गगन थापाले भने : कांग्रेसका मन्त्रीलाई फिर्ता बोलाऔँ, समाजवादी मोर्चालाई सरकार चलाउन दिऔँ

हिमाल प्रेस १४ असोज २०८० १८:१८
42
SHARES
गगन थापाले भने : कांग्रेसका मन्त्रीलाई फिर्ता बोलाऔँ, समाजवादी मोर्चालाई सरकार चलाउन दिऔँ फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनको सरकार जवाफदेही नहुने स्थिति बनेको बताएका छन्। कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा थापाले वर्तमान सरकारमा सहभागी कांग्रेसका मन्त्रीलाई फिर्ता बोलाएर समाजवादी मोर्चालाई नै सरकार चलाउन दिनुपर्ने बताएका हुन्।

‘यो सरकार चाहिँ हो कसको ? ०८० सालमा सरकार चलाउने ०८४ सालमा उत्तर दिने बेला एक जना पनि हुँदैन। सरकार भनेको जवाफदेही हुनुपर्छ। चुनावमा जाँदा सरकारले राम्रो गर्‍यो कि नराम्रो गर्‍यो भन्न अलमल हुन्छ,’ उनले भने, ‘यो दुई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिऔँ। कांग्रेसका मन्त्री फिर्ता बोलाऔँ। फ्ओलरबाट समर्थन जनाऔँ। असहमति जनाउने ठाउँमा असहमति जाने सहमति जनाउने ठाउँमा सहमति जनाउने सरकार उहाँहरूले चलाउनु हुन्छ। त्यसपछिको दुई अढाइ वर्ष कांग्रेसले चलाउन पाउनुपर्छ। कांग्रेसले एक्लै चलाउँछ। त्यो एक्लै चलाउँदाको जस पनि कांग्रेस एक्लैले लिन्छ। अपजस पनि कांग्रेसले लिन्छ। यो कुरा प्रदेशमा पनि सोचौँ।’

०८४ सालको चुनावमा गठबन्धन नहुने उनको भनाइ छ। ‘०८४ सालको चुनावमा गठबन्धन हुँदै हुँदैन। यो लेखेर राख्नुहोस्। कसैले गठबन्धन गर्छु भन्यो भने बहसै गर्नुपर्दैन। त्यो बहसमा कांग्रेस प्रवेश गर्न पनि पाउँदैन। त्यो सकियो। ८४ मा कांग्रेस र माओवादीका बीचमा पनि चुनाव हुन्छ,’ उनले भने, ‘पाँच वर्षपछि सरकारले राम्रो काम गर्‍यो भनेर घोषणापत्रमा कसले लेख्ने ? अहिले हामी सरकारले केही नै गरेन भन्दै छौँ। हाम्रो भागमा प्रधानमन्त्री आएका बेला उसले (माओवादी) पनि केही गरेन भन्छ। सबै जोड्दा चार केही भएन भन्ने निष्कर्ष निस्किने भयो। यसको जिम्मा कसले लिन्छ ?’

महामन्त्री थापाले नेपाली समाजले आज आत्मविश्वास गुमाएको पनि बताए। ‘त्यो आत्मविश्वासलाई नेपाली समाजमा फेरि पुनर्स्थापित गर्ने कांग्रेसको धर्म हो। एउटा आशा चाहियो, एउटा भरोसा चाहियो। त्यो आशा र भरोस दिन सक्नुपर्‍यो नेपाली कांग्रेसले। अहिलेको परिस्थितिमा नेपाली काँग्रेस अडिने ठाउँ कहाँ हो ? यसबारे महासमिति बैठकमा खोज्नुपर्ने छ ,’ उनले भने।

प्रकाशित: १४ असोज २०८० १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =