सुवास नेम्वाङको रणनीति : व्यक्तिगत आत्मीयता र जातीयता जगाउँदै

विश्लेषक भन्छन् : नेम्वाङको रफ्तारले केही मत डाइभर्ट हुन सक्छ

हिमाल प्रेस १९ फागुन २०७९ २०:०२
90
SHARES
सुवास नेम्वाङको रणनीति : व्यक्तिगत आत्मीयता र जातीयता जगाउँदै नेकपा एसको कार्यालय पुगेर नेता नेपालसहितसँग मत माग्दै नेम्बाङलगायत एमाले नेता।

सुवास नेम्वाङ निरन्तर मतदाताहरूसँग छन्। लामो समयसम्म सभामुख भएर बनाएको व्यक्तिगत आत्मीयता र ठाउँ-परिस्थितिअनुसार जातीयताको भावना पनि जगाउँदै नेम्वाङ गोप्य मतदानको फाइदा लिने प्रयासमा देखिन्छन्।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने तय गरेका छैनन्। तय नहुँदै उनीहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास राष्ट्रपतिका उम्मदवारद्वय नेपाली कांग्रेसका नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङ गरिरहेका छन्।

पौडेल आठ दलीय गठबन्धनभित्र भोट मागिरहेका छन्। उनीहरू गठबन्धनभित्रको मत एमालेका उम्मेदवारलाई जान सक्ने भनी त्यसको ख्याल गर्नमा केन्द्रित भएका छन्। एमाले भने खुलमखुला गोप्य मतदान भएको र आफ्नो पक्षमा माओवादीलगायतका दलले मतदान गर्ने भनिरहेको छ।

यसबीचमा पौडेल गोप्य छलफल र भेटघाटमा छन् भने नेम्वाङ मतदाताहरूसँगै भेटिरहेका छन्। कतै प्रष्ट नखुलेको रास्वपा र राप्रपाको विश्वास जित्ने प्रयास गरिरहेका छन्। बिहीबार राष्ट्रपति चुनावमा भोट माग्न सुवास नेम्वाङ रास्वपाको पार्टी कार्यालय वसुन्धरा पुगे।

उनले राष्ट्रपति चुनावमा मत दिएर सहयोग गर्न आग्रह गरे। तर, राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भनेर रास्वपाले आधिकारिक जवाफ दिएको छैन। राष्ट्रपति निर्वाचनमा प्रष्ट धारणा नबनाएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि भेटेर सुवास नेम्वाङले मत मागिसके।

नेम्वाङले पार्टीका नेताहरूसहित राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर लिङ्देनसँग मत मागेका हुन्। एमाले नेताहरू पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, रघुविर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरेलगायत नेताहरूसहित पुगेको टोलीसँग राप्रपाका अध्यक्ष लिङ्देनसँगै नेताहरू डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, धवलशमशेर राणालगायतले भेटे।

मत दिने वा नदिने आधिकारिक रूपमा कुनै जवाफ नदिए पनि भेटपछि राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले सौहार्द्धपूर्ण तरिकाले कुराकानी भएको बताए। एमाले सरकारबाट बाहिरिने निर्णयसँगै राप्रपा पनि सरकारबाट बाहिरिएको छ। एमालेभन्दा अगाडि सरकारलाई दिएको समर्थन फिर्ता लियो।

यसकारण राप्रपाले एमालेकै उम्मेदवार नेम्वाङलाई मत दिने सम्भावना पनि छ। यसका अलावा एमाले उम्मेदवार नेम्वाङले अर्का उम्मेदवारको समर्थक, प्रस्तावक बसेका नेता र दलसँग पनि निरन्तर भेटिरेहका छन्। एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीको कार्यालयमै पुगेर मत मागे। एकीकृत समाजवादी एमालेबाट फुटेर बनेको पार्टी हो। यसलाई स्वयम एकीकृत समाजवादीले पनि सकारात्मक रूपमा लिएको बताएको छ।

नेम्वाङसहित एमालेका दोस्रो तहका नेताहरू विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुविर महासेठ र केन्द्रीय सदस्य बिमला राई पौड्याल एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा पुग्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कार्यालयमै थिए।

अध्यक्ष नेपालको साथमा उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल, उपमहासचिवद्वय प्रकाश ज्वाला र जगन्नाथ खतिवडा तथा स्थायी कमिटी सदस्य रामचन्द्र झा भेटवार्तामा बसे। करिब सवा घण्टा नेताहरूले सौहार्दपूर्ण संवाद गरे। कुनै बेला एमाले बनाउने लागेका नेताहरू एकै ठाउँमा भेला हुँदा भावनात्मक कुरासमेत भए।

‘दुई पार्टीबीचको एकता अगाडि बढाउने कुरामा चुनौतीबीचमा जुन अवसर प्राप्त भएको छ, यो अवसरलाई अझै प्रयोग गर्नुपर्छ भन्ने हामीहरूबीच एकखाले सहमति भएको छ,’ एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘यही अवसरलाई समातेर हामी फेरि पनि यस्तै भेटघाटको क्रमलाई अगाडि बढाउने कुरामा दुई पक्षका बीचमा सहमति भएको छ।’

गुरुङपछि एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा पनि संवाद सकारात्मक भएको बताउँछन्। आफूहरूको अस्तित्व माथि समेत टिप्पणी गरेको एमाले औपचारिक रूपमा आफूहरूको पार्टी कार्यालयमा आएर वार्ता गर्नु आफूहरूको लागि खुसीको कुरा भएको उनको टिप्पणी थियो।

‘नेकपा एमालेले हाम्रो पार्टीको अस्तित्वमाथि अनेकौं पटक, अनेकौं कुरा भनिरहेको छ,’ उनले भने, ‘त्यही पार्टीले अहिले पार्टीको केन्द्रीय कार्यालयमा आएर औपचारिक संवाद गर्नु निकै खुसीको कुरा हो।’ त्यसपछि केहीबेर रोकिएर खतिवडाले थपे, ‘यो एउटा परिवर्तनको संकेत हो।’

लामो समय तिक्तापूर्ण सम्बन्धमा रहेका यी दुई पार्टीबीच विस्तारै न्यानोपना बढ्दै गएको यी दुई नेताको अभिव्यक्तिबाट पनि ठम्याउन सकिन्छ। यही भेटले राष्ट्रपतिको उम्मेदवार नेम्वाङलाई मतदान गर्ने निर्णमा नेकपा एकीकृत समाजवादी नपुगेपनि गोप्य मतदान भएकाले नेताहरू पग्लिन र नेम्वाङको पक्षमा धेरै थोरै मत पर्न सक्ने कतिपयको आंकलन छ।

‘नेम्वाङको रफ्तार ठिक छ’ राजनीतिक विश्लेषक विष्णु दाहाल भन्छन्, ‘थोरै मत डाइभर्ट गर्न पनि सक्छ।’ तर, राजनीतिक रूपमा प्रशिक्षित मतदाता हुने भएकाले पुराकापुरा भोट डाइभर्ट भने नहुने उनलाई लाग्छ।

राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद (प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य) मतदाता हुन्छन्। संघीय सांसदले दिएको एक भोटको ७९ र प्रदेश सभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुन्छ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० गरी २७५ सांसद हुन्छन्। संघीय संसदका ३३४ जनाले राष्ट्रपति र उपराष्ट्रपतिका लागि भोट हाल्छन्। जसको मतभार २६ हजार ३ सय ८६ हुन आउँछ। सातवटै प्रदेशसभामा ५५० सदस्य छन्। उनीहरूको कूल मतभार २६ हजार चार सय हुन आउँछ। राष्ट्रपति निर्वाचनमा कुल ८८४ जनाले मतदान गर्नेछन्। उनीहरूको जम्मा मतभार ५२ हजार ७ सय ८६ हुन्छ।

मतभारका दृष्टिमा पौडेल अगाडि देखिन्छन्। किनभने पौडेलको पक्षमा नेकपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा छन्। सुवास नेम्वाङको पक्षमा प्रष्ट खुलेको एमाले मात्रै छ। नखुले पनि मत तान्ने प्रयासमा एमाले नेताहरू देखिन्छन्।

कूल मतभारका दृष्टिमा कांग्रेस र एमाले हाराहारीमा देखिन्छन्। माओवादी केन्द्र तेस्रोमा छ। कांग्रेसको कूल मतभार १६ हजार २२१ छ। एमालेको कूल मतभार १५ हजार २८१ छ। माओवादी केन्द्रको कूल मतभार ७,७२८ छ। एकीकृत समाजवादीको दुई हजार ४७८, जसपाको दुई हजार ९७, राप्रपाको दुई हजार दुई सय १० मतभार छ।

रास्वपाको १५०१ छ। गत आम चुनावमा २० सिट जितेको भएपनि पार्टी सभापति रवि लामिछानेको पद रिक्त भएका कारण रास्वपाको मतभार ७९ घटेर १५०१ भएको हो। जनमत पार्टीको १२४२, लोसपाको २७, नागरिक उन्मुक्ति पार्टीको ७६५, नेमकिपाको २२३, राष्ट्रिय जनमोर्चाको १५, हाम्रो नेपाली पार्टीको ९६ र स्वतन्त्र मतभार १२८७ छ।

संविधानको धारा ६२ (३) अनुसार राष्ट्रपति निर्वाचनमा विजयी हुन ५१ प्रतिशत अर्थात, कम्तीमा २६ हजार ३ सय ९४ मत ल्याउनुपर्ने हुन्छ। नेम्वाङको राण्नीति पहिलो चरणमा आफैँ ५० प्रतिशत कटाउने नसके अर्को पक्षलाई ५० प्रतिशत कटाउन नदिने रणनीतिमा छन्। यसका लागि विपक्षी उम्मेदवारलाई मत दिने तय गरेका दलका मतदातालाई आफूलाई मत नदिन, आफूलाई मत नदिए पौडेललाई मत नदिन भन्न सक्छन्।

पहिलो निर्वाचनमा कुनै उम्मेदवारले बहुमत हासिल नगरे सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः मतदान हुनेछ। दोस्रो चरणको निर्वाचनमा पनि दुवैले बहुमत हासिल गर्न नसके तेस्रो चरणको चुनावमा सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुनेछ। अर्थात्, तेस्रो चरणको निर्वाचनमा ५० प्रतिशत मत कटाउनुपर्ने छैन।

सबै खाले रणनीति अख्तियार गर्ने र आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन प्रयासरत नेम्वाङ जनजातयीताको विषय पनि उठाइरहेका छन्। नेम्वाङ जनजाती समुदायका हुन् भने पौडेल खस आर्य।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =