थासँग निकट रही काम गर्ने र तिनलाई सहयोग गर्ने पनि जनाएको छ।

प्रकाशित: २४ माघ २०७९ १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =