नेपाली कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता

हिमाल प्रेस ९ माघ २०७९ १८:५४
6
SHARES
नेपाली कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता

काठमाडौँ– नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ। कांग्रेस संसदीय दलको कार्यालयले संसद सचिवालयमा दाबी गरेअनुसार नै सचिवालयले कांग्रेसलाई विपक्षी दलको मान्यता दिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि कांग्रेसले विपक्षी दलको दाबी गर्दै आएको थियो। जसमा सोमबार सचिवालयले कांग्रेसलाई विपक्षी दलको मान्यता दिएको हो।

सरकारलाई विश्वासको मत नदिएका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा (राजमो)ले पनि विपक्षी दलमा आफूहरूको दाबी रहने बताउँदै आएका थिए। सरकारलाई विश्वासको मत दिएको दलले विपक्षी दलको मान्यता पाउन नसक्ने यी दुई पार्टीको तर्कबीच कांग्रेसलाई सचिवालयले उक्त मान्यता दिएको छ।

सचिवालयले सोमबार जारी गरेको सूचनामा कांग्रेस दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा ऐनअनुसार सेवा सुविधा दिइने जानकारी गराइएको छ।

के छ सुविधा?

संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनअनुसार प्रमुख विपक्षी दल र विपक्षी दलका नेताले विशिष्टिकृत सुविधा प्राप्त गर्दछन्। प्रमुख विपक्षी दलका नेतालाई पारिश्रमिकबाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधाअन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधा बापत्त मासिक २५ हजार ६०८, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्ड घर, इन्धन सुविधा, मोबाइल, बिजुली, धारा खर्च, दैनिक भ्रमण भत्ता, यात्रा बीमालगायत सुविधा पाउँछन्।

विपक्षी दलका नेतालाई स्वकीय सचिव, कम्युटर अपरेटर, कार्यालय सहयोगी र सवारी चालक दुई-दुई जना, सैनिक, प्रहरी जवान १० जना, विल्लादार गार्ड र अंगरक्षक एक-एक जना उपलब्ध हुन्छ। अर्कातिर अतिथि सत्कार खर्च, कार्यालयमा कम्युटरसहितका सामान र दुईवटा साइकल पनि विपक्षी नेताले पाउने व्यवस्था छ।

प्रकाशित: ९ माघ २०७९ १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =