नेपाल टि२० लिग : पोखरामाथि विराटनगरको लगातार दोस्रो जित

हिमाल प्रेस १४ पुष २०७९ १२:३५
10
SHARES
नेपाल टि२० लिग : पोखरामाथि विराटनगरको लगातार दोस्रो जित

काठमाडौँ- नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सले पोखरा एभेन्जर्समाथि लगातार दोस्रो जित दर्ता गरेको छ। विराटनगरले बिहीबारको खेलमा पोखरा एभेन्जर्सलाई आठ विकेटले पन्छाएको हो। डबल राउन्ड रोबिन लिग पद्धतिमा जारी लिगमा विराटनगरले पोखरालाई बुधबार ६ विकेटले हराएको थियो।

जितसँगै विराटनगर तेस्रो स्थानमा उक्लिएको छ। विराटनगरको चार खेलबाट चार अंक छ। तीन–तीन खेलबाट चार–चार अंक बटुलेका काठमाडौँ किंग्स र जनकपुर रोयल्स दोस्रो र चौथो स्थानमा छन्। तीन टिमको समान चार अंक भए पनि रेनरेटमा अघिपछि परेका हुन्। ६ टिम सम्मिलित लिगमा पोखरा भने पुछारमा छ। उसले पाँच खेल खेल्दा सबैमा हार व्यहोरेको छ।

विराटनगरलाई लिगमा लगातार दोस्रो जित दिलाउन रोहित पौडेलले ७१ रन बनाए। जारी लिगमा यो उनको पहिलो अर्धशतक हो। राष्ट्रिय टिमका कप्तान तथा विराटनगरका उपकप्तान रोहितले यसअघिका खेलमा मध्यमस्तरको प्रदर्शन गर्दै आएका थिए। सुरुवाती दुई खेलमा २५ र ३२ रन जोडेका रोहित बुधबार भने पाँच रनमा सीमित भएका थिए।

५७ बलमा ६ चौका र तीन छक्का प्रहार गरेका रोहितबाहेक गौरान्शु शर्माले ३३ र हुसेन तलाटले २८ रन बनाएपछि विराटनगरले दिएको १३६ रनको लक्ष्य १८.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो।

पराजित पोखराका लागि अमिर हम्जाले सर्वाधिक ३७ रन जोडे। कप्तान उपुल थरंगाले २५ र सुमित जीसीले २६ रनको योगदान गरे। अनुभवी ब्याट्सम्यान शरद भेस्वाकर भने फेरि एकपटक फितलो साबित भए। अघिल्ला खेलहरूमा दोहोरो अंकको स्कोर गर्न नसकेका शरद बिहीबार दुई रनमा आउट भए। आशा गरिएका अर्का नेपाली ब्याट्सम्यान आशिफ शेखले ११ रन बनाउँदा सिद्धान्त लोहनी नौ र कुशल मल्ल एक रनमा सीमित भए।

पोखरालाई १३५ रनमा समेट्न विराटनगरका कप्तान आन्द्रे म्याककर्थीले २२ रन खर्चिएर तीन विकेट लिए। त्यसैगरी नन्दन यादव, राज नान्नान र शहाब आलमको नाममा एक–एक विकेट रह्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 9 =