कोशी प्रदेश

तेस्रोपटक मुख्यमन्त्री नियुक्त भएका कोशीको मुख्यमन्त्री हिक्मत कार्की को हुन्?

विवेक विवश रेग्मी २७ वैशाख २०८१ १४:३६
128
SHARES
तेस्रोपटक मुख्यमन्त्री नियुक्त भएका कोशीको मुख्यमन्त्री हिक्मत कार्की को हुन्? कोशी सरकारका मुख्यमन्त्री हिक्मत कार्की।

इटहरी – कोशी प्रदेशको दोस्रो कार्यकालको छैठौँ मुख्यमन्त्रीको रुपमा हिक्मत कार्की नियुक्त भएका छन्। कार्की व्यक्तिगत रुपमा भने तेस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनलाई कोशी प्रदेश प्रमुख प्ररशुराम खापुङले बिहीबार संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। एमाले र माओवादीका ५२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरिएको थियो। सोही बमोजिम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

को हुन् कार्की ?

२०२१ साल असोज ११ गते झापको गौरादहमा जन्मिएका उनी विद्यार्थी राजनीतिबाट उदाएका हुन्। पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रूपमा जन्मिएका उनले स्थानीय जनता माविमा एसएलसी उत्तीर्ण गरे।

विद्यालयमा अध्ययन गर्ने क्रममै विद्यार्थी राजनीति अनेरास्ववियुमा संगठित भएका उनी पार्टी राजनीतिमा भने २०३६ सालमा प्रवेश गरेका हुन्। महेन्द्र बहुमुखी क्याम्पस विराटनगरमा आइएलको पहिलो ब्याजको अध्ययन सकेर उनी २०४२ सालमा उच्च शिक्षाका निम्ति नेपाल ल कलेज, प्रदर्शनी मार्गमा भर्ना भएका थिए। उनले कानुनमा स्नातकोत्तर तह (एलएलएम) को अध्ययन पूरा गरेका छन्।

अनेरास्ववियुको विभिन्न तहका कमिटीको नेतृत्वदायी भूमिका (क्याम्पस प्राक, जिल्ला कमिटी काठमाडौँ, बागमती अञ्चल कमिटी) निर्वाह गर्दै उनी २०५५ सालमा केन्द्रीय अध्यक्षको जिम्मेवारी पूरा गरे। नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)सभापति सम्हालेका उनी विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ (क) तथा उनका विश्वासपात्रका रुपमा चिनिएका कार्की हाल एमाले स्थायी कमिटिको सदस्य छन्। प्रदेशसभाको पहिलो कार्यकालमा शेरधन राई मुख्यमन्त्री रहँदा उनी आन्तरिक मामिला तथा कानुन मन्त्रीको रुपमा काम गरे।

प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएसँगै उनी तत्कालीन प्रदेश १ को मुख्यमन्त्री नियुक्त भए। प्रदेशसभाको पहिलो कार्यकालमा बेनामे बनेको प्रदेशलाई उनै कार्कीको नेतृत्वमा प्रदेशको नामकरण भयो। यद्यपि, प्रदेश नामकरणले हालसम्म पनि विवादरहित बन्न सकेको छैन।

प्रदेशसभाको दोस्रो कार्यकालमा २०७९ पुस २८ र २०८० भदौ २२ गते गरी दुई पटक मुख्यमन्त्री बनिसकेका कार्की तेस्रोपटक मुख्यमन्त्री बनेका छन्। उनी मुख्यमन्त्री बनेसँगै प्रदेशभामा उनको परीक्षा पुनः सुरु भएको छ।

डेढ वर्षमै तेस्रोपटक मुख्यमन्त्री बने एमालेका हिक्मत कार्की

प्रकाशित: २७ वैशाख २०८१ १४:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =