बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आउन सांसदलाई नौ दलीय गठबन्धनको निर्देशन

हिमाल प्रेस २३ फागुन २०७९ १६:१४
104
SHARES
बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आउन सांसदलाई नौ दलीय गठबन्धनको निर्देशन

काठमाडौँ – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले आफ्ना सांसदहरूलाई काठमाडौँ आउन निर्देशन दिएको छ। राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर आन्तरिक प्रशिक्षण दिने गरी प्रदेश तथा प्रतिनिधिसभाका सदस्यहरूलाई काठमाडौँ बोलाइएको हो।

मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको गठबन्धन कार्यदलको बैठकले मौन अवधि सुरु भइसकेकाले आन्तरिक रुपमा प्रशिक्षित गर्ने निर्णय गरेर बोलाइएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

‘सबै मतदातालाई प्रशिक्षित गर्ने कुरा भएको छ। मौन अवधि रहेकोले आ-आफ्नो पार्टीभित्र सांसदहरूलाई राष्ट्रपति चुनावमा कसरी मतदान गर्नेलगायतबारे जानकारी गराइन्छ। सांसदहरूलाई मतदान गर्न सिकाइरहनु त पर्दैन। तर यसपटक मतपत्रमा स्वस्तिक छाप लगाउने हो भन्ने कुरा आन्तरिक रूपमा भन्ने हो’ उनले भने।

उनका अनुसार कार्यदलले राष्ट्रपति निर्वाचनका मतदाता संघ तथा प्रदेशका सांसदहरूलाई भोलि बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइसक्न निर्देशन दिइएको छ।

कार्यदलका संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचन तयारीबारे बैठकमा छलफल गरिएको जानकारी दिए। ‘राष्ट्रपति निर्वाचनबारे प्रचारप्रसार अहिले गर्न मिल्दैन। मौन अवधि छ,’ उनले भने, ‘राष्ट्रपति निर्वाचन तयारी तथा व्यवस्थापनबारे कुराकानी गरिएको हो।’

गठबन्धन आवद्ध दलका मतदातालाई संयुक्त रूपमा प्रशिक्षण दिने कार्यक्रम स्थगित गरिएको खड्काले बताए। नौ दलले राष्ट्रपति निर्वाचनको अघिल्लो दिन बुधबार काठमाडौंमा सबै सांसदलाई संयुक्त प्रशिक्षण दिने निर्णय गरेका थिए। गएरातिदेखि नै मौन अवधि सुरु भइसकेका कारण संयुक्त प्रशिक्षण दिने कार्यक्रम स्थगित गरिएको खड्काले बताए। राष्ठ्रपति निर्वाचन फागुन २५ गते हुँदैछ। निर्वाचनमा नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्बाङ उम्मेदवार छन्।

प्रकाशित: २३ फागुन २०७९ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =