असई थमन विक हत्या प्रकरण : सांसद शर्मालाई निलम्बन नगर्न सभामुखलाई लोसपाको पत्र

हिमाल प्रेस २४ वैशाख २०८१ १९:०५
10
SHARES
असई थमन विक हत्या प्रकरण : सांसद शर्मालाई निलम्बन नगर्न सभामुखलाई लोसपाको पत्र सांसद शर्मा

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका सांसद अभिराम शर्मामाथि निलम्बन नगर्न प्रदेश सभामुख समक्ष अनुरोध गरेको छ। लोसपाका मधेश प्रदेश संसदीय दलका उपनेता उपेन्द्र महतोले प्रदेश सभामुख रामचन्द्र मण्डललाई पत्र पठाउँदै सांसद शर्मामाथि गरिएको निलम्बन सच्याउन माग गरेका हुन्।

शर्मा लोसपा मधेश संसदीय दलका नेता हुन्। सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो। ०८० मंसिर २८ मा अदालतले जन्मकैदको सजाय सुनाएको करिब ५ महिनापछि २१ वैशाखमा प्रदेशसभाले उनलाई निलम्बन गरेको थियो।

लोससा मधेशका उपनेता महतोले भनेका छन्, ‘मधेश प्रदेशसभा सचिवालयबाट प्रकाशित मिति २०८१।०१।१८ को फैसलामा यहाँले प्रदेश सभा सदस्य अभिराम शर्मालाई मधेश प्रदेशसभा सदस्य सञ्चालन नियमावली, २०७५ को नियम २१० (४) अनुसार निलम्बन गर्नुभएको कुरा उल्लेख छ। कुनै पनि मुद्दाको अन्तिम फैसला नहुन्जेल सम्बन्धित व्यक्तिलाई निलम्बन गर्ने जस्तो कारबाही गर्न अनुमति नदिएको व्यहोरा अवगत गराउन चाहन्छौं।’

महोत्तरी जिल्ला अदालतले दोषी ठहर्‍याए पनि पुनरावेदनको अधिकार अहिले समाप्त नभएकाले निलम्बन गर्न नमिल्ने लोसपाले पत्रमा उल्लेख गरेको छ। ‘यो फैसला अन्तिम हुनको लागि अहिले समय बाँकी नै छ, यस्तो अवस्थामा मधेश प्रदेश सभाका सदस्य अभिराम शर्मालाई अहिले नै मधेश प्रदेश सभाको सदस्यबाट निलम्बन गर्न कानूनतः मिल्दैन’, पत्रमा भनिएको छ।

असई थमन विक हत्या प्रकरण : मधेश प्रदेशका सांसद अभिराम निलम्बित

प्रकाशित: २४ वैशाख २०८१ १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =