कोशी प्रदेश

डेढ वर्षमै तेस्रोपटक मुख्यमन्त्री बने एमालेका हिक्मत कार्की

हिमाल प्रेस २७ वैशाख २०८१ १४:१४
6
SHARES
डेढ वर्षमै तेस्रोपटक मुख्यमन्त्री बने एमालेका हिक्मत कार्की हिक्मत कार्की। फाइल तस्बिर।

इटहरी- कोशी प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनी डेढ वर्षमा तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

एमालेका ३९ र माओवादीका १३ गरी कार्कीले ५२ सांसदहरू समर्थन लिएर प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए। समर्थन गरेका ५२ जना सांसदहरूको सनाखतपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नियुक्तिसँगै अब कार्कीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्दछ।

यसअघि धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की बुधबार बर्खास्तीमा परेका थिए। गएको २६ चैतमा केदार कार्की नेतृत्वको सरकारको एमालेले समर्थन फिर्ता गरेपनि ३० दिन भित्र विश्वासको मत नलिएपछि उनी बर्खास्तीमा परेका थिए।

केदार कार्की नेतृत्वको सरकार बर्खास्तीमा परेससँगै बुधबार प्रदेश प्रमुखले तीन दिनको समय दिएर उपधारा ५ अनुसारको सरकार आह्वान गरेका थिए। तोकिएको अन्तिम समय अगाडि नै बहुमत सांसदहरू हस्ताक्षर लिएर दाबी गरेपछि प्रदेश प्रमुखले हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्।

९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका उपसभामुख सहित ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका सभामुखसहित ६, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्। बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।

कार्की पहिलोपटक २४ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका थिए। एमाले,माओवादी,नेकपा एस र जसपाको समर्थनमा हिक्मत पहिलोपटक मुख्यमन्त्री बनेका थिए। उनकै नेतृत्वको सरकारले नै प्रदेश १ को नाम कोशी प्रदेश राखेको हो। सोही बेलादेखि कोशीमा पहिचानको आन्दोलन चर्किँदो छ।

१७ फागुन २०७९ मा कोशी नामकरणपछि भने पहिलोपटक मुख्यमन्त्री बनेका कार्की समस्यामा पर्दै गएका थिए। संघीय गठबन्धनमा आएको परिवर्तन र प्रदेशभित्र पहिचानवादी आन्दोलनले तत्कालीन कार्की नेतृत्वको सरकार दबाबमा पर्दै गएको थियो। पहिचानको आन्दोलन चर्किँदै जाँदा उनलाई सत्ता साझेदार दलले पनि समर्थन फिर्ता लिए। त्यसपछि उनले प्रदेशसभामा विश्वासको मत मागे। तर, ४७ सांसदको समर्थन लिनुपर्नेमा कार्कीको पक्षमा ४६ सांसद भए सरकार ढल्यो।

दोस्रोपटक भने कार्कीलाई अदालतले मुख्यमन्त्री बनायो। सर्वोच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा कार्कीलाई मुख्यमन्त्री बनाएको थियो। तर, विश्वासको मत पाउने स्थिती नबनेपछि कार्कीले २० असोजमा राजीनामा दिएका थिए।

केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बनेका हुन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। कार्कीलाई अहिले भने एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ। उता एमालेकै समर्थनमा मुख्यमन्त्री बनेका निवर्तमान मुख्यमन्त्री केदार कार्की भने प्रदेश प्रमुखले नै असंवैधानिक कदम चालेको भन्दै कार्कीको नियुक्ति बदरको माग लिएर सर्वोच्च आइपुगेका छन्। उनको रिट निवेदन बिहीबार सर्वोच्चमा दर्ता भएको छ।

साथै, आज नै उनलाई शपथग्रहण गराउने तयारी गरिएको छ। ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। मुख्यमन्त्री कार्कीको पक्षमा ५२ मत देखिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति भएको जनाएका हुन्।

कोशीको मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेस

प्रकाशित: २७ वैशाख २०८१ १४:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =