नेपाल टि२० लिग : क्वालिफायरमा पुग्यो विराटनगर, फाइनल प्रवेशका लागि जनकपुरसँग भिड्ने

हिमाल प्रेस २५ पुष २०७९ १५:३३
4
SHARES
नेपाल टि२० लिग : क्वालिफायरमा पुग्यो विराटनगर, फाइनल प्रवेशका लागि जनकपुरसँग भिड्ने

काठमाडौँ- विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सोमबार भएको एलिमिनेटरमा काठमाडौँ नाइट्सलाई ९९ रनले पराजित गर्दै विराटनगर दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो। अब विराटनगरले फाइनल प्रवेशका लागि जनकपुर रोयल्ससँगको सामना गर्नेछ।

लुम्बिनी अल स्टार्स यसअघि पहिलो क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा विराटनगरले दिएको १८३ रनको लक्ष्य पछ्याएको काठमाडौँ ८३ रनमा अलआउट भयो। काठमाडौँले १२.४ ओभरमा जम्मा ८३ रन मात्र बनाउन सक्यो।

काठमाडौँको इनिङ्स धरासयी बनाउन विराटनगरका बलरहरूले धारिलो बलिङ गरे। सूर्य तामाङले २.४ ओभर बलिङ गर्दै १४ रन खर्चिएर चार विकेट लिए। त्यसैगरी कियोन जोसेफले १० रन र शहबाब आलमले २१ रन खर्च गरेर दुई–दुई विकेट लिए।

अविनाश बोहराले बटुलेको १६ रन काठमाडौँका ब्याट्सम्यानले बनाएको सर्वाधिक रन रह्यो। कप्तान ज्ञानेन्द्र मल्ल १५ रनमा आउट भए भने लोकेश बम र कमल ऐरीको नाममा क्रमशः १३ र १० रन रह्यो। बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्।

त्यसअघि कप्तान रोहित पौडेल र विवेक यादव बलियो ब्याटिङ लयमा देखिएपछि विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८२ रनको योगफल तयार पारेको थियो। रोहितले ४९ बलमा ६१ र विवेकले १८ बलमा ४६ रन बटुले।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले खराब सुरुवात गरेको थियो। ओपनरद्वय गौराअंशु शर्मा र अर्जुन साउद क्रमशः एक र दुई रनमा आउट भएपछि अप्ठ्यारोमा परेको विराटनगरको इनिङ्स रोहितले सम्हालेका थिए। दुई छक्का र चार चौका प्रहार गर्दै अर्धशकत बनाएका रोहितसँगै हुसेन तलाटले सन्तोकजनक ब्याटिङ गरे।

पाकिस्तानी अलराउन्डर तलाटले २३ बल सामना गर्दा ३८ रन बटुले। त्यसैगरी राज नान्नानको नाममा २३ रन रह्यो। विवेक अविजित रहँदै अर्धशतकको नजिक पुगेपछि विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८२ रनको योगफल तयार पारेको थियो।

चौथो बन्दै प्लेअफमा आइपुगेको काठमाडौँका लागि कमल ऐरी र अनिल खरेलले दुई–दुई विकेट तथा अविनाश बोहरा र गौतम केसीले एक–एक विकेट हात पारे।

विराटनगर र काठमाडौँ लिग चरणमा तेस्रो र चौथो बन्दै प्लेअफमा पुगेका थिए। लिग चरणको अन्तिम खेलमा पनि विराटनगरले काठमाडौँलाई पराजित गरेको थियो। त्यसअघि पहिलो लेगमा भने काठमाडौँ विजयी भएको थियो।

प्रकाशित: २५ पुष २०७९ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =