राष्ट्रपति कांग्रेसबाटै बन्ने महामन्त्री शर्माको दाबी

हिमाल प्रेस २२ माघ २०७९ १७:५०
6
SHARES
राष्ट्रपति कांग्रेसबाटै बन्ने महामन्त्री शर्माको दाबी

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गरेका छन्। संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै शर्माले नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्ति नै राष्ट्रपति बन्ने बताएका हुन्।

शर्माले भने, ‘राष्ट्रपति पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिन चाहन्छ, दिन्छ। नेपाली कांग्रेसले दिएको उम्मेदवार यो देशको राष्ट्रपति बन्नुहुन्छ।’

महामन्त्री शर्माले राष्ट्रपतिमा आफ्नो पार्टीले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढंगले नसोच्नु पनि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे। उनले आफ्नो पार्टी विपक्ष दल भएकै बेला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव बनेको स्मरण गराउँदै अहिले पनि सो पद आफ्नो पार्टीले नै पाउने तर्कसमेत गरे।

महामन्त्री शर्माले संसद्मा एमाले अध्यक्ष ओलीले आवेश र कुण्ठा अनि आक्रोश र गालीलाई व्यक्त गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि अनुरोध गरे। ओली कांग्रेस फोबियाबाट मुक्त हुनुपर्ने शर्माको भनाइ छ।

उनले भने, ‘विपक्षले राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने कुरालाई नै पूर्वाग्रही सोच्ने, गलत गर्‍यो भनेर सोच्ने हो भने यो देशको प्रथम राष्ट्रपति पनि तत्कालीन विपक्ष दल नेपाली कांग्रेसको उम्मेदवार बन्नुभएको थियो। प्रधानमन्त्री कमरेड प्रचण्ड हुुनुहुन्थ्यो। विपक्ष दल नेपाली कांग्रेसले अगाडि सारेको उम्मेदवार डा. रामवरण यादव देशको राष्ट्रपति बन्नुभयो।’

महामन्त्री शर्माले सत्तारुढ दलहरुप्रति संकेत गर्दै संसदमा सुनको बालाको कथा हालेर पिँजडाको फलामे साङ्लो बलियो बनाउने प्रयास नगर्न पनि ओलीलाई सचेत गराए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =