शिक्षक सेवा आयोगले माग्यो १०५६ निमावि शिक्षक

हिमाल प्रेस २७ माघ २०७९ ११:२८
264
SHARES
शिक्षक सेवा आयोगले माग्यो १०५६ निमावि शिक्षक

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि एक हजार ५६ जना शिक्षक माग गरेको छ। आयोगले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न शुक्रबार विज्ञापन खुलाएको हो।

सातै प्रदेशमा गरी नेपालीमा ६५, अंग्रेजीमा ११६, गणितमा १४४ जना शिक्षक माग गरिएको छ। यस्तै विज्ञानमा २८२ जना, सामाजिकमा ८९ जना, शुक्लयजुर्वेदमा एक जना, गणित र विज्ञानमा ३५१ जना, संस्कृत व्याकरणमा तीन जना, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक जनाको विज्ञापन गरिएको छ।

दरखास्त दिने म्याद फागुन २८ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर बुझाई चैत ५ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ।

शिक्षकको परीक्षामा सामान्य र विषयगत गरी दुई प्रकारको लिखित र अन्तर्वार्ता हुनेछ। लिखित परीक्षा (सामान्य) को मिति आगामी वैशाख ९ गते दिउँसो १ गतेका लागि तोकिएको छ।

विषयगत परीक्षा मिति भने सामान्य परीक्षाको नतिजा प्रकाशित हुँदा तोकिने आयोगले जनाएको छ। दरखास्तका साथ ७ सय रुपैयाँ र प्रत्येक समावेशी समूहका लागि ५ सय रुपैयाँ बुझाउनुपर्नेछ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) वा सो सरहको परीक्षा (कम्तीमा २०० पूर्णांक ८ क्रेडिट आवर) उत्तीर्ण गरी शिक्षा विषयमा १० महिने तालिम पूरा गरेको व्यक्ति उम्मेदवार बन्न पाउनेछन्।

साथै निम्नमाध्यमिक तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको हुनुपर्नेछ।

विज्ञापनको प्रतिस्पर्धा र छनोट प्रदेशस्तरमा हुने भएकाले उम्मेदवारले एक प्रदेश र एक विषयमा मात्र दरखास्त दिन सक्नेछन्। साथै सबै प्रदेशमा लिखित परीक्षा एकै दिन हुनेछ। समावेशी र खुला समूहको उम्मेदवार पनि एउटै परीक्षामार्फत छनोट गरिने आयोगको सूचनामा उल्लेख छ।

प्रकाशित: २७ माघ २०७९ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =