निमावि शिक्षक पदको नतिजा प्रकाशित [सातै प्रदेशको नतिजा]

हिमाल प्रेस २२ वैशाख २०८१ १७:०४
842
SHARES
निमावि शिक्षक पदको नतिजा प्रकाशित [सातै प्रदेशको नतिजा]

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ।

आयोगले शनिबार सातै प्रदेशको परीक्षाफल प्रकाशित गरेको हो। आयोगले सफल भएका उम्मेदवारको विषयगत परीक्षाको मिति पनि तोकेको छ। आयोगले वैशाख ८ गते परीक्षा लिएको थियो।

कोशी प्रदेशमा १४ हजार ६७७ जनाले परीक्षा दिएका थिए। तीमध्ये तीन हजार ७४३ जना उत्तीर्ण भएका छन्। यसैगरी मधेश प्रदेशमा परीक्षामा सहभागी चार हजार ५८५ परीक्षार्थीमध्ये एक हजार १९७ जना सफल भएको आयोगले जनाएको छ।

बागमती प्रदेशको परीक्षामा १२ हजार ५०६ जना सहभागी भएका थिए। तीमध्ये तीन हजार ८३२ जनाले सामान्य परीक्षा उत्तीर्ण गरेका छन्। गण्डकी प्रदेशमा परीक्षामा सहभागी ११ हजार ९४५ मध्ये तीन हजार ५३४ जना सफल भएका छन्।

लुम्बिनीमा परीक्षामा सहभागी १० हजार २७१ मध्ये दुई हजार ८२० जना सफल भएका छन्। कर्णालीमा लिखित परीक्षामा दुई हजार ६४१ जना सहभागी भएकामा ६८७ जना सफल भएका छन्। सुदूरपश्चिम प्रदेशमा परीक्षामा सहभागी ६ हजार ९०९ जनामध्ये एक हजार ७९६ जना सफल भएका छन्।

आयोगले विषयगत परीक्षाको मिति, समय र केन्द्र पनि तोकेको छ। जसअनुसार विषयगत लिखित परीक्षा आगामी भदौ ८ गते बिहान ११ बजेदेखि तोकिएको छ। कोशी प्रदेशको मोरङमा, मधेशको धनुषामा, बागमतीको हेटौँडामा, गण्डकीको कास्कीमा, लुम्बिनीको दाङमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको कैलालीमा परीक्षा हुनेछ। परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण पछि प्रकाशित गरिने आयोगको सूचनामा उल्लेख छ।

प्रकाशित: २२ वैशाख २०८१ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =