गण्डकीमा एमालेका सुन्दास र गुरुङले लिए मन्त्रीको शपथ

हिमाल प्रेस २४ वैशाख २०८१ १८:३६
16
SHARES
गण्डकीमा एमालेका सुन्दास र गुरुङले लिए मन्त्रीको शपथ

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार मन्त्रिमण्डल विस्तार गरेका छन्। पोखरा सभागृहमा शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख डिल्लीराम भट्टले मुख्यमन्त्री अधिकारीको उपस्थितिमा एमालेका सीता सुन्दास र वेदबहादुर गुरुङ ‘श्याम’ लाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

मुख्यमन्त्री अधिकारीको अघिल्लो कार्यकालमा समेत उनीहरु दुवैजना मन्त्री थिए।  स्याङ्जाकी सीता सुन्दासलाई यसपालि सामाजिक विकास तथा स्वास्थ्यमन्त्री र कास्कीका वेदबहादुरलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको हो। उनीहरु दुवै जना अधिकारीनिकट मानिन्छन्। २०७९ साल पुसमा सुन्दासले अर्थमन्त्री र गुरुङले कृषि तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

गण्डकीमा सोमबारको मन्त्रिपरिषद् विस्तारपछि मन्त्रिपरिषद् ५ सदस्यीय बनेको छ। यहाँ ७ मन्त्रालय कायम छन्। ६० सदस्यीय प्रदेशसभा रहेको गण्डकीमा २० प्रतिशत अर्थात् १२ सदस्यीय मन्त्रिमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था छ।

गत २५ चैतमा नेपालको संविधान धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्ति भएको दिन मुख्यमन्त्री अधिकारीले तीन सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका थिए । त्यसबेला माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान र राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेकोमा उनीहरुलाई पछि क्रमशः अर्थ र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

माओवादीका सुशीला सिम्खडा र रेमशबहादुर जुग्जाली मन्त्री नदोहोरिने भएपछि हरि भण्डारी र कुसुम बूढामगरको चर्चा रहेकोमा माओवादीबाट नाम नटुंगिँदा थप मन्त्रीको शपथ हुन पाएन।

प्रकाशित: २४ वैशाख २०८१ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =